मन्त्री भट्टराईले भने नेपाल एयरलाइन्सको मेजर अप्रेसन गर्नुपर्छ



 

 

जनवरी पहिलो साता नेपालबारे विश्वव्यापी माहौल सिर्जना हुँदैछ भ्रमण वर्ष २०२० शुभारम्भ मुखमै छ, व्यस्तता कस्तो छ ?

नेपाल भ्रमण वर्षको उदघाटन कार्यक्रमको अन्तिम तयारीमा छौं । त्यसकै सन्दर्भमा विभिन्न राष्ट्रिस्तरका संघ संगठन, विदेशी कूटनीतिक नियोगका प्रमुख, सरकारकै अन्तर मन्त्रालय र विभागहरुसँग लगातार बैठक, छलफल चलिरहेको छ । त्यसमै खटिएको छु ।

 

भ्रमण वर्ष २०२० को तयारीको काम कहाँ पुग्यो ? के-के काम अब बाँकी छन् ?

भ्रमण वर्ष अभियान कुनै एक दिन वा एक साता चल्ने होइन । यो वर्षभर चल्छ । त्यसकारण उदघाटन कार्यक्रम भव्य ढंगले गर्न सक्यौं र राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा एउटा राम्रो सन्देश दिन सक्यौं भने यसले वर्षभर नेपालमा पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत गर्छ भनेरै यसमा केन्दि्रत भएका छौं । १ जनवरीमा राष्ट्रपतिबाट भब्य उदघाटन हुन्छ । विदेशस्थित विभिन्न कूटनीतिक नियोगले पनि जनवरी ७ मा उदघाटन कार्यक्रम आयोजना गर्नुहुन्छ । गैरआवासीय नेपाली संघका साथीहरुले विश्वका विभिन्न शहरमा कार्यक्रम गर्नुहुन्छ । जनवरी पहिलो साता नेपालको सन्दर्भमा विश्वव्यापी एक माहौल सिर्जना हुनेछ ।

 

हामीले उदघाटनका अवसरमा भीआईपी पाहुनाहरुलाई बोलाएका थियौं, को-को आउँदै हुनुहुन्छ ?

भ्रमण वर्षको शुभारम्भ जनवरी १ मै गर्नुपर्ने भयो । यो दिन संसारभरका मानिसका लागि यो ठूलो उत्सवको दिन हो । उहाँहरुको सार्वजनिक बिदा पनि हुन्छ । बिदाको माहोल हुन्छ । यसका बाबजुद अहिलेसम्म भारत, चीन, म्यानमार र जमैकाबाट पर्यटनमन्त्री आउँदै हुनुहुन्छ । कतार, भुटान, कम्बोडियोलगायत मुलुकबाट उच्चस्तरीय प्रतिनिधित्व हुँदैछ । ५० भन्दा बढी सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता हुँदैछ । पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विदेशी निजी क्षेत्रका व्यवसायी र प्रतिनिधिसमेत सहभागी हुने कार्यक्रम छ ।

 

भ्रमण वर्षको अवसर पारी राज्यबाट अन्तर्राष्ट्रियस्तरमै चर्चा हुने प्रकारको केही नयाँ घोषणा वा प्याकेज सार्वजनिक हुन्छ भन्ने अपेक्षा थियो, भएन नि ?

२०२० लाई पर्यटन वर्षका रुपमा मनाउने क्रममा सरकारले केही निश्चित छूट र सहूलियत ल्याउनैपर्छ । त्यसमा हामी तयारी गरिरहेका छौं र अब क्रमशः घोषणा गर्दै जान्छौं । निजी क्षेत्रबाट प्याकेजहरु घोषणा भइसकेको छ । सरकारले पनि गर्छ । त्यसमा हिमालमा लाग्ने रोयल्टीमा छूट हुनसक्छ । नयाँ हिमाल आरोहण खुला गर्ने विषय छन् । उपयुक्त समयमा यी सबै घोषणा हुन्छन् ।

 

भ्रमण वर्षकै मुखमा राजधानीको सडक, प्रदूषण, ट्राफिक व्यवस्थापनलाई लिएर सर्वसाधारणबाट प्रश्न उठिरहेको छ । तपाईंको कार्यक्षेत्र नभए पनि सहजीकरणमा तपाईंले भूमिका खेल्न सक्नुहुन्छ । यस्ता विषयलाई कसरी सम्बोधन गरिरहनुभएको छ ?

