‘हामी छिट्टै मारिन्छौं भनेर अलग–अलग फोटो खिचेका थियौं’



हाम्रो इकोनोमि

 

कमरेड वासुका अगाडि हामी सबै झुक्नुपथ्र्यो । त्याग र बलिदानको भावनाले पोलिटब्युरोभन्दा धेरै माथिको योग्यता थियो । कमरेड सुरेश वाग्लेलाई स्मरण र चर्चा गर्ने कुरा धेरै ठूलो जिम्मेवारीको कुरा हो । जनयुद्ध तयारीका बेला महामन्त्री थिएँ । जनयुद्ध सरु भएर त्यो अगाडि बढ्दै जाँदा जुन परिस्थिति बन्यो, सुरेश वाग्ले त्यस्तो नेतामध्ये हुनुहुन्थ्यो जो पार्टीका सबै वरिष्ठ नेता म, किरण, बाबुराम, बादललगायत हामी वासुका अगाडि नतमस्तक हुन्थ्यौं । बहसहरुमा वहाँ अगाडि सरेपछि सबै झुक्नुपथ्र्यो । बौद्धिक व्यक्तित्व, विचार र निष्ठा तथा राजनीतिक प्रवृत्तिलाई सन्तुलनमा ल्याउने सवालमा र खासगरी चरित्रको नैतिक बल धेरै ठूलो थियो । सबै वरिष्ठ नेताहरुलाई आफ्नो राजनीतिक कुशलताद्वारा प्रभावित पार्न सक्नुहुन्थ्यो । जनयुद्ध तयारीका बेला, जनयुद्ध सुरु भइसकेपछि किलोसेरालगायत अप्रेसन चलिरहेका बेला, अन्तरपार्टी बहस र अन्तर्संघषलाई ठीक ढंगले परिचालन गर्ने कुरामा कमरेड सुरेश अग्रणी भूमिका हुनुहुन्थ्यो । अहिले वहाँको त्यो चरित्र, नैतिक तागत र कम्युनिस्ट आदर्शप्रतिको समर्पण भावलाई एउटा सानो कार्यक्रम या भाषणमा समेट्न सकिनेजस्तो मलाई लाग्दैन । बाँच्ने मर्ने ठेगान थिएन जनयुद्धमा । यदि कमरेड सुरेशजस्ता वैचारिक स्पष्टता, निष्ठा र नैतिक चरित्र भएका मानिस नभएको भए त्यो जनयुद्धका रुपमा युगान्तकारी तागतका रुपमा विकास हुने थिएन । अन्तर्राष्ट्रिय अनुकूल थिएन । देशकै परिस्थिति पनि त्यति धेरै अनुकूल थिएन ।

हामीले तयारी गर्दै गरेका बेला, पञ्चायतविरोधी आन्दोलन विस्तारित भइरहेका बेला छापामार युद्ध सुरु गर्नुपर्छ भनेर गोरखाको सिरानचोकमा सुरेश वाग्लेको व्यवस्थापन र सहयोगमा त्यसको आयोजना गरिएको थियो । को बाँचिन्छ, को मरिन्छ ठेगान थिएन । केन्द्रीय समिति बैठकमा गम्भीर छलफल गरेका थियौं । हामी केन्द्रीय समितिमा १९ जना थियौं, हामी छिट्टै मारिन्छौं जस्तो लागेको थियो । विद्रोहका आधार त छन् तर सांगठनिक तागत र बौद्धिक तागतले राज्यसँग लडेर तुरुन्त जित्न सकिन्छ अनि नेतृत्व सबै बाँचिन्छ नै भन्ने छैन भन्ने परेको थियो । हामीले अलग अलग फोटो खिचेका थियौं । यो अन्तिम बैठक पनि हुन सक्छ भनेर फोटो खिँचेका थियौं । हामीले जम्मा गरेको साधनको जिम्मा पनि सुरेशले नै लिनुभएको थियो । वहाँ बौद्धिक समुदायमा खासगरी शिक्षक समुदायमा असाध्यै प्रेरणादायी व्यक्तिको रुपमा परिचित हुनुभयो । २०५६ सालमा वहाँको हत्या भएपछि ठूलो तरंग आयो । त्योभन्दा अगाडि विद्रोह सुरु गरेपछि १५–१६ सय बढीको मृत्यु भएको थिएन । तर वासुको हत्या निमर्म तरिकाले गरिएको खबर विद्यार्थी, बुद्धिजीवि, शिक्षक सबैमा फैलिएयो । त्यसपछि माओवादी आन्दोलनमा संलग्न हुने राजनीतिक कार्यकर्ताको संख्या गुणात्मक रुपमा बढ्यो । अहिले कथाजस्तो लागे पनि मर्नका लागि बलिदानका लागि तछाडमछाड हुन थाल्यो ।

