पुराना पार्टी हतियारबिनाका फौजी हुन्



हाम्रो इकोनोमि

 

नेपाली राजनीतिमा अलि बढी आशा गरिएका, वैचारिक एवं भिन्नमत राख्न सक्ने नेताका रुपमा चिनिन्छन्, पर्यटन मन्त्री योगेश भट्टराई र कांग्रेस नेता गगन थापा । अर्कातिर सञ्चार कर्म छोडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले पनि पुराना राजनीतिक दलले नेपालको निकास दिन नसक्ने बताउँदै साझा पार्टीको राजनीति गरिरहेका छन् ।

यी तीनैजना व्यक्तित्व नेपाली राजनीतिमा अबको नेतृत्व कस्तो ? भन्ने बहसमा जुटे । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन पोखराको रमणीय फेवा किनारमा यी तीन नेतासँग पत्रकार उमेश चौहानले बहस चलाए ।

कांग्रेस नेता गगन र नेकपा नेतासमेत रहेका योगेशले राजनीतिमा चमत्कार गर्न सम्भव नभए पनि कार्यशैली र कामबाट भिन्न हुने प्रयास गरेको बताए । शासकीय पदमा पुग्दैमा सबै कुरा परिवर्तन गर्न सक्ने प्रणाली अहिले नरहेको तर भिन्न हुने प्रयत्न भने भइरहेकोमा दुबैजना सहमत छन् ।

वैकल्पिक राजनीतिको वकालत गरिरहेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्र अपवादबाहेक पुराना पार्टीका सबै नेताहरुको कार्यशैलीमा समस्या रहेको बताउँछन् । मिश्र भन्छन्, ‘पुरानो राजनीतिक दल हतियारबिनाका फौजी हुन् ।’

पुराना पार्टीले गलत बाटो हिँडिरहेको मिश्रले बताएपछि मन्त्री योगेशले कडा जवाफ दिए । उनले नेपाल कम्युनिस्ट पार्टी र कांग्रेसजस्ता पार्टीले राजनीतिक डोजर लगाएर मैदान नबनाएको भए रवीन्द्र मिश्रहरु बीबीसीमा समाचार पढिरहेकै हुने भन्दै कटाक्ष गरे ।

‘नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेसजस्ता राजनीतिक दलले चलाएको डोजरबाट मैदान सम्याउन नसकेको भए, लोकतन्त्रको नयाँ मैदान बनाउन नसकेको भए गगन थापा र म रत्नपार्कमा मसाल जुलुस गरिरहेका हुन्थ्यौं र रवीन्द्र मिश्रजीले बीबीसीमा हाम्रो समाचार पढिराखेको हुनुहुन्थ्यो,’ योगेशले भने, ‘आज हामीले चलाएको राजनीतिको हतियारबाट बनिएको मैदानमा हाम्रो हतियारमा खिया लागेको छ भन्न पाउनुहुन्छ ।’

आवाज नसुनिने, प्रश्न नगर्ने निर्जिव बन्दै गएको समाजमा राजनीतिक चेतनाको आफैं छाल निर्माण गर्ने या अरुले नै निर्माण गरेको छाल गनेर बस्ने ? फेवाको छालसँग राजनीतिलाई जोड्दै उमेश चौहानले बहसमा प्रश्नको उठान गरेका थिए ।

जसरी प्रश्न सोधिनुपथ्र्यो, जसरी आवाज उठाउनुपथ्र्यो, त्यसरी नउठेको भए पनि समाज त्यति निर्जिव भइनसकेको कांग्रेस नेता गगनको भनाइ थियो । ‘प्रत्येक दिन लाखौं मानिसले सामाजिक सञ्जालमा प्रश्न गर्छन् । आवाज र कोलाहलबीचको भिन्नतामा हामी कतै मिसिँदै गयौं होला पनि,’ गगनले भने, ‘भर्खर हामीले जुन परिवर्तन गरेर यहाँसम्म आएका छौं, त्यहाँ हाम्रो भूमिका थियो कि थिएन ? हस्तक्षेप गरेर आएका हौं कि होइनौं ?’

तर, जति साहस गर्नुपर्ने हो, त्यति गर्न चुकिरहेको, हस्तक्षेप र प्रश्न गर्न डरायौं कि भन्ने आफूलाई पनि लागिरहेको गगनले स्वीकार गरे ।

अहिलेको पार्टी र सरकारको काम एजेन्डामा जोड्न किन नसक्नुका कारणबारे नेकपा नेता तथा पर्यटनमन्त्री भट्टराईले खुलाए । हल्ला, कोलाहल सिर्जना हुनु नेपाली समाजमा देखिएका समष्टिगत प्रवृत्तिका रुपमा देखिएको भट्टराईको भनाइ थियो । लोकतन्त्रले कुनै पनि छाललाई सही बाटो दिने उनले बताए ।

पत्रकार चौहानले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले राजनीतिक दलमा एकखालको हल्ला र डर सिर्जना भएकोप्रति इंगित गरेका थिए । त्यसको जवाफ दिँदै भट्टराई भने पूर्वशासक ज्ञानेन्द्र जुन गतिविधि बाहिर देखिएको भए पनि त्यो आपत्तिजनक नरहेकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।

‘पूर्वराजाको गतिविधि त्यति आपत्तिजनक कुरा होइन । पूर्वराजाकै कारण खतरामा पर्ने लोकतन्त्र र गणतन्त्र हामीले ल्याएका होइनौं,’ भट्टराईले भने, ‘लोकतन्त्रको जग बलियो छ । सवाल त्यसलाई सहीरुपमा देखाउनुपर्ने छ ।’

जनताका आकांक्षा र प्रश्नले नेतृत्व हतोत्साही हुनुपर्ने अवस्था नरहेको भट्टराईले बताए । अहिले नेपालमा ठूलो हिस्सा युवाले ओगटेको र युवाले अवसर नपाउँदा एकखालको छटपटी देखिएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...