शरीरबाट पैसाको बिटो निकाल्दै उनले भनिन् सडकमा सुत्यो भन्दैमा हेप्नी…



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यकालाई बेसहारा र पेसेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यस आसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरूलाई उठाउन मानवसेवा आश्रम, काठमाडौं महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पेटी, कोही सटरलगायतको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए ।

 

मित्रपार्कनजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनले मानिनन् । जसरी पनि लैजाने भनेपछि उनी जंगिइन् । ‘के मलाई सडकमा सुतेको छ भनेर हेप्न पाइन्छ, तिमीहरूभन्दा म के कम, मेरो घर छ, परिवार छ, म धनी परिवारकै मान्छे हुँ,’ शरीरबाट पैसाको बिटो निकाल्दै उनले भनिन् ।

 

प्रहरी देखेपछि उनलाई डर लागेर होला त्यसपछि रुन थालिन् । ‘भोलिदेखि सडकमा बस्दिनँ, आज आफन्तकोमा जान्छु’ भनेर ढिपी गरे पनि उनलाई उद्धार गरेर लगियो । गौशाला चोकमा ४९ वर्षीय जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए । मजदुरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेनन् । आफन्त र साथीभाइ भएकाले आज यहाँ सुते पनि भोलिदेखि नसुत्ने अडान उनले पनि लिए । आश्रमका अभियानकर्मी र प्रहरी मिलेर उठाउन खोजेपछि उनले ‘मानवीयता नभएको मान्छे’ भन्दै अंग्रेजीमा गाली गरे ।

 

उद्धारका क्रममा कोही मजदुरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ्ठ भएर सुतिरहेको पाइए । चाबहिल नजिकिएको पुलमुनि धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ््यान भेटियो । राति १० बजे त्यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एकजना सुतिरहेका थिए । पर्खालको भित्तो मुस्किलले चढेर जानुपर्ने पुलमुनि सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्मे नै प¥यो । सोमबार राति ८ देखि १०ः३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तविक बेसहारा नभेटिए पनि दिनभर माग्ने पेसा अपनाएका, मजदुरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भई सडकमा बसेका धेरै भेटिए । सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्थायी आवास केन्द्रमा लगिएको छ । यसअघि यसरी नै ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश संयोजक सुमन बर्ताैलाले जानकारी दिए ।

 

केही दिनअघि मात्रै थापाथली पुलमुनि बागमती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो । काठमाडौंमा बेवारिसे मान्छे न्यून र पेसेवर मगन्ते तथा मजदुरी गरेर मदिरा खाई सडकमा सुत्ने धेरै भेटिएको छ । गत मंसिर २९ गते काठमाडौं महानगर, मानवसेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएर बेसहाराको उद्धार गरी संरक्षण र मगन्तेहरूको व्यवस्थापन अभियान थालिएको छ । अस्थायी आवास केन्द्रमा पु¥याउने छनोट गरी बेसहारालाई आश्रममा लगिने र अन्यलाई घरपरिवार पत्ता लगाएर सडकमा नआउने सर्तमा छाड्ने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

 

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

 

त्यसलाई कार्यान्वयनको चरणमा अहिले उद्धार अभियान चलाइएको हो । तीन महिना उक्त अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा राति सडकमा सुत्नेहरूको उद्धार शुरु भएको तथा त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

 

काठमाडौं महानगरले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेसेवर मगन्ते र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र (स्क्रिनिङ सेन्टर) बनाएको हो । यसअघि आश्रमकै पहलमा पहिलोपटक ०७४ साल चैत ५ गते पृथ्वीनारायण नगरपालिका र चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो । ०७४ फागुन ४ गते मकवानपुर जिल्ला र ०७५ कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । ०६९ मा स्थापना भई सडकमा रहेका असहाय र बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनः मिलन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...