नेकपा स्थायी समिति बैठक बस्दै



हाम्रो इकोनोमि

 

सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आइतबार बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिअगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो। मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो। अध्यक्ष दाहालले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेन्डा र दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले बतायो। एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ। स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन्।

‘एक वर्षबीचमा पार्टीमा भएका कामका सन्दर्भमा पार्टीले जे अनुभव व्यहोरेको छ, त्यसको समीक्षा गर्ने र कमीकमजोरी सुधारेर लैजाने विषयमा स्थायी समिति बैठक केन्द्रित हुनुपर्छ,’ स्थायी समिति सदस्य गोकर्ण विष्टले अन्नपूर्णसँग भने, ‘त्यसका लागि सचिवालयले तय गरेका दुई दिन अपर्याप्त हुन सक्छ। समय लिएर भए पनि छलफल गर्नुपर्छ।’

अर्का स्थायी समिति सदस्य मणि थापाले लामो अन्तरालमा स्थायी समिति बैठक बोलाएर पार्टी परिचालनको सन्देश दिन खोजिएको बताए। ‘एक वर्षको अन्तरालमा बल्ल स्थायी समिति बैठक बोलाएर पार्टी परिचालनको सन्देश दिन खोजिएको छ,’ उनले भने, ‘पार्टी सचिवालयले कस्ता एजेन्डा ल्याउँछ, त्यस आधारमा समयसीमा निक्र्यौल हुन सक्ला।’

स्थायी समिति बैठकमा सचिवालय विस्तारले पनि प्रवेश पाउने देखिएको छ। वरिष्ठ नेता माधव नेपालले यसअघि नै सचिवालयमा तत्कालीन एमालेतर्फका तीन नेतालाई थप गर्न प्रस्ताव गरेका थिए। तत्कालीन एमालेमा उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा लैजान नेताहरूले कुरा उठाउने तयारी गरेका छन्। ‘तत्कालीन एमाले तर्फका एक जना उपाध्यक्ष राष्ट्रपति, अर्का उपाध्यक्ष फेरि पनि उपाध्यक्ष अनि हामी तीन जना सचिवालयमा समेत नपर्ने विषय निरन्तर उठिरहन्छ,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने।

उपत्यका विशेष प्रदेश १५१ सदस्यीय

नेकपाले काठमाडौं उपत्यकामा १५१ सदस्यीय गैरभौगोलिक विशेष प्रदेश किमिटी गठन गर्दैछ। स्थायी समिति सदस्य लीलामणि पोखरेल इन्चार्ज, भानुभक्त ढकाल र अरुण नेपाल सहइन्चार्ज, राजन भट्टराई अध्यक्ष र लेखनाथ न्यौपाने सचिव रहेको पदाधिकारी चयन यसअघि नै गरिसकेको छ। विशेष प्रदेश कमिटीमा रहने नेताहरुको नाम शनिबार अध्यक्ष राजन भट्टराईले महासचिव विष्णु पौडेललाई बुझाएका छन्।

तत्कालीन एमाले तर्फका ८५ र माओवादी केन्द्र तर्फका ६६ जना नेता रहेको कमिटीको नाम बुझाइएको भट्टराईले जनाएका छन्। सचिवालय बैठकले कमिटीमा रहने नेताहरूको नाममा निर्णय लिएपछि यो निर्णय सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...