सोमबारे संयोगमा तीज : पशुपतिनाथको पूर्वी ढोका खुल्ने, यसरी दर्शन गर्न पाईने



हाम्रो इकोनोमि

 

यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो।

तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए। तीज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो।

भदौ १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गर्न मुख्यरूपमा तीन स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव ढकालले सुनाउनुभयो। वैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने कोषको विश्वास छ।

पशुपतिमा सादा पोशाकमा प्रहरी नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै आजैदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ। मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन्।

शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ। सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरीलगायत स्थान छुट्याइएको छ।

नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ। सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ। कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ।

६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो। तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ। तीजको मेला व्यवस्थापनका लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...