सोमबारदेखि काठमाण्डौमा बिजुली बस, पछिल्लो सिटमा आकर्षण



हाम्रो इकोनोमि

 

सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।

अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै काठमाण्डौको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्ने भएको हो ।

पछिल्लो सिटमा आकर्षण

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनु भयो ।

अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।

यसले गर्दा सिटमा बस्न खोज्नेहरु पछाडि जाने र गाडीभित्रको चापलाई व्यवस्थित गर्न सकिने कम्पनीले जनाएको छ । बसको अगाडि भागमा आरक्षित सिटहरु रहेको हुनाले भिड पनि कम हुने सदस्य पोखरेलले भन्नुभयो । ‘यो बसको आकर्षण भनेको नै यात्रुलाई पछाडि भागमा राखेर यात्रु चढ्न र ओर्लनका लागि सजिलो बनाउनु हो’ उहाँले भन्नुभयो ।

बसका अरु सुविधा

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक पटकमा ६ वटा बस चार्ज गर्न मिल्ने

भत्केको पुलमा सञ्चालनमा आएको चार्जिङ स्टेशनमा एकै पटक ६ ओटा बस चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

चार्जिङ स्टेशनमा कम्तीमा चार घण्टामा गाडी पुरै चार्ज हुने इञ्जिनियर तिलक गिरीले बताउनु भयो । सुपर चार्जिङ मेसिन भएकोले एक पटक चार्ज गरेपछि औसत २ सय ६८ किलोमिटर गुड्ने समितिले जानकारी दिएको छ ।

‘चक्रपथमा गुड्ने डिजेलबाट चल्ने गाडीले दैनिक चार हजार रुपैयाँ बराबरको इन्धन खपत गर्दा विद्युतीय सवारी साधनले सात सय रुपैयाँ बराबरको बिजुली खपत गर्छ’, अध्यक्ष थापाले भन्नुभयो । यसबाट यातायात सेवा सरल र सहज बन्नुका साथै ६ वर्षभित्रमा नाफामा जान सक्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।

एउटा चार्जिङ स्टेशनका लागि झण्डै ७० लाख रुपैयाँ लागत लागेको र पूर्णरुपमा सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ ।

तत्कालका लागि होम चार्जिङ सेन्टर सञ्चालनमा ल्याए पनि अहिलेसम्म सरकारबाट अनुमति नपाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले गुनासो गर्नुभयो । सरकारले लाइसेन्स दिएको अवस्थामा सीतापाइला र सुकेधारामा  पनि चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...