गौरिकाले आमाबुबालाई सोधिन्, ‘हामी नेपाली होइनौँ र ?’
आफ्ना आमाबुबालाई एक दिन गौरिका सिंहले प्रश्न गरिन्, ‘के हामी नेपाली होइनौँ र ?’ छोरीको प्रश्नले आमा गरिमा राणा र बुबा पारस सिंहको मन चसक्क भयो । नहोस् पनि कसरी, सामाजिक सञ्जालमा गौरिका र उनको परिवारका विषयमा उठेका सवालबारे उनलाई अत्तोपत्तो नहोस् भन्ने चाहँदा चाहँदै थाहा भइसकेको थियो ।
यो प्रश्नले गौरिका र उनको परिवारको मनोविज्ञानमा परेको प्रभावबारे बुझ्न हामी पहिले गौरिको बेलायतको स्विमिङ यात्रा र नेपाली स्विमिङ क्षेत्रमा उनको प्रवेशबारे जानौँ ।
२०५९ सालमा काठमाडौँको पाटन अस्पतालमा गौरिकाको जन्म भयो । त्यसको दुई वर्षपछि पारस डाक्टरी तालिमको सिलसिलामा बेलायत हानिए । पछि त्यतै काम गर्न थाले । परिवार पनि सँगै हुने भइहाल्यो ।
गौरिका बेलवर्न स्कुलमा भर्ना भइन् । एउटा उमेर पार गरेपछि बेलायतमा सबैले अनिवार्य स्विमिङ गर्नुपर्छ । त्यसका लागि स्कुलले नै प्रोत्सहन गर्छ । प्रतियोगिताका लागि भन्दा पनि स्किल बढाउनका लागि ।
गौरिका त्यस्तै सात वर्षकी थिइन् होला, उनले बार्नेट कपथल क्लब ज्वइन् गरिन् । ‘स्विमिङ गर्दा स्वास्थ्य र फिट्नेस पनि राम्रो हुन्छ । यही सोचेर हामीले उसलाई स्विमिङ क्लबमा भर्ना गरिदियौँ’ बुबा पारस सुनाउँछन् ।
गौरिकाको सानैदेखि खेलकुदमा रुचि थियो । उनी फुटबल र बास्केटबल पनि खेल्थिन् । उनले खेल्ने सबैखाले खेलकुदमा उनको प्रस्तुति राम्रो थियो । तर, एउटा उमेर पार गर्दासम्म उनमा भविष्यमा यो या त्यो विधाको खेलाडी बन्छु भन्ने मनसाय कहिल्यै आएन ।
बेलायतमा स्विमिङ सिक्नेहरुको क्लबमा आन्तरिकरूपमा प्रतियोगितामार्फत प्रतिस्पर्धा हुने गर्छ । त्यहाँ राम्रो गर्नेहरु अन्तर क्लबस्तरीय प्रतियोगिताका लागि छनोट हुन्छन् । त्यसपछि काउन्टी, रिजनल हुँदै नेसनल च्याम्पियनसिपमा । हरेक उमेर समूहमा यस्ता प्रतियोगिता हुन्छन् । गौरिकाले यस्ता सबै प्रतियोगिता पार गरिसकेकी छन् ।
पारस भन्छन्, ‘उनी हरेक विधामा उत्कृष्ट १० भित्र नै पर्थिन् ।’ यसरी गौरिकाले बेलायतमा जितेका झन्डै चार सय मेडल उनीसँग अझै सुरक्षित छन् । त्यसमध्ये ७० वटा त स्वर्ण पदक नै ।
नेपालतर्फको यात्रा
नेपालमा गौरिकाको स्विमिङ यात्रा एउटा संयोगले जुराएको थियो । गौरिकाको परिवार छुट्टी मनाउन नेपाल आएको थियो । त्यतिबेला गौरिका ११ वर्षकी थिइन् । हुन त यसअघि पनि उनको परिवार बेलाबेला नेपाल आइरहन्थ्यो ।
‘हामी नेपाल कहिले जाने ?’ गौरिका आफ्ना आमाबुबालाई प्रश्न गरिरहन्थिन् । सानैदेखि उनको नेपालप्रतिको प्रेम गज्जबको थियो । बेलायतमा हुर्किएकी छोरीको राष्ट्र प्रेम देखेर पारस र गरिमा मख्ख पर्थे ।
कुरा पाँच वर्षअघिको हो । यस पटकको नेपाल यात्रा गौरिकाका लागि खास रह्यो । जुन यात्राले उनको भाग्यरेखा मात्र कोरिदिएन बाल मनोविज्ञानमा आफू नेपाली हुँ वा होइन भन्ने प्रश्नसमेत उब्जाइदियो ।
नेपालमा ‘ग्यालेक्सी कप पौडी प्रतियोगिता’ हुन लागेको थियो । त्यतिबेलासम्म स्विमिङ गौरिकाका लागि प्यासन बनिसकेको थियो । प्रतियोगिताबारे थाहा पाएपछि गौरिकाले बुबा पारससँग भनिन्, ‘ड्याडी म पनि भाग लिन्छु नि ।’
पासरले गौरिकाको चाहलाई नकार्न सकेनन् । अझ बेलायतका ठूला प्रतियोगिता जितेर राष्ट्रिय स्तरमा परिचय बनाउँदै गरेकी छोरीले आफ्नै देशमा भइरहेको प्रतियोगितामा भाग लिन्छु भनेको सुन्दा उनी झन् उत्साहित भए ।
पारसले गौरिकाको नाम दर्ता गराइदिए । उनले प्रतियोगितामा सहभागिता जनाइन् । ४ वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउँदै सातवटा स्वर्ण जितिन् । अर्थात, ११ वर्षीया गौरिका नेपाली मिडियाको मुख्य हेडलाइन बनिन् ।
रियो ओलम्पिक र गौरिकाको राष्ट्रियतामाथि प्रश्न
सन् २०१६ को रियो आलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै गौरिकालाई पठाउने भएपछि गौरिकाको राष्ट्रियतामाथि प्रश्न उठाइयो । पौडी सङ्घकै एक गुटले उनको खेल जीवनलाई समाप्त पार्ने या भनौँ नेपालबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नदिने उद्देश्यले सङ्घका अध्यक्षसामु एउटा ज्ञापनपत्र नै पेश गर्यो ।
जसमा उल्लेख थियो, ‘विदेश बस्ने नेपाली खेलाडीका लागि छुट्टै व्यवस्था हुनुपर्ने, उसले बनाएको रेकर्ड राष्ट्रिय रेकर्डमा समावेश गर्न नपाइने, राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि दुई वर्ष नेपालमै बसेको हुनुपर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएपछि नेपालमै बसेर तालिम लिनुपर्ने ।’ यी व्यवस्थालाई पौडी सङ्घको विधानमा राख्न दबाब दिइयो ।
यस्ता कुराले छोरीलाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएर देशका लागि केही योगदान दिने अवसर सिर्जना गर्ने सोच बनाएका पारस र गरिमाको मन चसक्क भयो ।