कांग्रेस तितरबितर भयो, मेलमिलाप दिवसमा को कहाँ
आजकै मितिमा २०३३ सालमा कांग्रेस नेता बीपी कोइराला, गणेशमान सिंहलगायत नेता राष्ट्रिय मेलमिलापको सन्देशसहित भारत निर्वासनबाट फर्किएका थिए । राष्ट्रिय मेलमिलापको सन्देश दिने बीपीकै पार्टीमा यति बेला कित्ताकाट भएको छ । कांग्रेसमै मेलमिलापको खाँचो देखिएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संवादहीनताको अवस्था बनेको छ । आसन्न महाधिवेशनलाई लिएर कांग्रेसमा विवाद चर्किएको हो । पौडेल पक्षले महाधिवेशनको कार्यतालिका एजेन्डा हुनुपर्ने मागसहित केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो । तर, त्यही बेला देउवाले कार्यकाल एक महिना थपलगायत निर्णय गराएपछि असन्तुष्ट पक्ष रुष्ट बनेको छ । देउवाले बुधबार पदाधिकारी र बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पौडेल पक्षले बहुमतको निर्णय नसच्चिएसम्म सहभागी नहुने अडान लिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा राष्ट्रिय मेलमिलापको आवश्यकता र महत्त्व अझ बढेको महसुस भएको वरिष्ठड नेता पौडेलले बताएका छन् । ‘ऐतिहासिक दिनको स्मरणमा मनाइने यो दिवसले हामी नेपालीको आत्मीयता, आपसी सद्भाव, विश्वास र एकता अझ घनिभूत हुने र हाम्रो राष्ट्रियता बलियो हुने विश्वास लिएको छु’, उनले फेसबुकमा लेखेका छन् ।
यसैबीच पूर्वमहामन्त्री कुलबहादुर गुरुङ नेतृत्वको बीपी विचार राष्ट्रिय समाजले धुम्बाराहीमा कार्यक्रम आयोजना गरेको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू’ नाम ग्रन्थ लोकार्पण गर्दै छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लोकतान्त्रिक संविधान रक्षाका लागि पार्टीमा एकता र मेलमिलापको संकल्प नै बीपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।


