राष्ट्रपतिहरूको राजकीय ‘चेयर्स’



 

चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा उहाँको सम्मानमा हाम्रा राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीबाट दिइएको राजकीय रात्रिभोज (स्टेट बेंक्वेट) मा गरिएको ‘चेयर्स’को खुब चर्चा भयो । रात्रिभोजमा दुवै देशका राष्ट्रप्रमुखहरूको मन्तव्यपछिको टोस्ट प्रस्तावका क्रममा चेयर्स गर्दा राष्ट्रपति सीले सम्मान दर्शाउँदै ग्लास अलि तल ठोक्काएको तर हाम्रा राष्ट्रपतिबाट त्यसको ‘रेस्पोन्स’ नगरिएको भन्ने पनि सुनियो, पढियो ।

रोचक पक्ष त के छ भने हामी हरेक कुरामा आलोचना गर्न पोख्त छौँ । राष्ट्रपति भ्रमणका अन्य खोटहरू नभेटिएपछि ‘चेयर्स’कै सही, आलोचना गऱ्यौं । जुन आलोचनाले कूटनीतिक चालचलनप्रति सजग बनाउन मद्दत गर्ने देखिएको छ । राम्रो नियतले गरिने आलोचनाको परिणाम प्रायः राम्रै हुन्छ । आलोचना (क्रिटिकल हुनु) र नकारात्मक (नेगेटिभ) हुनु फरक कुरा हो ।

उच्चस्तरीय ‘चेयर्स’को चर्चा हुँदा यो पङ्क्तिकारलाई लागेको कुराचाहिँ के हो भने हाम्रो समाज अचम्मको छ, राष्ट्रपतिको चेयर्स मिलेन भनी आलोचना गर्छ, अन्य महिलाहरूले ‘चेयर्स’ गरे भने नकारात्मक धारणा बनाउँछ । हामीकहाँ महिला र पुरुषलाई हेर्ने मापदण्डहरू फरक छन् । पितसत्ताले महिला र पुरुषलाई दुई भागमा विभाजित गरिदिएको छ, राम्री महिला र खराब महिला । यो मापदण्डमा मदिरा पिउने, चेयर्स गर्ने महिला खराबको परिभाषाभित्र पर्छन् । ‘खराब’को अर्थ सीधै चरित्रसँग गएर जोडिन्छ, यो गतिली होला र ? यद्यपि मदिरा, चुरोटजस्ता कुराहरूको सेवन जसले गरे पनि राम्रो होइन । मादक या सुर्तीजन्य पदार्थको सम्बन्ध स्वास्थ्यसँग छ, चरित्रसँग होइन ।

नेपाली समाजमा खुलेर चेयर्स गर्ने महिला कमै देखिन्छन्, भेटिन्छन् । समयक्रममा यस्तो सङ्ख्या बढ्दै छ, यो राम्रो–नराम्रोभन्दा पनि व्यक्तिगत रुचि र इच्छासँग जोडिएको कुरा हो । तर, समग्रमा हाम्रो संस्कृति चेयर्स गर्ने संस्कृति होइन । राष्ट्रपति त्यसप्रकारको पृष्ठभूमिबाट आउनुभएको पनि होइन । त्यसैले राष्ट्रपतिको चेयर्समा मदिरा नभएर पानी थियो । बेलायतकी महारानी या चेयर्स कल्चरबाट आएका महिला राष्ट्रपतिहरूले स्याम्पेन या वाइनकै चेयर्स गर्ने थिए भन्न सकिन्छ । यो महिला–पुरुषभन्दा पनि संस्कृतिसँग जोडिएको कुरा हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चेयर्स प्रायः जुसमा देखिन्छ ।

विश्वमै मूलतः ड्रिंक गर्नुअघि भरी ग्लास एक–अर्कामा ठोक्काएर चेयर्स गर्ने चलन छ । यो साथीभाइ, आफन्तसँगका बसाइदेखि पार्टी हुँदै राजकीय भोजहरूमा पनि गर्ने गरिन्छ । राजकीय र अन्य औपचारिक भोजहरूमा गरिएको ‘चेयर्स’ औपचारिक हुन्छ भने अन्य अनौपचारिक । चेयर्स प्रायः स्याम्पेनमा गरिन्छ, तर ठाउँ र संस्कृति हेरेर कतै वाइनमा, कतै जुस र पानीमा पनि गरिन्छ । चीन र नेपालका दुई राष्ट्रपतिबीच पानीले भरिएको ग्लासमा चेयर्स गरिएको थियो । एक–अर्काको शुभ होस्, राम्रो होस् भनी गरिने प्रस्ताव नै टोष्ट प्रस्ताव हो । जुन मूलतः पश्चिमा संस्कृतिबाट निर्देशित छ ।