भ्रमण वर्षको सन्दर्भलाई लिएर हामीले अन्तर मन्त्रालय समन्वयलाई जारी राखेका छौं । गृह, भौतिक योजना, सञ्चार, परराष्ट्र, अर्थ मन्त्रालयसहित सरोकारवाला मन्त्रालयसँग निरन्तर छलफल भइरहेको छ । काठमाडौंलगायत पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक मार्गको सुदृढीकरण हुनुपर्छ भनेर हामीले भनिरहेका छौं । पछिल्लो समय भौतिक मन्त्रालय, सडक विभागले आफ्नो सक्रियतामा तीव्रता ल्याएको छ । पक्कै पनि यसले धेरै सुधार हुन्छ ।

 

सन् २०१८ मा भ्रमण वर्षको तयारी गर्दैगर्दा सन् २०२० सम्म नेपाल एयरलाइन्सले धेरै गन्तव्यमा उडान थाल्छ, गौतमबुद्ध विमानस्थल सञ्चालन हुन्छ, त्यसपछि पूर्वाधार र क्षमताको एक चरण पूरा भइसक्छ भन्ने अनुमान थियो । पर्यटकीय सेवा तथा पूर्वाधार विस्तारको काम त थाती नै रहे नि ?

गौतमबुद्ध विमानस्थलको निर्माणको काम अब धेरै पछाडि छैन । हामीले यसलाई २०१९ को डिसेम्बरभित्र सञ्चालनमा ल्याइसक्ने भनेका थियौं । निर्माण कम्पनीको तर्फबाट भएका केही समस्याका कारणले यसमा ढिलाइ भएकै हो । पछिल्लो दिनमा मन्त्रालयले अर्थ मन्त्रालय, एसियाली विकास बैंकसँग समन्वय गरी समस्या समाधान गरेको छ र अब बढीमा तीन महिनाभित्र यो विमानस्थलको काम सम्पन्न हुन्छ । त्यसको तीन महिनापछि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउँछ ।

 

करिब २५ करोड बजेट नै छुट्याएर सरकारले त्रिभुवन विमानस्थललाई भ्रमण वर्ष अगाडि नै ‘बुटिक एयरपोर्ट’का रुपमा घोषणा गर्ने तयारी भएको थियो । त्यो तयार भयो ?

बुटिक एयरपोर्ट बनाउने अभियानअन्तर्गत सौन्दर्यीकरणका लागि केही काम भएका छन् । कतिपय काम अझै जारी छन् । तर कतिपय ठूला निर्माणका काम भने अझै पनि सम्पन्न भएका छैनन् । रोकिएर बसेका कामलाई गति दिन पनि मैले प्रयास गरिरहेको छु । छिट्टै बुटिक एयरपोर्टको एक प्रारुप देखिन्छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आकर्षक, सुन्दर र सुविधा सम्पन्न बन्छ ।

 

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जाम, डिले र रद्द हुने क्रमले यात्रु दिक्क भइसके, पर्यटकलाई पनि यस्तै सेवा दिने हो कि केही सुधार हुन्छ ?

काठमाडौंको आकासमा हवाईजहाजको जाम हुने वा होल्ड हुने समस्या तत्काल अन्त्य गर्न सकिँदैन । केही हदसम्म घटाउन भने सकिएला । यसकैलागि धावनमार्ग र ट्याक्सीवे जिर्णोद्धारको काम तोकिएको समयभन्दा करिब ३ महिना अगाडि नै सम्पन्न गर्‍यौं । निर्माण कम्पनीले यो आयोजना हस्तान्तरण गरिसकेको छ । यसले आकासको होल्ड वा जामलाई केही घटाउने छ । यसबीचमा पार्किङ क्षेत्र बिस्तार भएको छ । यसले पनि ट्राफिक व्यवस्थापनमा सहयोग गर्नेछ । थप पार्किङस्थल थपिने क्रममा पनि छन् । तर यसले पनि हामीले सोचेजति व्यवस्थापन गर्न सकिन्न । किनकी यहाँ जुन किसिमले वायुसेवा कम्पनीको चाप छ, जुन किसिमले काठमाडौंले यात्रु दिइरहेको छ, यो क्षमता अब त्रिभुवन विमानस्थलले धान्दैन ।

 

