मैले काठमाडौंमा तीनवटा काम थालेको थिएँ डा. बाबुराम भट्टराई



 

शहरीकरणका दुईवटा प्रक्रिया हुन्छन् : एउटा– पुल फ्याक्टर (तान्ने कारकतत्व) । र, अर्को–पुस फ्याक्टर (घँचेट्ने कारकतत्व) ।

शहरीकरणको राम्रो विकास भयो र त्यहाँ रोजगारीका सम्भावनाहरु बढी भए भने पुल फ्याक्टरले गर्दा मानिसहरु तानिएर शहरमा आउँछन् । यसरी आएका मानिसहरुलाई शहरमा फ्याक्ट्रीहरु छन् भने तिनैले आवासको व्यवस्था गर्नैपर्ने हुन्छ, यसमा धेरै समस्या हुँदैन ।

अर्कोचाहिँ पुस फ्याक्टर हुन्छ । शहरीकरण हुनुभन्दा पनि गाउँले अर्थतन्त्र भत्किएर, त्यहाँ बस्न नसकेर मान्छेहरु जब शहरतिर शरणार्थीका रुपमा प्रवेश गर्छन्, यहाँ शहरमा पनि कुनै सुविधा हुँदैन । गाउँ त छाडेर आइहालियो । यस्तो अवस्थामा शहरमा अव्यवस्थित बसोबास र भुपडीबस्तीहरुको निर्माण हुने चलन विश्वभरि नै हुन्छ । हाम्रो काठमाडौं उपत्यकामा भएको पनि यही नै हो ।

मैले काठमाडौंमा थालेका तीन काम

जब मलाई प्रधानमन्त्री हुने अवसर प्राप्त भयो, म क्षेत्रीय विकास योजना र नगर विकास योजनाको विद्यार्थी हुनुको नाताले देशको राजधानी भनेको संसारले हेर्ने एउटा झ्याल हो, त्यसैले यहाँबाट नै देशको चित्र दिनुपर्छ भन्ने मान्यतासहित सुविचारित ढंगले नै मैले केही कामहरु सुरुवात गरें ।

त्योमध्येमा एउटा काठमाडौंको बाटो विस्तार योजना हो । त्यो त्यतिकै थालिएको थिएन । सुविचारित ढंगले एउटा योजना बनाएर उपत्यकाको नै विकास गर्नुपर्छ भनेर काठमाडौं उपत्यका विकास प्राधिकरण मेरै पालामा सुरु भयो ।

शहरी विकासका निम्ति भौतिक योजना मन्त्रालयमा एउटा सानो शाखा मात्र बनाएर हुँदैन, त्यसका लागि शहरी विकास मन्त्रालय नै बनाउनुपर्छ भनेर शहरी विकास मन्त्रालयको परिकल्पना मैले गरें ।

काठमाडौंलाई तत्काल के गर्ने त भन्दा ट्राफिक जामले हैरान भैरहेका जुन साँघुरा सडकहरु छन्, तिनलाई विस्तार गर्ने । विश्वभरि जुनसुकै शहरको पनि प्राण भनेको नदी हुन्छ । त्यसैले हाम्रा वागमती, विष्णुमती, मनहरालगायतका जुन नदीहरु ढलमा परिणत भएका छन्, यिनको व्यवस्थापन गरौं । त्यसका लागि नदीका किनारमा जसरी मान्छेहरु बस्न बाध्य भइरहेका छन्, तिनको बसोबासलाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचअन्तरगत समग्र काठमाडौं उपत्यकाको योजना पनि बनाउने ।

यो नभएसम्म तत्काल दुई/तीनवटा कामबाट सुरु गर्ने मेरो योजना थियो । एउटा सडक विस्तार, अर्को नदीहरुको सफाइ र अर्कोचाहिँ अव्यवस्थित ढंगले बसोबास गरेका आवासविहीनहरुको बसोबासको व्यवस्था गर्ने ।

यसरी मैले एउटा प्याकेजमै कामहरु अगाडि बढाएँ ।

सडक विस्तारको परिणाम मानिसहरुले हेरिराखेका छन्, त्यसले देशमै एउटा तरंग ल्यायो । वागमती नदी सफाइ फाट्टफुट चलिराखेको थियो । तर, प्रधानमन्त्री आफैं नदीमा पसेर सुरुवात गरियो । पछि लीलामणि पौडेलजी मुख्यसचिव भएका बेलामा त्यसलाई अगाडि बढाउनुभयो ।