लेखक, बबिता बस्नेत

मदिरा भरिएको ग्लास ठोक्काएर एक–अर्काको शुभ चिताउँदै गरिने चेयर्स सत्रौँ शताब्दीदेखि सुरु भएको भन्ने छ । टोस्ट प्रस्तावमा एउटा ग्लास खाली, अर्को भरी हुनु हुँदैन । ग्लास ठोक्काएर चेयर्स गर्नुको अर्थ ‘हामी सँगै छौँ’ भन्नु हो । एक–अर्काको सम्मानमा गरिने यस्तो चेयर्सलाई प्रोटोकल टोस्टको रूपमा लिइन्छ । प्रोटोकल टोस्ट भएकाले राजकीय चेयर्सको महत्व शिष्टाचारसँग जोडिएको हुन्छ । त्यसैकारण एक–अर्कामा को कति झुक्ने भन्ने कुरा चेयर्सबाट झल्किने मान्यता रहेको हो । चाइनिज राष्ट्रपतिको ग्लास हाम्रो राष्ट्रपतिको भन्दा तल थियो, जुन हामीलाई दिइएको सम्मान हो । देशको राष्ट्राध्यक्षलाई दिइएको सम्मान हामी नागरिकको पनि सम्मान हो । यसलाई अन्यथा लिनुपर्ने देखिँदैन । सधैँ सबैसँग हामी नै झुक्नुपर्छ भन्ने के छ र ? ग्लास तल परेको भए हाम्रो राष्ट्रपति किन त्यसरी झुक्नुपरेको ? भनी हामीले नै प्रश्न गर्न शुरु गर्ने थियौँ कि जस्तो पनि लाग्छ ।

कूटनीति र परराष्ट्र सम्बन्धमा शिष्टाचारको महत्व ठूलो हुन्छ । खाने, लाउने, बोल्ने मात्र होइन कसरी बस्ने, कतापट्टि को बस्नेदेखि लिएर शारीरिक हाउभाउसम्मले अर्थ राख्छ । त्यसो त, सर्वसाधारण सबैको जीवनमा यस्ता कुराहरूको महत्व हुन्छ । को मानिस कस्तो छ भनेर थाहा पाउने उसको व्यवहार, बोलीचाली, अरूलाई गर्ने आदर–सम्मान, प्रयोग गर्ने भाषा, लवजजस्ता कुराहरूले नै हो । फरक के हो भने व्यक्तिगत जीवनको व्यवहारले आफू र सीमित मानिसहरूलाई मात्र फरक पार्छ । राष्ट्रलाई प्रतिनिधित्व गर्ने मानिसहरूले गर्ने व्यवहारले देशलाई हेर्ने दृष्टिकोणमा फरक पार्छ । नाक, कान कोट्याउने, ख्याकख्याक, खुकखुक गर्नेजस्ता कुरा सभ्यताको हिसाबले निम्नस्तरमा गनिन्छन् । तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनको औपचारिक भ्रमणमा रहनुभएको बेला एउटा बैठकमा हातले नाकको बाहिरी भाग छुँदा त्यहाँका पदाधिकारीहरूले बाथरुम देखाइदिएको प्रसङ्गले त्यतिबेला निकै चर्चा पाएको थियो । उहाँको नाकको बाहिरी भाग छोइरहने बानी थियो ।

राष्ट्रप्रमुखहरूले दिने र पाहुना पनि राष्ट्रप्रमुख नै भएका कारण स्टेट बेंक्वेट अर्थात् राजकीय रात्रि या दिवाभोजको विशिष्ट महत्व हुन्छ । चीनका राष्ट्रपति आउँदा राष्ट्रपतिले खान सुरु नगरी नखाऊ भनियो, तुना भएको जुत्ता लाऊ भनियो भनेर हामीकहाँ खुब चर्चा भयो । तर, यसप्रकारका राजकीय भोजहरूमा प्रायः ड्रेस कोड राख्ने गरेको पाइन्छ । अमेरिकामा औपचारिक समारोहहरूमा कालो टाई अनिवार्य मानिन्छ, हिजोआज सेतो टाइलाई पनि समान मान्यता दिइएको छ । कतै जुत्ता, कतै कोट, कुनै न कुनै कुरामा ड्रेस कोड राखिन्छ । साथै टेबुल कसरी सजाउने, कस्तो काँटा चम्चा प्रयोग गर्ने, कसरी पस्किने, कसरी सर्भ गर्नेजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ ।

सन् १३६३ मा लन्डनमा आयोजित पाँचवटा देशका राजाहरूको राजकीय भोजलाई त्यतिबेला अद्वितीय भनिएको थियो भनी दस्तावेजहरूमा उल्लेख गरिएको छ । ‘द ब्यांक्वेट अफ फाइभ किङ’का नामले चर्चित उक्त राजकीय रात्रिभोजमा बेलायत, स्कटल्यान्ड, फ्रान्स, डेनमार्क र साइप्रसका राजाहरूको सहभागिता थियो । राजकीय भोजहरू प्रायः राष्ट्रप्रमुखको निवासमै दिने गरिएको छ । अमेरिकमा ह्वाइटहाउसमा, बेलायतमा बकिंघम दरबारमा, भारतमा राष्ट्रपति भवनमा । हामीकहाँ पनि राजसंस्था हुँदा राजदरबार या शीतलनिवासमा दिइन्थ्यो । २०४६ सालको प्रजातन्त्रपछि राणाहरूलाई गाली गर्दै भए पनि उनीहरूले बनाइदिएको शीतलनिवासलाई नै यसप्रकारका समारोहका लागि प्रयोग गर्ने गरिएको थियो । तर, अहिले यसप्रकारका स्टेट बेंक्वेटका लागि एउटा गतिलो ठाउँ नहुँदा होटेलमा दिनुपर्ने अवस्था छ । यो काम चलाउ अवस्थाको अन्त्य गर्दै राजकीय चेयर्सका लागि उपयुक्त भौतिक संरचनाको आवश्यकता देखिन्छ । , घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्