त्यसैले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ, यसको विकल्प छैन भनेर भनेको हो । अब गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल सञ्चालनमा आएपछि १/२ प्रतिशत ट्राफिक त्यता डाइभर्ट होला । तर त्यसले पनि काठमाडौंको समस्या हल हुँदैन । आज त्रिभुवन विमानस्थलको क्षमता बढीमा ९० लाख यात्रु प्रतिवर्ष हो । अहिले नै यसले ७२ लाख यात्रुलाई प्रतिवर्ष सेवा दिइरहेको छ । जबकी नेपालमा वार्षिक औसत १४ प्रतिशतले हवाई यात्रु बढेका छन् । यही वृद्धिदर कायम रहेमा अबको डेढ/दुई वर्षपछि काठमाडौंले यात्रुको चाप धान्न सक्दैन । त्यसपछि पनि काठमाडौंमै बल गरिरहने हो भने ठूलो क्षति हुने खतरा हुन्छ । त्यसेले छिटोभन्दा छिटो निजगढमा जानुको विकल्प छैन ।

 

भ्रमण वर्षको तयारीमा तपाईं आन्तरिक रुपमा जति खटिनुभयो, विदेशमा हुनुपर्ने कार्यक्रम किन स्वदेशमा भइरहेका छन् भनेर पनि प्रश्न उठ्छ । विदेशमा भएका कामको प्रचार नभएको हो कि, उता प्रवर्द्धनका काम गर्नै बाँकी छ ?

तयारी सबैतिर भएको छ । स्वदेशमा हुने गतिविधिले आन्तरिक रुपमा एउटा माहौल बनाउँछ । पर्यटन व्यवसायी र सरकारको आत्मविश्वास बढाउने काम गर्छ । हामी अहिले स्वदेशमा केन्दि्रत भएको जस्तो देखिए पनि विदेशमा कार्यक्रम नै नभएको होइन । विदेशमा नियमित रुपमा प्रवर्द्धनका काम भइरहेका छन् । विदेशमा हुने प्रवर्द्धनमा कूटनीतिक नियोगमा बढी भर पनि परेका छौं । यसबीचमा हामीले तीन ठाउँमा राजदूतहरुसँग बैठक गरिसक्यौं ।

यूरोपको हकमा इटालीमा राजदूतहरुको भेला गरी उहाँहरुले गर्नुपर्ने कामबारे स्पष्ट निर्देशन दिइसकेका छौं । मध्यपूर्वको हकमा ओमानमा त्यस्तो मिटिङ भएको छ । एसियाको हकमा थाइल्याण्डमा बैठक राखेर हाम्रा राजदूतहरुलाई भ्रमण वर्ष २०२० को सन्दर्भमा गर्नुपर्ने कामहरुको बारेमा स्पष्ट दिशानिर्देशन दिइसकेका छौं । नेपाल सरकारको निर्देशनसमेत परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं । गैरआवासीय नेपाली संघ यस अभियानको एक महत्वपूर्ण साझेदार संगठन हो । उहाँहरुसँग पनि कार्यक्रम सम्झौता गरी विश्वभर गैरआवासीय नेपाली परिचालित भई भ्रमण वर्षमा खटिने वातावरण मिलाएका छौं ।

 

भ्रमण वर्षको तयारीको शुरुवाती चरणबाटै खटिनु भएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ)को अवकासले एक महत्वपूर्ण संस्था अहिले नेतृत्वविहीन छ । उहाँसँग यस अभियानको संस्थागत मेमोरीसमेत थियो । समयमा अर्को सीआईओ छान्न नसक्नुले सरकारको असावधानी देखाएन र ?

सीईओ दीपकराज जोशीको अवकासको समय यही बेला पर्न गयो । यो पूर्वनिर्धारित थियो । तर नेपाल पर्यटन बोर्ड एक संस्थागत संरचना भएका कारणले त्यहाँ अभिछिन्न रुपमा काम भइरहन्छ । भ्रमण वर्षलाई पनि अफ्ठ्यारो नपरोस् भनेर नयाँ कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया पनि अगाडि बढाइसकेका छौं । छनोट समिति बनेर काम अगाडि बढिसकेको छ । प्राप्त आवेदनमा अध्ययन भइरहेको होला । छिट्टै त्यसको नतिजा प्रकाशन भई सीईओ छनोट हुन्छ ।

 

यो रिक्तताले उदघाटनमा त असर गर्दैन ?

यो अभियानमा लामो समयदेखि सक्रिय रहेका कारण उहाँलाई (निवर्तमान सीईओलाई) काम गर्नुस् भनेका छौं । उहाँले भ्रमण वर्ष सचिवालय, सरकार र बोर्डमा समन्वयको काम गरिरहनु भएको छ ।

 

तपाईंको मुख्य प्राथमिकतामा परेको र भ्रमण वर्षको सफलतासँग पनि जोडिएको नेपाल एयरलाइन्सको सुधारमा कुनै परिणाम अझै देखिएन । किन होला ?