सुकुम्बासी व्यवस्थापनको जहाँसम्म कुरा थियो, त्यसमा सबैभन्दा पहिलो त हामीलाई आँकडा चाहिन्छ । काठमाडौंमा अव्यवस्थित बसोबास गर्नेमान्छे कति छन् ? तीमध्ये वास्तविकरुपमै आवास नभएका मान्छे कति छन् ? कतिको चाहिँ आफ्नो आवास पनि छ, तर त्यहाँ जग्गा कब्जा गरेर भाडामा लगाउने पनि हुन्छन् भन्ने पनि सुनेको हुनाले मैले दुई/तीन महिनाजति लगाएर तथ्यांक संकलन गर्न लगाएँ ।

खासगरी वागमती, मनहरा र विष्णुमतिका किनारमा बसेकाहरुको तथ्यांक पनि आयो । त्यो तथ्यांक मन्त्रालयमै छ । यसरी तथ्यांक लिइसकेपछि के देखियो भने खास–खास ठाउँहरुमा धेरैजसोचाहिँ नक्कली सुकुम्बासीहरु रहेछन् । बहुमतचाहिँ नक्कली, अल्पमतचाहिँ सक्कली ।

यसरी तथ्यांक आइसकेपछि हामीले उनीहरुको पुनर्वासको योजना बनायौं । म आवास नागरिकको अधिकार हो भन्ने मान्यता राख्ने मान्छे हुँ । त्यसैले, हामीले इचंगुनारायणमा आवास निर्माणको काम सुरु गरिहाल्यौं । आवास निर्माण पनि सुरु भयो, सुकुम्बासीहरुको सर्वेक्षण पनि गर्दै गयौं । मैले पाएको जानकारीअनुसार करिब तीन महिनामा त्यो आवास पूरा हुन्छ भन्ने थियो ।

र, त्यहीबेला सरकार ढल्यो

तत्कालै सुकुम्बासीहरुको व्यवस्थापन कहाँ गर्ने त भन्दाखेरि चोभारमा जमिन खाली थियो । तत्काल तीन महिनाका लागि, तीन महिनापछि त इचंगुनारायणमा आवास बनिहाल्छ, वीचको दुई/तीन महिनाका लागि चोभारमा अस्थायी बासस्थान बनाऔं भनेर मैले लगाएँ ।

कर्मचारीहरुले गएर चोभारमा तयारी गर्दै थिए, त्यसपछि हाम्रा साथीहरुमै वाम संकीर्णता देखियो । त्यहाँका स्थानीयलाई उठाएर हामी यहाँ सुकुम्बासीलाई बस्न दिँदैनौं भनेर वामपन्थी पृष्ठभूमि भएकै, मुख्यतः एमालेका मान्छेहरु लागे ।

त्यसपछि अर्को विकल्प कहाँ छ भन्दा त्यसको पारिपट्टि सुन्दरीघाटमा पनि सरकारकै जमीन रहेछ । त्यहाँ अस्थायी बसोबास गराऔं भनेर सुरु गरियो । त्यहाँ फेरि रघु पन्त, पम्फा भुसाललगायतले धर्ना गर्न लगाएर बन्दै गरे । त्यहाँ पनि उनीहरुले रोके ।

त्यसपछि मैले टेकुनेर गोदामहरु भएको ठाउँमा अस्थायीरुपमा राखौं भनेर लगाउँदै थिएँ, त्यहीबेलामा मेरो नेतृत्वको सरकार गयो ।

मैले सुकुम्बासीहरुलाई जसरी व्यवस्थापन गर्न चाहेको थिएँ, म सरकारमा नरहे पनि इचंगुनारायणमा अहिले सुकुम्बासीहरुको आवास बनेको छ । दुईसय भन्दा बढी युनिट घरहरु त्यहाँ बनेका छन् । नदी किनारमा रहेका सक्कली सुकुम्बासीहरुलाई त्यहाँ राख्ने ठाउँ पुग्छ । उनीहरुलाई त्यहाँ सार्न सकिन्छ, यो नै काठमाडौंको समस्या समाधान हो ।

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