कांग्रेस केन्द्रीय कार्य समिति बैठक पौडेल पक्षले बहिस्कार गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज( शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । यसअघि हिजो (बिहीबार) बस्ने भनिएको बैठक आज १ बजेलाई सारिएको हो।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलाई सहमतिमा ल्याउनका लागि भन्दै हिजोको बैठक स्थगित गरिएको श्रोतले बताएको छ । गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता पौडेल पक्षले पटकपटक बहिस्कार गर्दा बैठक राम्ररी संचालन हुन सकेको छैन ।
आज बसेको बैठकमा पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन र भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।
अघिल्लो समय बस्दै आएको बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवम् नेविसंघको तदर्थ समिति गठन लगायतका विषयमा पौडेल पक्षले असहमति राख्दै आएको छ ।
पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिस्कार गर्दै आएको छ । उता आजको बैठकमा पनि पौडेल पक्ष सहभागी हुन्छ कि हुँदैन भन्ने विषय अहिलेसम्म अन्यौलमै रहेको छ ।