बिरामी धेरै थला परेको छ, रोग पनि जोखिमपूर्ण छ भने डाक्टरले अप्रेसन गर्दा धेरै होसियारीपूर्वक गर्नुपर्छ । कहिलेकाहीँ डाक्टरको लापरवाहीले बिरामीको मृत्यु हुन सक्छ । नेपाल एयरलाइन्सको अहिलेको अवस्था पनि त्यस्तै हो । त्यहाँ धेरै सुधार गर्नुपर्ने छ । त्यस्तो बेलामा त्यहाँ यसरी हात हाल्नुपर्छ कि त्यहाँ हात हालिसकेपछि झिक्नु नपरोस् । किनकी नेपाल एयरलाइन्समा सामान्य टालटुलले हुनेवाला छैन । त्यहाँ मेजर अप्रेसन गर्नुपर्ने छ र, म उपयुक्त मौकाको प्रतिक्षामा छु ।

 

सुझाव कार्यदलको प्रतिवेदन आइसकेपछि तपाईंले नेपाल एयरलाइन्समा लिएको एक्सन के हो ?

दुई साता अगाडि मैले कार्यकारी अध्यक्षसहित सबैलाई बि्रफिङका लागि मन्त्रालयमा बोलाएको थिएँ । अहिलेका कार्यकारी अध्यक्षको नियुक्तिका बेला मन्त्रिपरिषदबाट उहाँलाई १२ बुँदे कार्यादेश दिइएको रहेछ । त्यो कार्यादेशको प्रगति के भयो, स्पष्ट तथ्यांकसहित मन्त्रालयलाई जानकारी गराउनुहोस् भनेर मैले मागेको छु । सरकारले कार्यकारी अध्यक्षको भूमिकासहित उहाँलाई एक अभूतपूर्व विश्वाससहित अधिकार दिएको हो । त्यस्तो नेतृत्वले अभूतपूर्व नतिजा देखाउनुपर्छ । किनकी सरकारी संस्थानमध्ये नेपाल एयरलाइन्समा मात्र कार्यकारी भूमिकासहितको अध्यक्षको जिम्मेवारीमा उहाँ हुनुहुन्छ । अन्य संस्थानमा मन्त्री वा सचिव सञ्चालक समिति अध्यक्ष हुने प्रावधान हुन्छ ।

 

भ्रमण वर्ष अभियानलाई पर्यटनबाट हुने आयसँग पनि जोडिन्छ । यो अभियानमा कति खर्च हुन्छ र अर्थतन्त्रमा के उपलब्धी हुन्छ ?

अन्य देशले पर्यटन क्षेत्रमा खर्च गर्ने बजेटको तुलनामा हाम्रो देशको बजेट ज्यादै न्यून छ । यस अभियानमा हामीले ६५ करोड रुपैयाँको बजेट बनाएका छौं, जसमा सरकारबाट १० करोड प्राप्त भएको छ । अन्य रकम विभिन्न स्रोतबाट जुटाउँछौं ।

६५ करोडको बजेट परिचालनबाट २० लाख पर्यटक भित्राउन सकियो भने त्यसले ६५ अर्बसमेत आम्दानी हुनसक्छ । तर अन्य मुलुकको तुलनामा हाम्रो बजेट ज्यादै कम हो । अन्य मुलुकहरुको प्रस्तुति नै निकै माथिल्लो स्तरको छ । बजेट खर्च गर्ने हैसियत नै माथि छ । त्यसको तुलनामा हामीले निकै कम बजेट खर्च गर्नेछौं । जबकी आजको दुनियाँमा बजारीकरण गर्न सकिएन, आफ्ना प्रतिनिधि पठाउन सकिएन, आफ्ना कुराहरु सशक्त ढंगले राख्न सकिएन भने बजारमा तपाईंको हस्तक्षेप नै हुँदैन । त्यसकारण बजेट खर्च हुन्छ । तर बजेटको दुरुपयोग हुनु भएन, गलत काममा त्यसको खर्च हुनु भएन । प्रणालीभित्र बसेर खर्च गर्नु पर्‍यो । हामी त्यसभित्रै छौं ।

 

पर्यटनमा नेपालको भन्दा प्रतिस्पर्धी क्षमता बढी भएका मलेसिया, इन्डोनेसियासहित केही अपि|mकी मुलुकले समेत सन् २०२० मा भ्रमण वर्ष मनाउँदैछन् । त्यहाँ जाने पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न हाम्रो रणनीति के छ ?

