गगन थापाले भने – नेकपा कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी -नेकपा)लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका छन् । उनले नेकपा सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले भने, ‘मार्कस् भन्यो, माओ भन्यो, लेनिन भन्यो, अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दैछन् । जुन कुरा चीनले आफूले दिन्छु भन्दैन, त्यो पनि हामीलाई बेच्छु भन्दैछ । नेपाल कम्युनिष्ट पार्टी भनेको कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो ।’

नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन चाहेको आरोप पनि उनले लगाए । कम्बोडियाको राजनीतिक अवस्थासँग हालको नेपालको अवस्थालाई तुलना गर्दै थापाले भने, ‘त्यहाँ अदालत छ, तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । त्यहाँ प्रेस छ, तर सरकारले चाहेको भन्दा फरक कुरा लेख्दैन । नेपाललाई त्यही बनाउन खोजिँदै छ ।’

 

‘नेकपा सिंह बने कांग्रेस शिकारी’

नेकपा सरकारले आधा दर्जन कानुन ल्याएर आम नेपालीको जनजीवन प्रभावित पार्न खोजेको र निरंकुश लाद्न खोजेको उनले आरोप लगाए । सरकारको निरंकुश शैलीविरुद्ध लड्ने तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

‘राजनीतिक अधिकार, सम्पत्ति राख्न पाउने अधिकार लगायतका यति धेरै विषयहरु छन् जसलाई एकपछि अर्को कानुन बनाएर सरकारले यसलाई भत्काउन खोज्दै छ । यसकाविरुद्ध लड्ने कुराका निम्ति हामीले तयारी गर्नुपर्छ,’ थापाले भने ।

उनले त्यस्ता कानुन कांग्रेसले रोक्नु पर्ने बताउँदै सदन र सडकबाट संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यो कानुनलाई रोक्ने कांग्रेसले हो । तर, संसदभित्र रहेका सीमित सांसदहरुले त्यसलाई रोक्न सकिन्न,’ कांग्रेस सांसदसमेत रहेका थापाले भने, ‘संसदीय व्यवस्थामा जहिले पनि सरकार बहुमतमा रहन्छ । त्यो त्योबेलामा मात्र रोकिन्छ, जतिखेर संसदको ताकतसँग सडकको ताकत एकाकार हुन्छ ।’

उनले नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा अब कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाए । उनले भने, ‘सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए कांग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...