यसरी मिल्यो कांग्रेसको भागबण्डा, कसको भागमा के पर्यो
नेपाली कांग्रेसभित्रको विवाद भागबण्डामा गएर समाधान हुने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औँ महाधिवेशनको कार्यतालिकाको माग उठाएपनि पार्टीमा भाग खोजेको सभापति शेरबहादुर देउवा निकटका नेताहरूले आरोप लगाएका छन् ।
देउवाले पार्टीभित्र पेलेर लैजान खोजेको भन्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ । देउवा समूहले पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई पनि भागबण्डा दिएपछि विवाद सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् ।
पौडेल समूहले बुधबार केन्द्रीय कार्यसमितिको बैठक बस्नु अगाडि गुटको बैठक बोलाएको छ । देउवा समूहले पनि गुटभित्र छलफल गरेर बुधबारको बैठकमा कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउनेछ ।
बुधबारको केन्द्रीय कार्यसमिति बैठकलाई पौडेल समूहले बहिस्कार गर्यो भने बिहीबारको बैठकमा पेश भएका एजेण्डा पारित गरेर अर्को बैठकबाट १४औँ महाविधेशनको कार्यतालिका ल्याउने तयारी गरेको छ ।
पौडेल समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि देउवाले ०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन लागेको नेताहरूको भनाइ छ ।
मंगलबार नेता प्रकाशमान सिंहको घरमा दुईपक्षीय वार्ता टोलीबीच छलफल भएको थियो । मंगलबार नै सिंहले नेता कृष्णप्रसाद सिटौलासँग पनि आफ्नै निवासमा छलफल गरेका थिए ।
पौडेल समूहले मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन माग गरेको छ ।सदस्यताको विषय टुंग्याएर फागुनमा महाधिवेशन गर्न तयार भए मंसिरको अडानबाट पछाडि हट्ने तयारीमा पौडेल समूह छ ।
०७२ को १३औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पुग्दै छ । नियमित चार वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ । विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्था विधानले गरेको छ ।
नेविसंघ र तरुण दलको नेतृत्व चयन साथै विभाग गठनको विषय पनि नेपाली कांग्रेसमा समस्या बनेको छ । संस्थापनले विधानमा व्यवस्था भएको २८ को सट्टा ४१ विभाग प्रस्ताव गरेपछि पौडेल र सिटौला पक्ष असन्तुष्ट बनेका हुन् । उनीहरूले विधानअनुसार नै २८ वटा मात्रै विभाग गठन गर्नुपर्ने लबिङ गरेका छन् ।
संख्या थप गर्दा विभागीय संयोजक एवं सदस्यमा ६० र ४० प्रतिशतका आधारमा भागबन्डा हुनुपर्ने अडान पौडेल समूहको माग छ ।
पौडेल पक्षले नेविसंघ र तरुण दल दुवैमा नेतृत्व दाबी गरेको छ । नियमित समयमा महाधिवेशन गर्न संस्थापनपक्षीय नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै सो समूहका नेताहरूले नेतृत्व नै दाबी गरेका हुन् । पौडेल पक्षले आफूनिकटका नेविसंघ र तरुण दलका नेताहरूसँग मंगलबार छुट्टाछुट्टै छलफल गरेको थियो ।
नेविसंघका नेताहरूसँगको छलफलमा नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, बद्री पाण्डे, जीवन परियार, कल्याण गुरुङ र महेन्द्र शर्मासहितका नेता सहभागी थिए ।
नेविसंघका तर्फबाट मनोजमणि आचार्य, दीपक भट्टराई, हिमाल श्रेष्ठ, प्रकाश रानामगर, प्रतिमा गौतम, प्रमोदहरि गुरागाईं, उर्मिला थपलिया, नीलकण्ठ रिजाल, सागर परियार, नवीन राई, ललिता सुनुवार, साधना घिमिरे, गजेन्द्र कार्कीसहितका नेताहरू सहभागी थिए ।


