अकुत सम्पत्ति थुपार्ने केशव शर्मा माथि किन परेन अख्तियारको आँखा



हाम्रो इकोनोमि

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकोे असहयोग र छानीछानी विवादित र विभिन्न काण्डमा मुछिएका डीईहरूलाई ठूला आयोजनामा सरुवा गर्न दबाब दिएका कारण सडक विभागका महानिर्देशक केशव शर्माले ६ महिनासम्म चाहेअनुसारको काम गर्न सकेनन् । तत्कालीन मन्त्री महासेठले कालिका कन्ष्ट्रक्सनदेखि लामा कन्ष्ट्रक्सनका सिफारिसमा मदन भण्डारी लोकमार्ग आयोजनामा डीई सरुवा गर्न दबाब दिएपछि महानिर्देशक शर्मा रुष्ट थिए ।

उनले कार्यक्षमता प्रदर्शन गर्नसक्ने डीईहरू सरुवा गर्नुपर्छ भन्दा मन्त्री महासेठले उनलाई साथ दिएनन् । मन्त्रीमात्र होइन, उनलाई उनकै विभागका उपमहानिर्देशक(सहसचिव)हरूले समेत साथ दिएनन् । महासेठले त हुलाकी सडक आयोजनादेखि अरु आयोजनाको ठेक्का सेटिङ गर्न दबाब दिए । तर उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हत्कडी आफूलाई लगाउने भएकाले सेटिङ हुन नदिने अडान राखे । बरु महानिर्देशकबाटै सरुवा गरे पनि फरक नपर्ने भनेर महासेठको अनुचित दबाबका सामु उनी झुकेनन् । फलस्वरुप हुलाकी सडकको ठेक्कामा स्वच्छ प्रतिस्पर्धा भयो । र, देशलाई करिब ७ अर्बभन्दा बढी फाइदा हुन पुगेको दावी गरिएको छ ।

महासेठको बर्खास्तीपछि वसन्त नेम्वाङ भौतिक मन्त्रीका रुपमा आएका छन् । उनी आएपछि महानिर्देशक शर्माले काम गर्ने मौका पाएको छनक काठमाडौंका खाल्डाखुल्डी टाल्न सुरु गरेर दिइसकेका छन् । महानिर्देशकले नै कुन डीई कति काबिल छ भन्ने जानकारी राख्ने भएकाले उसलाई नै सरुवा गर्न दिने ब्यवस्था गरिएको हो । तर मन्त्रालयबाट सरुवामा हस्तक्षेप भएपछि पैसा बुझाएर गएका डीईहरू त्यो लगानी असुलीका लागि लाग्छन् । जुन ठेकेदार वा परामर्शदाताले लगानी गरी सरुवा गरेको हो, त्यो ठेकेदारको कामको अनुगमन गर्न सक्दैनन् । त्यसलाई कारबाही गर्न सक्दैनन् ।
सडक विभागका महानिर्देशकलाई नै ‘राइट म्यान राइट प्लेस’को अवधारणा अनुसार सरुवा गर्न दिने प्रावधान राख्नसके मात्र कामको परिणाम निस्कन सक्छ भन्ने मान्यता वर्तमान मन्त्री नेम्वाङले राखेको देखिन्छ । उनले सरुवा पनि तत्काल नगर्ने मनस्थिति बनाएकाले पनि सडक विभागका महानिर्देशक शर्मालाई अब काम गर्न सहज वातावरण भएको ठान्छन् भौतिक मन्त्राललयकै अधिकारीहरू ।

 

