सिभिल बैंकको मूल्य बढ्न थाल्यो
१० मंसिर २०६७ बाट ३० औं बैंकको रुपमा सञ्चालनमा आएको सिभिल बैंक पछिल्लो पुस्ताको बैंक हो । अहिले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमा यो बैंक नै कान्छो बैंक हो ।
पछिल्लो पुस्ताको भएपनि चुक्ता पुँजी ८ अर्ब पु¥याउनु पर्ने अवस्थापछि बैंक हाल पुँजी आधारमा अन्य बैंकसँग लगभग समान हैसियतमा आइपुगेको छ । तर, बढेको पुँजीअनुसार बैंकले अन्य सूचकांकमा ठूला बैंकहरुलाई भेट्न भने समय लाग्ने नै देखिन्छ ।
यसअघि चुक्ता पुँजी पु¥याउन इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीसँग मर्ज गरेको सिभिलले पुनः मर्जरमा जाने निर्णय गरेको छ । यद्यपि कुन बैंक वा वित्तीय संस्थासँग मर्जरमा जाने निश्चित भने भइसकेको छैन ।
बैंकका अध्यक्ष इच्छाराज तामाङ छन् । आव २०७४/७५ मा भने उनको व्यक्तिगत नाममा ३.८५ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा उनको पकड रहँदै आएको छ । व्यक्तिगत रुपमा सबैभन्दा धेरै सेयर हुनेमा व्यवसायी प्रदिपजंग पाण्डे छन् । बैंकमा गोविन्द गुरुङ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् ।
सिभिलले गत आर्थिक वर्षको चौथो त्रैमाशमा ७६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा सिभिल बैंकको नाफा २०.७१ प्रतिशतले बढेको हो ।
५ वर्षमा औषत करीब ७.६१ प्रतिशतको लाभांश बाडेको सिभिलले गत आवमा नाफा पछि ६.९५ प्रतिशत लाभांश बाड्न सक्ने देखिन्छ । बैंकले नाफाको आधारमा लगानीकर्तालाई ५५ करोड ६९ लाख रुपैयाँ वितरण गर्न सक्ने उल्लेख गरेको छ ।
बैंकहरुले मुद्दती निक्षेपमा दिइरहेको प्रतिफलभन्दा कम प्रतिफल बैंकबाट हुने गरेकोले यसमा आकर्षण कम देखिदै आएको छ । यही कारण सेयर मूल्य अंकित मूल्य (१०० रुपैयाँ) कै आसपास हुने गरेको छ ।
सिभिलको खुद व्याज आम्दानी ५६ प्रतिशतले बढेको छ । सञ्चालन नाफा २३ प्रतिशतले बढेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १७.९७ प्रतिशत रहेकोले हालको नियामकीय प्रावधान (११ प्रतिशत) भन्दा सहज छ ।
बैंकको निक्षेप र प्राथमिक पुँजीको आधारमा जारी भएको कर्जाको अनुपात ७५.५० प्रतिशत छ । बैंकले थप कर्जा लागनी गर्न सक्ने अवस्था सहज नै छ ।
बैंकको सञ्चित कोषमा १ अर्ब ६१ करोड रुपैयाँ छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ८.४५ मा सिमित भएको छ । समग्रमा यो उच्च नै छ । ५ अर्ब ७२ करोड ब्याज आम्दानी गरेको सिभिलको व्याज खर्च ३ अर्ब ५२ करोड रुपैयाँ छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय २२ प्रतिशत रकम राखेको छ । बैकले प्रावधान रकम ५ करोड राखेको छ ।
सिभिलको प्रतिसेयर आम्दानी ९.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.६३ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९७ रुपैयाँ छ ।
कारोबार सन्तुलित, मूल्य वियरिश
एक वर्ष अगाडी सेयर कारोबारमा बर्षकै उच्च विन्दु १८९ रुपैयाँमा पुगेको बैंकको सेयर मूल्य त्यो यता सो तहमा पुग्न सकेको छैन । बैंकको सेयर कारोबार सन्तुलित रहेको १४ दिने आरएसआई सूचकले देखाएको छ । हाल यो स्केलको ५० मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।
सिम्पल मुभिङ एभरेज रेखामा केही समयअघि क्रसओभरको सम्भावना देखिएको भएपनि सफल हुन सकेन । २१ दिने रेखा ७ दिने रेखा माथि नै रहेकोले मूल्य वियरिश प्रवृत्तिमै छ ।
पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा १ सय ५१ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे १ सय ४३ मा पहिलो टेवा पाउने देखाउँछ ।
बढ्ने प्रयासमा रहेको सिभिलको सेयर मूल्यले स्पष्ट संकेत दिएको छैन । मंगलवार ठूलो लामो आकारको सेतो मैनवत्ति बनेको छ । बुधवार पनि मूल्य बढेको त छ तर सेतो मैनवत्तिको आकृति निकै सानो छ ।
सो मैनवत्ति आकृतिको तल्लो धागो अघिल्लो दिनको सेतो मैनवत्तिको शरीरको मध्य भागसम्म आएको छ । मूल्यमा राम्रै स्विङ भएको छ । लगानीकर्ता मूल्यलाई लिएर विश्वस्त हुन सकेका छैनन् । अहिलेको लाभांश क्षमताले समेत लगानीकर्तालाई आकर्षित गर्न सकिरहेको छैन । कारोबार गर्नु अघि आगामी दिनमा देखिने प्रवृत्तिलाई ध्यान दिनु जरुरी छ ।