७२ वर्षे पठाओ ‘राइडर’



 

हेलो ! बुवा नमस्ते ।

मंगलमान महर्जनको नम्बर डायल गर्दा दिनको त्यस्तै दुई बजेको हुँदो हो ।

मंगलमान बोले, ‘कहाँ हुनुहुन्छ ?’

‘पठाओ चढ्नका लागि होइन बुवा । बसेर कुरा गरौँ भनेर फोन गरेको ।’

मंंगलमान बोल्छन् : ‘ट्रिपमा छु । पाँच मिनेटमा कालिकास्थान पुग्छु । व्यस्त हुन्छु, कसरी कुरा गर्नु ?’

हामीले भन्यौं, ‘केही छैन, हामी पनि तपाईंकै ‘पठाओ’ चढौला नि !’

०००

मंगलमान पाँच मिनेटमै आइसकेका रहेछन् । हामी १० मिनेटमा पुग्दा चुरोट पिउँदै थिए ।

कपाल फुलिसकेको छ । तर, मंगलमानलाई जवान देखिन मन लागेर होला, कालो हालेका छन् । हेल्मेटले कपाल अस्तव्यस्त । दाँत एउटै सद्दे छैन ।

अनुहारमा भने चमक छ ।

‘कति वर्ष हुनुभयो बुवा ?’, प्रश्नै गर्न त गएका थियौं ।

‘पाँच साल मंसिरले हिसाब गर्नुस् न !’, वर्ष निकाल्ने जिम्मा मंगलमानले हामीलाई नै छोडिदिए ।

फेरि मोबाइलमा घण्टी ! उनले हतार–हतार रातो कटाइजको पाइन्टबाट स्मार्ट फोन झिक्दै भने, ‘उ म्यासेज आइहाल्यो ।’

मंगलमान ठूलो फ्रेमको पावरवाला चश्मा मिलाउँदै गुगल म्यापमा लोकेसन खोज्न थाले । उनले पठाओ एपमा आएको नम्बर डायल गरे, ‘कहाँ हुनुहुन्छ ?’

उता कुरा सकिएपछि मैले कुरा शुरु गरेँ, ‘एप र स्मार्ट फोन चलाउनचाहिँ कसले सिकायो ?’

उनले रातो हेल्मेट समाउँदै भने, ‘पहिला त नम्बर थिच्ने मोवाइल थियो । यसमा त फोन उठाउन पनि जान्ने थिइनँ । नातिले सहयोग गर्‍यो । आफूसँग सामान भएपछि जानिँदोरहेछ । हा हा हा… ।’

मंगलमानले सल्काइरहेको चुरोट फ्याँके र रातै रङको साइन मोटरसाइकल स्टार्ट गरे । अनि हुइँकिए ।

वाह ! ७२ वर्षको उमेरमा पनि कस्तो उर्जा ! चिया पसलमा गफ लडाएर बस्ने, बेरोजगार हुनुमा देशलाई सराप्ने युवाहरुका लागि चुनौती हुन् उनी ।

हामी पनि मंगलमानकै पछिपछि लाग्यौं । ट्रिनिटी कलेजको गेटअघि उनको मोटरसाइकल रोकियो । गेटमै थिइन् एक युवती । रोकेको देख्नेवित्तिकै उनी मोटरसाइकलमा चढिन् ।

मंगलमान उसै गरी हुँइकिए । हामीले उनलाई पछ्यायौं ।

डिल्लीबजारमा जाम, ज्ञानेश्वरमा, नक्सालमा जाम । महाराजगञ्जमा जाम । हामी पनि घचक–घचक जाममा । काठमाडौंको अर्को नाम जाममाण्डु हो ।

तर, मंगलमानलाई अर्को जाममा फस्नु छैन । महाराजगञ्जबाट राष्ट्रपति भवनलाई दाहिने पार्दै अघि बढे । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताललाई देब्रे पार्दै सानो बाटोतर्फ ह्यण्डल सोझ्याए । बडो सावधानीपूर्वक निस्किए सामाखुशी चोक ।

चोकबाट सिधै अघि गल्लीमा छिरे र एउटा घरअगाडि रोकिए । उनले मोवाइल झिके र भने, ‘हेर्नुस् त ११० रुपैयाँ ।’

पठाओको फाइदा यही छ कि ग्राहकलाई बार्गेनिङ गर्ने झण्झट हुँदैन । ट्याक्सी पनि मिटरमै हिँडिदिए यात्रुलाई फसिन्छ कि भन्ने झण्झट नै हुँदैनथ्यो ।

मंगलमानले एप बन्द गर्न थाले ।

फेरि किन नि !

‘चार बजेसम्म मात्र ट्रिप गर्छु’, उनले मोवाइल गोजीमा राखे । र, रित्तै घर फर्किए ।

लाग्यो, स्वनियममा पक्का छन् मंगलमान ।

उनकै भाषामा भन्दा ‘ट्रिप नलिई’ खाली नै मंगलमान फेरि कालिकास्थान आइपुगे । कालिकास्थानको पिपलबोट घुमेर घट्टेकुलोतर्फ बढे । गल्ली आयो, फेरि आयो । फेरि अर्को गल्ली, फेरि, फेरि गल्ली । झन् सानो साँघुरो गल्ली छिरेर मंगलमान आफ्नो घरभित्र छिरे ।

यो गल्लीमा दोहोरो मोटरसाइकल अट्दैनन् ।

काठमाडौं अलिअलि गल्लीमाण्डु पनि हो ।

००००

घरमा मंगलमानका दुई बुहारी छन् । जेठो छोरो दुबईमा । कान्छो छोरो पनि काममा जान्छन् ।

‘यो बुढ्यौलीमा के त्यस्तै आपत आइपर्‍यो र यसरी पठाओ चलाउनुपर्ने ?’ घरको तीन तलामाथि सोफामा बस्दै हामीले जिज्ञासा राख्यौं ।

‘जागिर छोडेर तीन दिन सुतेपछि शरीर दुख्न थाल्यो । छट्पटी भयो । घरमा भनें– होइन, पठाओ पो दर्ता गर्न जानुपर्‍यो क्यारे ! यसरी पठाओ चलाएपछि दुई–चार पैसा गोजीमा पनि हुने, शरीर पनि नदुख्ने । यी, यतिबेला घरमा आयो । खायो । राति झ्याप्प निद्रा लाग्छ । आनन्द ! पाँच महिना हुँदैछ पठाओ चलाउन थालेको’, मंगलमानले आनन्दसँग भने ।

 

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्