हामीले मुख्य १० गन्तव्यलाई केन्दि्रत गरी प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउने तयारी गरेका छौं । अभियानका दौरान हामी संसारभर पुग्छौं, आफ्नो प्रस्तुति दिन्छौं, तर नेपालमा बढी पर्यटक आउने १० मुख्य बजार छनोट गरी हाम्रो जनशक्ति, प्रचार प्रसार, स्रोत साधन त्यहाँ केन्दि्रत गर्ने योजना बनाएका छौं । यसमा नेपालमा धेरै पर्यटक आइरहेका मुलुक र क्षेत्रहरु पर्दछन् । मलाई विश्वास छ, त्यसले सकारात्मक परिणाम दिनेछ ।

 

तर भ्रमण वर्षको आधिकारिक वायुसेवा कम्पनीमा नेपाल एयरलाइन्सलाई बेवास्ता गरी विदेशी निजी एयरलाइन्स छनोट गरेको भनेर आलोचना भइरहेको छ नि ?

नेपाल एयरलाइन्सबाहेक कुन कम्पनीले आधिकारिक जिम्मेवारी पायो भन्नेबारे मलाई जानकारी छैन । जानकारी आएपछि के भएको रहेछ म हेरौंला । तर हाम्रो प्राथमिकता नेपाल एयरलाइन्स नै हुन्छ, सरकारी एजेन्सीहरु नै हुन्छन् ।

 

विदेश जाने कामदारले अनिवार्य भ्रमण वर्षको टी-सर्ट र क्याप लगाउने निर्णय पनि सामाजिक सञ्जालमा निकै आलोचित भइरहेको छ, हेर्नु भएको छ ?

नेपाली जनमतले ज्यादै साँघुरो मानसिकताले सोच्ने गर्छ । यो सोचाइको साँघुरोपन हो, त्यसमा मलाई केही भन्नु छैन । विदेशमा काम गर्न जाने नेपाल भ्रमण वर्षको टी-सर्ट, लोगो, क्याप लगाउँदा भने के बिग्रन्छ ? त्यो त नेपालकै प्रचार हो नि । हामीले प्रचार नै गर्ने हो, उहाँहरुमार्फत पनि नेपाल र भ्रमण वर्षको प्रभावकारी प्रचार हुन सक्छ । यसमा मैले दुई वटा संस्थासँग स्पष्ट ढंगले सहयोगको आह्वान गरेको हुँ, एउटा शैक्षिक परामर्श संघ र अर्को वैदेशिक रोजगार व्यवसायी संघ ।

 

शैक्षिक परामर्श संघबाट विद्यार्थी विदेशमा जान्छन्, वैदेशिक रोजगार व्यवसायी संघबाट कामदार बाहिर जान्छन् । कामदार साथीहरुले आफ्ना मालिक, सीईओ, अध्यक्षसँग भ्रमण वर्षका विषयमा दुई वटा कुरा भन्न सक्नुहोला । अझै मैले त भनेको छु, सम्भव छ भने कामदार साथीहरुमार्फत भ्रमण वर्षको गिफ्ट पनि पठाइदिनुस् । शैक्षिक परामर्श संघसँग मैले भनेको छु, कम्तिमा पनि हरेक विद्यार्थीले युनिभर्सिटीका एउटा साथीलाई नेपाल पठाउने वातावरण बनाओस् । विश्वविद्यालयमा आफ्नो प्राध्यापक, साथीभाइसँग नेपालबारे केही राम्रो सन्देश पुर्‍याओस् ।

 

यसलाई लिएर सामाजिक सञ्जालमा मलाई मेन्सन गरेर लेखिएको मैले पनि हरेको छु । कतिपयले त ‘विदेशबाट आउने लासको बाकसमा भ्रमण वर्षको लोगो राखेको भए हुन्थ्यो नी मन्त्रीज्यू’ भनेर समेत मेन्सन गरेका छन् । यस्तो टिप्पणी देख्दा मलाई दया लागेर आउँछ । मान्छेको मृत्युसँग जोडिएको समवेदनालाई समेत ख्याल नगरी आउने यस्तो टिप्पणी नेपालीले गर्न सक्दैन । यो नेपालीपन नै होइन । किनकी सबै नेपाली हाम्रै दाजुभाइ हुन् । जसको दुःखद निधन हुन्छ, त्यसले देशलाई नै दुख्छ । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्