संसदमा नाराबाजीपछि झडप, मुख्यमन्त्रीको राजीनामा माग



हाम्रो इकोनोमि

 

प्रदेश २ को प्रदेशसभाको बैठक मंगलबार लगातार दोस्रो दिन पनि सांसदहरुले अवरुद्व गरेका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदले दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्व गरेका हुन् ।

गत आर्थिक बर्षमा सञ्चालन गरिएका योजनाको भुक्तानी नदिएको भन्दै सांसदहरुले पछिल्लो केही महिना यता संसद बैठक अवरुद्व गर्दै आएका छन् ।

मंगलबार सांसदहरुले भित्र प्रदेशसभा बैठक अवरुद्व गरिरहँदा बाहिर उपभोक्ता समितिका पदाधिकारीहरुले प्रदेश सरकारबिरुद्व चर्काे नाराबाजी गरेका छन् ।

यसअघि सोमबारको बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री लालबाबु राउत आएर जवाफ दिनेगरी मंगलबारको बैठक आह्वान गरिएको थियो । तर मुख्यमन्त्री नआएपछि सांसदहरुले बैठक अवरुद्व गरेका हुन् ।

मंगलबारको बैठक शुरु हुनासाथ नेकपा सांसद शत्रुधन महतोले मुख्यमन्त्री आएर जवाफ नदिएका कारण बैठक अवरुद्व गर्ने घोषणा गरे । लगत्तै नेकपा र कांग्रेसका सांसदका साथै सत्तारुढ राजपाका सांसद उपेन्द्र महतो समेत उठेका थिए ।

सांसद महतोले गत बर्ष सम्पन्न योजनाहरुको भुक्तानी, जनता आवास योजनाको कार्यविधि र सशर्त अनुदानको बिषयमा मुख्यमन्त्री संसदमा आएर प्रष्ट नगरेसम्म बैठक अवरुद्व गरिरहने बताए ।

उनले गत बर्ष सम्पन्न भएका योजनाको भुक्तानी नगरेर प्रदेशमा भ्रष्टाचार भइरहेको प्रमाणित सरकारले गराउन खोजेको आरोप लगाए ।

चालू आर्थिक बर्षको ६ महिना बितिसक्दासमेत योजना सञ्चालनको कार्यविधि नबनेको, सरकारले नै हरेक निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रम सञ्चालन गर्ने जनाए पनि पूरा नगरेकाले यी बिषयहरुमा मुख्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए ।

यस्तै स–शर्त अनुदानको रकम व्यक्तिगत रुपमा बाँडेर दुरुपयोग गरिएको भन्दै उनले ती अनुदानमा प्रदेश सांसदको भूमिकाबारे छलफल गर्न माग गरे ।

 

प्रदेशसभा बाहिर सरकारबिरुद्व नाराबाजी

प्रदेशसभाभित्र सांसदहरुले भुक्तानी नदिएको भन्दै संसद बैठक अवरुद्व गरिरहँदा बाहिर भुक्तानी नपाएका उपभोक्ता समितिका पदाधिकारीले सरकारबिरुद्व चर्काे नाराबाजी गरेका छन् ।

योजना सम्पन्न गरे पनि भुक्तानी पाउन नसकेका धनुषा र महोत्तरीका उपभोक्ता समितिका पदाधिकारीहरुले ‘असफल मुख्यमन्त्री मुर्दावाद, प्रदेश सरकार मुर्दावाद, काम गरिएका रकमको भुक्तानी देऊ’ सहितका नारा लगाएका थिए ।

उनीहरुले प्रदेशका मुख्यमन्त्री राउतसहित आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्रकुमार यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवविरुद्ध नाराबाजी गरेका थिए ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रेका उपभोक्ता पदाधिकारीले ऋण लिएर काम गरेपनि लामो समयसम्म भुक्तानी नपाउँदा समस्यामा परेको बताएका थिए ।

 

महोत्तरी सदरमुकाम जलेश्वर ८ मा ३ सय ५० मिटर सडक ढलान गर्ने उपभोक्ता समितिका सदस्य रोशन ठाकुरले ५० लाख रुपैयाँको काम गरे पनि भुक्तानी पाउन नसकेको बताए । महोत्तरी र धनुषाका झण्डै दुई दर्जन पदाधिकारी प्रदेशसभा बैठक बाहिर आएर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...