चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता



हाम्रो इकोनोमि

 

नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी थिइन् ।

सीको विदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पनि उपस्थित थिए । स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गर्‍यो । विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए ।

सीको स्वदेश फिर्तीको समयमा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो २ बजेसम्म आन्तरिक तथा बाह्य सबै उडान-अवतरण बन्द गराइएको थियो । यद्यपि विमानस्थल प्रशासनले दिउँसो १ः५० सम्म मात्र उडान अवतरण रोक्ने सूचना जारी गरेको थियो । सी शनिबार काठमाडौं आउँदा पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म सबै उडान अवतरण बन्द गरिएको थियो ।

सवारीको समयमा चिनियाँ प्रतिनिधिमण्डल बसेको होटल सोल्टीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक खालि गराइएको थियो । सोल्टीमोड, कालीमाटी, त्रिपुरेश्वर, तीनकुने, थापाथली,माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर र सिनामंगलसम्म सीको विदाईका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस
तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...

नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना...

बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ ।...