मलाई अग्रीम मोर्चामा राखियोस् भन्ने सयौं हजारौं देखापर्न थाले । त्यसपछि सहिदको संख्या बढेर हजार बढी भयो । हामीले सकेसम्म कम बलिदानबाट यो राजनीतिक आन्दोलन अघि जाओस् भन्ने चाहना राखेका थियौं । तर कमरेड सुरेश र भीमसेनको हत्या भएपछि, सांस्कृतिक आन्दोलनका थुप्रै योद्धा मस्त विष्टदेखि कृष्णसेनसम्म समाजले सबभन्दा राम्रो नागरिक र असल प्रतिनिधिको रुपमा स्वीकार गरेका व्यक्तित्वको लामबन्दी शुरु भयो । त्यो बलिदानका कारण निमोठेरै सक्ने प्रतिक्रियावादीको सपना पूरा हुन दिएन । यो बलिदानकै बलमा त्यो परिस्थिति सिर्जना भयो । अहिले पनि सबैभन्दा राम्रा मान्छेको मृत्यु हुँदा, मारिँदा या सहिद हुँदा तिनले थुप्रै क्रान्तिकारी जन्माउँदा रहेछौं । यो कुरा हामीले प्रत्यक्ष देख्यौं, भोग्यौं ।

जनयुद्धको अन्तिम तयारीमा हुँदा मधेशमा कमरेड रामवृक्ष यादवको हत्या भयो। हामीले जनयुद्ध सरु गरेका थिएनौं तर त्यसले देशैभरी माडसाबको रुपमा परिचित मधेसको होनहार छोरा सबैले मन पराउने पारदर्शी व्यक्तिको हत्या भएपछि मानिसमा बलिदान गर्ने लाइन लाग्दो रहेछ । बहुमतले हुन्न, क्रान्तिकारी पार्टी बनाऔं हामीले कम्युनिस्ट आन्दोलन लोकप्रिय त बनाएको छौं, हामीले अत्यधिक बहुमत प्राप्त गरेर लोकप्रिय मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त पुर्याएका छौं । तर वैचारिक निष्ठाको दृष्टि, वैचारिक स्पष्टताको दृष्टिले, राजनीतिक परिपक्वता, नैतिक चरित्र र आचरणको दृष्टिले हेर्दा हामी खस्किएका छौं मलाई लाग्छ । हामी अलि बढी नै आत्मकेन्द्रीत, व्यक्तिवादी, आदर्शबाट विचलनतिर जान थालेको आभास हुन थालेको छ । यस्तो बेला कमरेड वासुसहित अन्य क्रान्तिकारीलाई स्मरण गर्दै छौं भने यो पार्टीलाई फेरी क्रान्तिकारी, आदर्शपूर्ण बनाउने, यो पार्टीका सबै सदस्य र नेतालाई समाजका सबैले स्वीकार्ने पार्टी बनाउने आवश्यकतामा जोड दिनु जरुरी छ । त्यसो गर्ने संकल्प लिए मात्रै समाजवादी आदर्शतर्फ उन्मुख बनाउन सक्छौं ।

हामीले साँच्चीकै औपचारिक होइन, हृदयदेखि नै यो पार्टीलाई त्यस्तै बनाउने प्रतिबद्धता गर्यौं, संकल्प गर्यौ भने हजारौं सहिदप्रति सच्चा श्रद्धान्जली गरेको ठहर्छ । हैन भने यो औपचारिकता मात्रै हुने देखिन्छ । सुरेश वाग्ले तत्कालीन माओवादी आन्दोलनको मात्र हुन् भन्ने होइन, उनी राष्ट्रकै सम्पत्ति, गौरव र आउने पिढीका लागि गौरवका रुपमा स्थापित गर्ने व्यक्तित्व वहाँ हुनुहुन्थ्यो । यस्तो चरित्रलाई प्रेरणाका रुपमा कसरी अगाडि लैजाने ? वहाँका कैयन लेख छन् । कम्युनिस्ट आचरण र विचारसँग सम्बन्धित सामग्री छन् । तिनलाई जनतामा लैजाने आवश्यकता छ । निरंकुशताको जाँतोमा पिस्ने षडयन्त्रलाई छूट दिइन्न । अहिले लोकतान्त्रिक गणतन्त्रमा हामी छौं, त्यस्तो महान क्रान्तिकारीको संलग्नता नभएको भए यो परिवर्तन यति छिटो सम्भव थिएन । एकथरीले यो क्रान्तिकारी आन्दोलन र यसको नेतृत्वलाई बदनाम गर्न धेरै तल्लो स्तरमा ओर्लेर गाली गलौजसमेत गरिरहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने उद्देश्यले आन्दोलनमा प्रदर्शित गरिएको त्याग तपस्या, क्षमता, प्रतिभा र देशका लागि समर्पित गर्ने व्यक्तित्व र आन्दोलनलाई बदनाम गर्ने, हिजोको अत्याचारी निरंकुश सामन्तलाई फेरी अगाडि ल्याउने षडयन्त्रका झिल्का यत्रतत्र देख्न थालिएको छ । यस्तो बेला कमरेड सुरेश, भिमसेन जस्ता व्यक्तिलाई जब हामी सम्झिन्छौं, मलाई अनौठो पनि लाग्छ । यस्तो महान इतिहासलाई अपमानित गर्ने, शहीदको अवमूल्यन गर्ने, त्यसका नेताहरुलाई बदनाम गर्नै नियोजित षडयन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ । त्यसैले यस्तो बेलामा पार्टीलाई सांगठनिक विधिमा लगेर जनताको पार्टी बनाउन जरुरी छ । कहिलेकाहिँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा स्यालको तुलना सिंहजस्तो गर्न सकिन्न । स्याल स्याल नै रहन्छ, सिंह सिंह नै रहन्छ ।

पूर्वप्रधानमन्त्री दाहालद्वारा सुरेश वाग्ले ‘वासु’को २१ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा व्यक्त धारणा

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...