सरकारको कामप्रति राष्ट्रपति असन्तुष्ट, धुम्बाराहीमा ‘महारानी’ को संज्ञा



हाम्रो इकोनोमि

 

 

ओली सरकारको काम गराइप्रति राष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट देखिएकी छन् । भलै, राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो सरकारलाई ‘मेरो सरकार’ भनेकी थिइन् ।

राष्ट्रपतिको भूमिकामा रहेर पनि नेकपाभित्र हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्दै आएका बेला राष्ट्रपति भण्डारीले अब सरकारको काममा पनि हस्तक्षेप गर्न थालेको संकेत शनिबार शीतलनिवासमा देखियो ।

सडकका खाल्डाखुल्डीदेखि गोकर्ण रिसोर्टको सरकारी जग्गासम्मका समाचारहरु आफूले पत्रपत्रिकामा पढिरहेको भन्दै राष्ट्रपति भण्डारीले ओली सरकारको भूमिकाप्रति शनिबार असन्तुष्टि प्रकट गरिन् ।

फेसबुक र ट्वीटरमा लेखेर मात्र नहुने भन्दै नेकपाले पाएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीले नेकपाका नेताहरुलाई सम्झाइन् ।

‘सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटअनुसार काम भइरहेको छ कि छैन ?’ राष्ट्रपति भण्डारीले शनिबार शीतलनिवासमा नेकपाका केही नेतालाई बोलाएर सोधिन्, ‘मैले पत्रपत्रिकामा विभिन्नखालका समाचार पढिरहेकै छु, सरकार कसरी अगाडि बढिरहेको छ, यस विषयमा तपाईंहरुको धारणा के छ ?’

नेकपा स्थायी कमिटीको बैठक चलिरहेकै बेला राष्ट्रपतिले बहालवाला मन्त्रीसहित पार्टीको दोस्रो पुस्ताका केही नेताहरुलाई शीतलनिवासमा बोलाएर सरकारको कामबारे चासो राखेकी हुन् ।

राष्ट्रपतिको अभिव्यक्तिमा सरकारको काम गराइप्रति असन्तुष्टि झल्किएको त्यहाँ सहभागी एक नेताले अनलाइनखबरलाई बताए । प्रधानमन्त्री ओलीले यती समूहलाई दिएको गोकर्ण रिसोर्टलगायतको जग्गाका सम्बन्धमा पनि राष्ट्रपति भण्डारीले संकेत गरेको ती नेताले बताए ।

शीतलनिवासमा राष्ट्रपतिको निम्तो मान्न जानेहरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत थिए । त्यहाँ पूर्वमन्त्री जनार्दन शर्मा, सुरेन्द्र पाण्डेका साथै सांसद देवेन्द्र पौडेललगायत थिए ।

नेकपाले दुई तिहाइ बहुमत पाएको वर्तमान अवस्थामा गम्भीर भएर ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले नेकपा नेताहरुलाई सम्झाएर खाना खुवाइवरि पठाएकी थिइन् । राष्ट्रपतिको निम्तो मानेर नेताहरु सीधै धुम्बाराहीको स्थायी कमिटी बैठकमा प्रवेश गरेका थिए ।

 

धुम्बाराहीमा ‘महारानी’ को आरोप

सिंहदरबार र शीतलनिवासको टकरावको बाछिटा शनिबार धुम्बाराहीमा पनि देखियो । राष्ट्रपति कार्यालयबाट खाना खाएर नेताहरु धुम्बाराहीमा पुग्दा स्थायी कमिटीको बैठक सुरु भइसकेको थियो । पार्टी नेतृत्वलाई जानकारी नै नदिई बैठकै छाडेर राष्ट्रपतिलाई भेट्न जानु विधि र प्रक्रियाविपरीत कार्य भएको भन्दै अध्यक्ष प्रचण्डले नेताहरुको आलोचना गरेका थिए ।

तर, यो भेट पहिले नै तय भएको भन्दै बैठकमा आउन ढिलो भएकामा कमजोरी हुन पुगेको नेताहरुले स्पष्टीकरण दिएपछि प्रचण्डले चित्त बुझाए । तर, भीम रावल र रघुजी पन्तलगायतका नेताहरुले राष्ट्रपति राजनीतिमा उत्रिएको भन्दै कडा आपत्ति जनाए ।

राष्ट्रपतिले राजनीति गर्न खोजेको र ‘महारानी’ बन्न खोजेको भन्दै धुम्बाराही बैठकमा शीतलनिवासको चर्को आलोचना भएको स्रोतले बतायो ।

एकातिर राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाएर सरकार र पार्टीको काममा चासो राख्नु, अर्कोतर्फ नेकपा नेताहरुबाटै राष्ट्रपतिलाई ‘महारानी’ को आरोप लाग्नुले अब दुई तिहाइ बहुमतवाला नेकपा सरकार अन्तरविरोधको गहिरो भासमा धकेलिन थालेको कतिपय नेताले विश्लेषण गर्न थालेका छन् ।

राष्ट्रपतिले नेकपाका नेताहरुसँग राजनीतिक भेटघाट गर्दा आपत्ति जनाउनुको कारण के हो भन्ने प्रश्नमा नेकपा नेता भीम रावलको प्रतिक्रिया यस्तो छ-

‘नेपालको संविधानको संरक्षक राष्ट्रपतिलाई भनिएको छ । संविधानको संरक्षक भन्नुको अर्थ, संविधानको मर्यादा सबैले पालना गरुन्, त्यसको सबैले अवलम्वन गरुन् भन्ने हो । अब स्वयं राष्ट्रपतिले नै नेपालको संविधानमा उहाँलाई जे अधिकार दिइएको छ, त्योभन्दा बाहिर गएर राजनीतिक दल, दलभित्र पनि गुटबन्दीमा प्रवेश गर्ने, संविधानले दिएको मर्यादाको हेक्का नराख्ने र राजनीतिकरुपमा सक्रिय हुन खोज्ने, त्यस्तो देखाउनु भनेको चिन्ताको विषय हो ।

राष्ट्रपतिप्रति मेरो धेरै ठूलो सम्मान छ । उहाँलाई राष्ट्रपतिको निर्वाचनका बेलामा उहाँ हुनुपर्छ भनेर मतदान गर्ने मान्छे हुँ म । त्यसकारण उहाँ त हामी सबैको राष्ट्रपति हो नि । उहाँको पदीय मर्यादा विपरीत जे गतिविधिहरु भइरहेका छन्, यो पछिल्लो बैठक, त्यसैको श्रृंखला हो, कडी हो ।

त्यसकारण, मेरो चिन्ता नेपालको संविधानले दिएका अधिकार र मर्यादाको सबैले पालना गरौं । राष्ट्रपतिले त झन् सबभन्दा बढी संरक्षकको हैसियतले त्यसको पालना गर्नुपर्छ । तर, त्यसो भएको देखिएन, यो चिन्ताको विषय हो । यसले प्रणालीलाई कमजोर बनाउँछ । राष्ट्रपतिको मर्यादा र त्यसको गरिमालाई घटाउँछ भन्ने मेरो भनाइ हो ।

मैले यही मान्यतामा उभिएर हिजो (शनिबार) स्थायी कमिटीको बैठकमा जब अध्यक्ष (प्रचण्ड) स्वयंले त्यसप्रति आपत्ति जनाएर आफ्नो विचार राख्नुभयो । मैले अध्यक्षको भनाइलाई समर्थन जनाएको हुँ ।’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...