जनवाद खारेज गर्न वामदेवको प्रस्ताव, प्रचण्ड तनावमा
नेकपाको जारी स्थायी समिति बैठकमा नेता वामदेव गौतमले पार्टीको वैचारिक राजनीतिक कार्यदिशामै हलचल पैदा हुनेगरी अनौठो प्रस्ताव गरेका छन्– जनताको जनवादको खारेज, समाजवाद अबको कार्यदिशा । एकीकरणपछि नेकपाले जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई आगामी महाधिवेशनमा छलफल गर्नेगरी थाँती राखेर समाजवादउन्मुख जनताको जनवादलाई पार्टीको कार्यदिशा बनाउँदै विधानको प्रस्तावनामा पनि समावेश गरेको छ ।
तर, त्यो कार्यदिशा नै खारेज हुनेगरी गौतमले समाजवादलाई नै किटानीका साथ कार्यदिशा बनाएर अघि जानुपर्ने प्रस्ताव गरेपछि खैलाबैला मच्चिएको छ । यद्यपि, उनले त्यसलाई फरक मतका रूपमा भन्दा पनि सुझावका रूपमा बैठकमा राखेकाले गम्भीरतापूर्वक हेरिएको छैन । तर, पार्टीले अवलम्बन गरिरहेको वैचारिक राजनीतिक कार्यदिशा नै बदल्नुपर्ने उनको प्रस्तावलाई आगामी महाधिवेशनमा छुट्टै समूह बनाएर नेतृत्व दाबी गर्न च्याँखे दाउ थाप्न खोजेको अर्थमा टिप्पणी गर्न खोजिएको छ ।
साबिक एमालेले जनताको बहुदलीय जनवादलाई नै पार्टी सिद्धान्तका रूपमा अवलम्बन गर्दै आएको छ । जबजले पुँजीवादी जनवादी क्रान्तिपछि पनि समाजवादमा जान बिभिन्न चरणहरू पार गर्नुपर्ने बताउँदै आएको छ । सामन्तवादको अवशेषको उन्मूलन, उपरि संरचनाहरूमा परिवर्तन गर्दै जनवादी व्यवस्थाको सुदृढीकरण र बहुदलीय प्रतिस्पर्धा गर्दै समाजवादमा जाने किटानी गरेको थियो ।
ती सबै चरण नै पार नगर्दै जबजको व्याख्याकारमध्येका एक गौतमले कसरी समाजवाद मात्रै अहिलेकै कार्यदिशा र कार्यभार बन्यो सार्बजनिक रूपमा सैद्दान्तिक हिसाबले पुष्टि गरेका छैनन् । ‘पार्टीको विधान र राजनीतिक प्रतिवेदनको थप ब्याख्या आवश्यक छ । पार्टी एकतापछिको राजनीतिक प्रतिवेदनमा समाजवाद र जनताको जनवादको व्याख्या प्रस्ट भएको छैन । हामी समाजवादतिरै जाने हो त्यसैले अब जनताको जनवाद भनिराख्नै पर्दैन । यसलाई थप प्रष्ट ब्याख्या गर्नुपर्छ,’ सोमबारको बैठकमा गौतमले भनेका थिए ।
पार्टीभित्र जहिले पनि क्रान्तिकारी आवरण देखाउने गौतमले २०५४ सालमा प्रगतिशील सुधारको कार्यनीति अवलम्बन गर्नुपर्ने भन्दै पार्टी फुटाएका थिए । शक्ति सञ्चयको कार्यनीति अवलम्बन गर्नुपर्ने कार्यदिशा नेपालगन्जको छैटौं महाधिवेशनबाट पारित भएपछि गौतम तत्कालीन एमालेबाट बाहिरिएका थिए । गौतमले बेलाबेला हलचल पैदा गर्नेगरी पार्टीभित्र आफ्ना कुराहरू राख्दै आएका छन् ।
अघिल्लो पुसमा केपी ओली सरकार सञ्चालनमा असफल भइसकेको भन्दै लिखित मत व्यक्त गरेका गौतम अहिले भने त्यसबारे मौन छन् । यद्यपि, वर्तमान संविधानमा प्रतिनिधिसभा निर्वाचन हारेको व्यक्ति मन्त्रीसमेत बन्न नपाउने व्यवस्था रहेकाले त्यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने बाटो खुलाउनुपर्ने भन्दै गौतमले सरकारी समाचार संस्था राससलाई अन्तर्वार्ता दिएका छन् । उनले चुनाव हारे पनि प्रधानमन्त्री बन्ने आफ्नो चाहना भने जीवितै रहेको खुलेर बताएका छन् ।
अस्थिर चरित्रका पात्रका रूपमा चिनिँदै आएका गौतम पार्टी योजना र संगठन परिचालनमा सशक्त कमान्डरका रूपमा परिचित छन् । तर, सैद्धान्तिक, वैचारिक मामिलामा मात्र होइन, स्वार्थपूर्तिका लागि जुनसुकै बेला जेसुकै सम्झौता गर्न पनि तयार रहेका कारण उनको प्रमुख नेतृत्वबारे भने सिंगो पार्टी पंक्ति आश्वस्त छैन । त्यसैले, नेकपा पंक्तिमा मदन भण्डारीले वामदेवका बारेमा गरेको एउटा टिप्पणी सधैं चर्चित छ । वामदेवबिनाको पार्टी लुलो हुन्छ तर वामदेवलाई मुख्य भूमिका दियो भने पार्टी धुलो हुन्छ । पार्टी उपाध्यक्षमा प्रस्तावित गौतमले कार्यदिशा नै फेर्नुपर्ने प्रस्तावको औचित्यलाई कति पुष्टि गरेर सफल हुन्छन्, त्यो भने प्रतीक्षाकै विषय छ ।


