सभामुख चयन प्रक्रिया एक हप्तापछि सर्यो
प्रतिनिधिसभाले सभामुख पाउन एक साता लाग्ने भएको छ । शुक्रबार शुरु हुने संसदको बैठक कम्तीमा एक हप्ता स्थगित गर्ने तयारी छ । यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया शुरु हुने नेकपा स्रोतले जनाएको छ ।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्नेसमेत तय गरेको छ । उक्त बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
शुक्रबार संसद बैठकमा अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिको पत्र, मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै चार जना पूर्वसांसदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।


