नारायणी नदीमा पानीजहाज चल्यो, पुरा भयो प्रधानमन्त्रीको सपना, ओली, प्रचण्ड र देउवाले उदघाटन गर्ने



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा ‘टेष्ट ड्राइभ’ गरिएको छ । आइतबार दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् ।

क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको थियो । मिनी क्रुज सिपको टेष्ट ड्राइभ सफल भएपछि निर्माणकर्ताहरु हर्षित छन् ।

क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको इतिहासमै पहिलोपटक यति ठूलो क्रुज सिप बनाएर सफलतापूर्वक टेष्ट ड्राइभ गर्दा निकै खुसी लागेको बताए । ‘आज त ऐतिहासिक दिन बन्यो, सबैभन्दा छोटो दिन २२ डिसेम्बरमा, निकै लामो यात्राको शुभारम्भ गरेका छौं,’ प्रवन्ध निर्देशक कँडेलले भने । यो मिनी पानीजहाजले नेपालको जल यातायात र पर्यटनमा नयाँ छितिजको ढोका उघारेको उनको भनाइ छ ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । यसअघि दशैं अगाडि नै तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य लिइएको भए पनि डिजाइनमा केही परिवर्तन गर्नु परेकाले समय र लागत दुवै बढेको कम्पनीका प्रवन्ध निर्देशक कँडेलले बताए ।

उनका अनुसार क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ । पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ ।

क्रुजमा दुई वटा इञ्जिन छन् । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेशनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएको बताए ।

क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । सञ्चालक सेवाइस्टनले भने, ‘कुनै ठाउँबाट पानी पसे निश्चित सानो च्याम्बरमा मात्रै जान्छ, अन्यत्र जाँदैन, त्यसलाई पनि तुरुन्तै फाल्ने प्रविधि बनाएका छौं ।’

क्रुजको दुई तलामा सिसा राख्न बाँकी छ । महिला र पुरुषका लागि अलग-अलग शौचालय, काउन्टर र बार बनाउने काम अन्तिम चरणमा छ । लाइट राख्ने काम भैरहेको छ भने चालक बस्ने ककपिट तयार भइसकेको छ । प्रवन्ध निर्देशक कँडेलले भने ‘झ्यालको सिसा केही दिनभित्र राखिसकिने छ, एसी जडान हुँदैछ, भित्री भागमा राखिने कुर्सी आउने क्रममा छ ।’

क्रुज सिपमा हाल १५ जना चालक दलका सदस्य र प्राविधिक हाल विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना छ । क्रुज राख्न च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ । चढ्न र झर्न यहीँ नै आउनु पर्छ ।

मिनी पानीजहाजभित्र साँस्कृतिक कार्यक्रम गर्दा आवश्यक ड्रेस चेन्जिङ रुम, पानी ट्यांकी राख्ने लगायतका काम भैरहेका छन् । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट छुट्याइएको छ ।

 

काभ्रेघाट, देवघाट हुँदै गोलाघाटसम्म यात्रा, गति ३५ किमि प्रतिघण्टा

क्रुजलाई दिनमा तीन सिफ्ट सञ्चालन गर्ने योजना छ । प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ । त्यसमा काभ्रेघाटदेखि देवघाट र देवघाटबाट गोलाघाटको यात्रा गराइने कम्पनीले जनाएको छ । यसको गति प्रतिघण्टा ३५ किलोमिटरसम्म हुनेछ । क्रुज सिप सञ्चालनपछि नारायणी नदी किनार पूर्णरुपमा रिक्रिएसन सेन्टर बन्ने निर्माण पक्षको दाबी छ ।

बर्खाको तीन महिना यसलाई बन्द गरिनेछ । हिउँदमा निकै कम पानी हुँदा पनि यसलाई चलाउन सकिने प्रविधि जडान गरिएको कम्पनीको दावी छ । क्रुज चलाउनुअघि हरेक दिन बिहान सानो बोटले हिँड्ने ट्रयाकको अवस्था जाँच गरिने छ । सिंगापुर र भारतबाट आएका प्राविधिकको टोलीले गत वर्ष पुस महिनामा पानीको गहिराइबारे अध्ययन गरेका थिए ।

सन् २०२० लाई सरकारले पर्यटन वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा यो क्रुज सिप पनि एक कोशेढुंगा सावित हुने कम्पनीको विश्वास छ । ‘नेपालमा आउने हवाई जहाजहरुको अधिकतम क्षमता ३७० जनाको छ, जल यातायातमा दुई सय जना क्षमताको कुनै यातायात छैन, यो नै पहिलो हो,’ प्रवन्ध निर्देशक कँडेलले भने, ‘नेपालका नदीको क्षमता अनुसारको सबैभन्दा ठूलो जल यातायातको साधन यही हुनेछ ।’

भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष अमृतराज हमालले वडा नं. १६ मा बनिरहेको क्रुजले यहाँको स्थानीय जनताको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालकै जल पर्यटनमा नयाँ फड्को भएको बताए ।

क्रुज बनाउन स्थान उपलब्ध गराएको ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले देशभित्र नै केही गर्न सकिन्छ है भनेर युवाहरुमा प्रेरणा जगाउन र पर्यटनमा नयाँ प्याकेज उपलब्ध गराउन क्रुज सिपले महत्वपूर्ण भूमिका खेलेको बताए ।

 

ओली, प्रचण्ड र देउवाबाट उदघाटन गराउने तयारी

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा सञ्चालनमा ल्याइने क्रुज सिपको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबाट संयुक्त रुपमा गराउने योजना रहेको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिले क्रुज बनाइरहेकै स्थानमा रिसोर्ट सञ्चालन गर्ने योजना बनाएको छ । क्रुजको निर्माण सकिएलगत्तै रिसोर्टको काम धमाधम अघि बढ्ने सञ्चालक थानेश्वर कँडेल बताउँछन् । रिसोर्टमा १० करोड लगानी गर्ने योजना कम्पनीको छ । क्रुजसिप र रिसोर्ट सञ्चालनका ज्ञानेश्वर सामुदायिक बनले डेढ विगाहा जग्गा २० वर्षका लागि भाडामा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...