अकूतवाला डीईहरूको बढुवा
सडक विभागका ५ जना डीई(उपसचिव) सहसचिवमा बढुवा भएका छन् । २०६३ मा डीई भएका उमेशविन्दु श्रेष्ठ, दीपक केसी, काठमाडौं डिभिजन सडक कार्यालयका प्रमुख कैलाश श्रेष्ठ, देवकुमार तामाङ र विजय चापागाई बढुवा सिफारिस भएका छन् । आन्तरिक र मधेशी बढुवाको परीक्षा सकिएर कसैले उजुरबाजुर नगरेमा उनीहरूको पदोन्नतिसँगै पदस्थापन हुनेछ । उनीहरूसँगै डीई भएका रोहित बिसुराल, शिवराज अधिकारी र पूर्वकुमार राईले उजुरी हाल्ने तयारीमा रहेको बताइन्छ ।

बढुवाको सूचना निस्केको ३५ दिनभित्र उजुरी गर्न पाइन्छ । यद्यपि यी तीनै डीईसँग दुर्गम क्षेत्रमा काम गरेको अनुभव नभएकाले उनीहरूको उजुरीमा दम नभएको सडक विभागका अधिकारी नै बताउँछन् । बढुवा भएका उमेशविन्दु श्रेष्ठ बाहेक दीपक केसी, कैलाश श्रेष्ठ र विजय चापागाई विशेष बढुवा भएका डीई हुन् ।

पानी बढुवा भएका हाकिमका रुपमा सडकमा चिनिएका उनीहरूमध्ये केसी र कैलाश श्रेष्ठले सधैं राम्रो ठाउँ पाउँदैआएका छन् । सडकमा यी तीनबाहेक विशेष बढुवा भएका डीईमा नवीनमान श्रेष्ठमात्र छन् । बिजय चापागाई सहसचिव बढुवा भए पनि उनको कार्यकाल तीन चार महिनामात्र बाँकी छ ।

उमेशविन्दु श्रेष्ठ, दीपक केसी र कैलाश श्रेष्ठ सडकमा आकर्षक कार्यालयमा बसी अकूत कमाउने डीईका रुपमा चिनिन्छन् । उमेशविन्दु कास्की डिभिजन र दोलखा डिभिजन सडक कार्यालयको प्रमुख हुँदै हाल मदन भण्डारी सडक आयोजनाका कामु प्रमुख हुन् । उनी कास्की र दोलखामा डीई हुँदै अकूत सम्पत्ति आर्जन गर्ने डीईका रुपमा चर्चित छन् । अहिले मदन भण्डारी आयोजनामा पनि उनले ठेकेदारहरूदेखि कन्सलट्टयान्टहरूबाट दररेट अनुसार नै कमिसन संकलन गरिरहेका छन् ।

दीपक केसी पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका कामु निर्देशक हुन् । उनी कान्ती लोकपथ आयोजनाको प्रमुख र उपत्यका सडक विस्तार आयोजनामा बसी कुस्त कमाउने हाकिममा पर्दछन् । दुवै आयोजनामा हुँदा ठेकेदार निचोरेर घुस असुली गर्ने हाकिमका रुपमा उनी चिनिएका थिए । रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतोलाई प्रभावमा पारी श्रेठ र केसीले कामु आयोजना प्रमुखको जिम्मेवारी पाएका थिए ।

कैलाश श्रेष्ठ बुटवल डिभिजन हुँदै काठमाडौं डिभिजनमा सरुवा भएका हुन् । काठमाडौंका दुई वटा डिभिजन एक बनाएपछि खाल्डाखुल्डीदेखि पिच नभएका सडक समेत पिच गरेको बिल पेश गरी विगतमा गोपालबहादुर खड्काको अनुशरण गर्दै भ्रष्टाचार गर्दैआएका छन् । साँखुदेखि थानकोटसम्मका सडकको जिम्मा उनकै छ । तर उनले अति ब्यस्त सडक गौशालादेखि चावहिलसम्मका सडकको कन्तविजोग वास्ता गरेका छैनन् । गौशालादेखि चावहिलका ठूला ठूला खाल्डाखुल्डी पुर्नसमेत सकेका छैनन् । जसका कारण ती सडकमा दुर्घटना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...