कालापानीबाट विदेशी फौज हटाउछौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे ।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए । तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

उनले भने ‘यस नाममा केही उछृङ्खल गतिविधि देखिए । कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले त्यस्ता गतिविधि गरेका छन् । यसले समाधान हुँदैन । अहिलेको सरकार नेपाली जनताको सरकार हो । देशभक्त सरकार हो । यो सरकारले एक इन्च भूमि पनि मिचिन दिदैन ।’

हामीलाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गरे । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उनले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताए ।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ । यो सरकार राष्ट्रिय हितका पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’

प्रधानमन्त्री ओलीले भारतले पछिल्लो समय जारी गरेको नक्सा सच्याएरमात्र नहुने समेत प्रष्ट पारे । कतिपय मान्छेले नक्सा सच्याउ भनेर आन्दोलन गरिरहेको भन्दै उनले भने ‘नक्सा त प्रेसमा छाप्दा सच्याउन भइहाल्छ । हामी भूमि फिर्ता लिन लागेका छौं, विदेशी फौज हटाउन लागेका छौं । हामी त्यसमा सक्षम छौं । नक्सा सच्याउने कुरै होइन ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए ।

प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ । इतिहासमा यस्तो हुदैनथ्यो । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’

 

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...