काङ्ग्रेसमा देउवा पुनः सभापति हुने, रामचन्द्र यसरी भए फेल



हाम्रो इकोनोमि

 

विचार, दर्शन र सिद्धान्त रित्तिएको नेपाली काङ्ग्रेस पार्टीमा पछिल्लो समय उत्पन्न परिस्थितिले उक्त पार्टीको सभापतिमा अर्को कार्यकालका निमित्त पनि शेरबहादुर देउवाकै चयन हुन सक्ने सम्भावना बढाएको छ । देउवासँग असहमत खेमाका नेताबीच परस्पर अविश्वास, प्रतिस्पर्धा र अनेकताले देउवालाई पुनः सभापति बन्ने स्थिति निर्माण गरिदिएको हो । २०७२ सालको फागुनमा काङ्ग्रेसको तेह्रौँ महाधिवेशन भएको अब चार वर्ष पूरा हुँदै छ र, आगामी वर्ष चौधौँ महाधिवेशन हुने निश्चित छ ।

 

देउवाको नेतृत्वमा काङ्ग्रेसले गति लिने विश्वास काङ्ग्रेसका अधिकांश कार्यकर्ता गर्दैनन्, तर देउवासँग असहमत रहेकाहरू अहिलेसम्म देउवाको एकल विकल्प दिन सक्ने स्थितिमा छैनन् । तेह्रौँ महाधिवेशनमा देउवाविरुद्ध सभापतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई पुनः उम्मेदवार बनाउने मानसिकतामा कोइराला पक्ष छैन । कोइराला पक्षमा सबैभन्दा सक्रियता डा. शेखर कोइरालाले देखाउँदै आउनुभएको छ र, उहाँले चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरिरहनुभएको छ । तर, डा. शशांक कोइराला शेखरलाई समर्थन गर्ने मानसिकतामा अहिलेसम्म हुनुहुन्न । उहाँले पनि सभापतिमा आफूले उम्मेदवारी दिँदा मात्र देउवा परास्त हुने ठान्नुहुन्छ ।

 

दुवै कोइराला रामचन्द्र पौडेललाई अघि सार्ने पक्षमा छैनन् र पौडेल पनि कोइरालालाई अघि लगाएर आफू पछाडि बस्ने मानसिकतामा देखिनुहुन्न । कोइराला क्याम्पमा डा. शेखर कोइराला, डा. शशांक कोइराला र रामचन्द्र पौडेलमध्ये कोही पनि कसैलाई छोड्ने मानसिकतामा हुनुहुन्न । सभापति बन्न योग्यता पुगेका नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहले अहिलेसम्म आफ्नो भावी भूमिका स्पष्ट गर्नुभएको छैन । यसअघि नै सभापतिको उम्मेदवार बनिसक्नुभएका कृष्णप्रसाद सिटौलाले लिने निर्णयबारे स्पष्ट हुन पनि बाँकी नै छ । यसरी देउवाको विपक्षमा सभापति दाबी गर्न सक्ने नेताहरूको सङ्ख्या सात पुगेको छ । सातमध्ये डा. शेखर, डा. शशांक र रामचन्द्रबीच निकै ठूलो टक्करको स्थिति पैदा भएको छ ।

 

उता शेरबहादुर देउवाको क्याम्पमा भने देउवा नै ‘अल इन अल’ छन् । उक्त क्याम्पका कुनै पनि नेताहरू देउवालाई चुनौती दिने मानसिकता र हैसियतमा छैनन् । एउटा विमलेन्द्र निधिले मात्र यता आरजु र उता दिल्लीलाई प्रयोग गरेर आफू सभापति बन्ने खेल शुरु गर्नुभएको पाइएको छ । यद्यपि उहाँ पनि देउवालाई सीधै चुनौती दिन सक्ने हैसियतमा चाहिँ हुनुहुन्न । भित्रभित्रै वातावरण अनुकूल बनाएर देउवाको समर्थनमा आफू पार्टी सभापति हुने प्रपञ्च विमलेन्द्रद्वारा रचिएको देखिन्छ । हाल उपसभापतिको हैसियतमा काङ्ग्रेस ‘प्रशिक्षण’ प्रमुख रहनुभएका निधिले देउवापत्नी आरजुलाई आफ्नो ‘उपप्रमुख’ बनाउनुभएको छ । भविष्यमा आरजु (भाउज्यू) लाई पार्टी प्रमुख र प्रधानमन्त्री बनाउन आफू ‘लालबहादुर शास्त्री’ बन्न तयार भएको भन्ने ‘इम्प्रेसन’ पनि निधिले दिन थाल्नुभएको छ ।

 

यसरी पार्टी नेतृत्व कब्जा गर्ने ‘कायस्थ रणनीति’ बनाउनुभएको भए पनि उहाँ आफ्नो मिसनमा पूर्ण सफल हुने सम्भावनाचाहिँ देखिएको छैन । देउवालाई नेता मान्ने नेताहरू देउवाले नै भनेपछि विमलेन्द्रलाई नेता मान्ने पक्षमा छैनन् र आरजुलाई पार्टीको उच्च जिम्मेवारी दिने या देउवाको उत्तराधिकारी स्वीकार गर्ने स्थिति पनि काङ्ग्रेसभित्र देखिँदैन । हाल देउवाको टिममा रहेका महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, डा. नारायण खड्का, बालकृष्ण खाण, विश्वप्रकाश शर्मा, ज्ञानेन्द्रबहादुर कार्कीलगायत कसैले पनि विमलेन्द्रलाई ‘टिम लिडर’को रूपमा स्वीकार गर्ने स्थिति छैन । त्यसैले अन्ततः शेरबहादुर स्वयम् एकपटक फेरि मैदानमा उत्रने सम्भावना बढेको छ । यसरी देउवा एकातिरबाट अघिसर्दा कोइराला क्याम्पबाट भने अनेक नेताहरू मैदानमा उत्रिने तयारी गर्दै छन् । कोइराला पक्षको फाटो नै देउवाका निमित ‘सञ्जीवनी बुटी’ बन्ने पक्का हुँदै गएको छ ।

 

कोइराला क्याम्पबाट डा. शेखर सर्वाधिक रुचाइएका र सक्रिय व्यक्ति भए पनि उहाँलाई उम्मेदवार स्वीकार गर्न रामचन्द्र र शशांकसमेत तयार नभएकोले देउवाको मैदान खुला हुँदै गएको हो । डा. शेखर पछि हट्दा उहाँको राजनीतिक भविष्य दाउमा लाग्ने भएकोले उहाँ पछि हट्न सक्ने–पाउने सुविधामा हुनुहुन्न । त्यस्तो स्थितिमा देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति र शशांकलाई प्रधानमन्त्री बनाइदिने उधारो विश्वास दिलाएर आफ्नो पक्षमा मिलाउन सक्ने सम्भावना पनि छ । देउवा उधारो वाचा गर्ने र आफ्नो काम पट्याएपछि भुल्ने मामिलामा माहिर मानिनुहुन्छ । रामचन्द्र र शशांकचाहिँ उधारोमै भए पनि पद प्राप्त हुने भएपछि लोभिनेमध्ये पर्नुुहुन्छ । त्यसैले आगामी आधा दशकसम्म काङ्ग्रेस देउवालाई व्यहोर्न बाध्य हुने सङ्केतहरू देखा पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...