२२ वर्षीया युवतीलाई काठमाडौंबाट बिहार लाने ६ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

एक २२ वर्षीया युवतीलाई काठमाडौंबाट विराटनगर हुँदै बिहार पुर्‍याउने योजनामा संलग्नहरू पक्राउ परेका छन्। प्रहरीले विराटनगर पुगेर संलग्नलाई पक्राउ गरी युवती उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले झापा घर भएकी ती युवतीलाई विराटनगर पुगेर उद्धार गरेको हो। प्रहरीका अनुसार संलग्न समूहले ती युवतीलाई बिहारको एक मन्दिरमा लैजान खोजेका थिए। त्यहाँ लगेर तान्त्रिक पूजा गराउने योजना उनीहरूको रहेको परिसरले जनाएको छ।

पक्राउ पर्नेमा नवलपरासी कावासोती हुप्सेकोट-१ मन २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका-१४ का ४० वर्षीय उमेश शाह, दाङ घोराही नगरपालिका-१० की २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरी सप्तकोसी नगरपालिका-११ का ३५ वर्षीय उमेश माझी, विराटनगर-८ का ५१ वर्षीय दिलीप पोद्दार, धादिङ खनियाबास गाउँपालिका-२ की ५१ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी गाउँपालिका-१ का ३७ वर्षीय रञ्जितकुमार चौधरी छन्।

उनीहरूलाई विराटनगर-१ बुढीगंगाबाट पक्राउ गरिएको परिसरले जनाएको छ। पक्राउमध्ये प्रेमा सीतापाइलाबाट पक्राउ परेकी थिइन्,जसले युवती खोज्ने काम गरेकी थिइन्।

परिसरका प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार सुरूमा ती युवतीलाई मोडलिङका लागि प्रस्ताव गरिएको थियो। मोडलिङका लागि छ फिट अग्लो हुनुपर्ने र शरीरमा कुनै घाउ-चोटको खत नभएको हुनुपर्ने भनी सुरूमा युवतीको शरीर परीक्षण गरिएको थियो।

शरीरको नाप र परीक्षणसमेत गरेपछि ती युवतीमा कोटेश्वरमा र्‍याम्पमा हिँडाउने भनिएको थियो। दैनिक १२ हजार रुपैयाँ दिइने सर्तमा युवतीलाई मोडलिङमा समावेश गराउने भनिएको थियो।

मोडलिङका लागि तयार भएपछि उनीहरूले भारत जान प्रस्ताव गरे। भारतमा धेरै पैसा कमाइने प्रलोभन देखाएपछि युवती तयार भएकी थिइन्। काठमाडौं बसेर मोडलिङ क्षेत्रमा काम गरिरहेकी उनलाई प्रलोभनले लोभ्याएको थियो।

यसपछि प्रेमाले युवतीको उचाइ नापेको भिडिओ विराटनगर पुगिसकेका उमेश माझीलाई पठाएकी थिइन्। युवतीले सो कुरा घरमा अभिभावकलाई सुनाइरहेकी थिइन्।

यो क्रम चलेको साता दिन बितेको थियो। यही बीचमा विराटनगर लैजाने तयारी थालिसकिएको थियो। पुस ६ गते हवाई टिकट पनि काटिएको थियो। तर, फेरि युवतीको शरीर जाँच गरियो।

शरीर जाँच गर्दा महिनावारी भए-नभएको, घाउ चोटको खत र अपरेसन गरे नगरेको भनी सोधियो। उचाइमा एक इञ्च पनि तलमाथि हुन नहुने भनेर उनीहरूले फेरि शरीरको नाप लिएका थिए। युवतीले यो कुरा घरमा सुनाइन्।

प्रहरीलाई आफन्तले जानकारी दिएका थिए। मौसमका कारण ६ गते उडान रद्द भयो।

भोलिपल्ट पुस ७ गते युवती साढे १० बजे बुद्ध एयरबाट विराटनगर लगियो, खर्च भन्दै २६ हजार दिइएको थियो। युवतीको साथमा दिलकुमारी पनि गएकी थिइन्। उमेश र कृष्ण उनीहरूलाई लिन विमानस्थल पुगेका थिए।

‘त्यहाँबाट सिधै जलजलाचोकको काली मन्दिर धर्मशाखामा पुर्‍याइएको थियो,’ परिसरका एसपी सिंहले भने, ‘त्यसपछि बिहार लैजाने तयारी थालिएको थियो।’

धर्मशालाको २०५ र २०६ नम्बर कोठा बुकिङ गरिएको थियो। धर्मशालामा पुगेपछि फेरि युवतीको शरीर जाँच गरिएको थियो। शरीर जाँच गरेपछि उमेश र कृष्ण बाहिर निस्केर बोर्डर पारि लैजान र पूजा गराउन योजनालाई अन्तिम रूप दिन गइरहेका थिए। उनीहरूले तान्त्रिक पूजाको सामान किने। र, मोडलिङका लागि कपडा किन्न भन्दै युवतीलाई सीमा कटाउन खोजेका थिए।

राति १० बजेसम्ममा भारत पुर्‍याउने तयारी उनीहरूको थियो। प्रहरीले साढे ९ बजे नै धर्मशालाबाट उनीहरूलाई पक्राउ गरेपछि योजना विफल भयो।

प्रहरीका अनुसार सीमापारिका एक जना पूजारीसँग उमेश र कृष्णको कुराकानी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनीहरूले पूजाका लागि तयारी गरेको बुझिन्छ।

‘उनीहरूले किन युवतीको पूजा गराउन खोजेका हुन् निकै रहस्यमय छ,’ सिंहले भने। त्यहाँ पुर्‍याइएको भए युवतीको ज्यान जोखिममा थियो।

युवतीमाथि शोषण हुनसक्ने सम्भावना त थियो नै। पूजाका लागि तयार गर्दा प्रहरीले ‘बलि’ चढाउन पो खोजिएको हो कि शंका गरेको छ। ‘बिहार लगिएको भए युवतीको ज्यानै जान सक्ने सम्भावनाहरू थिए,’ सिंहले भने। ती पूजारी को थिए भन्ने प्रहरीले खोजी गरिरहेको छ।

पक्राउ परेकाबाट योजना के थियो भन्ने खुल्न बाँकी रहेको सिंहले बताए। विराटनगरबाट ६ जना पक्राउ परेपछि प्रहरी प्रेमाको खोजीमा लागेको थियो। उनी सितापाइलामा फेला परेकी थिइन्। कृष्ण र प्रेमा श्रीमान्-श्रीमती हुन्।

यो घटनामा अन्य विभिन्न जिल्लाका मान्छे संलग्न भएका देखिन्छन्। सीमापारिको सम्पर्क सूत्रदेखि युवती खोजी गर्ने सञ्जाल देखिएको परिसरले जनाएको छ। ‘यो एउटा गिरोह नै हो भन्ने हाम्रो अनुमान छ,’ सिंहले भने। प्रेमा युवतीसँग कसरी जोडिइन् भन्ने विषयको गहिराई प्रहरीले खोजिरहेको छ।

‘प्रेमाको काम नै युवती खोज्ने हो कि भन्ने शंका छ,’ सिंहले भने। प्रारम्भिक सोधपुछ क्रममा यो समूहले पैसाका लागि युवतीलाई बिहार लैजान खोजेको बताएको छ। त्यसबापत पाँच लाख रुपैयाँ पाउने आश्वासन पाएको बयान दिएका छन्। बिहारमा सक्रिय समूहको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...