कार्यकर्तालाई कारबाही गर्छु भन्ने नेतालाई पनि नियम लागू हुन्छ ? नेकपा नेता राजेन्द्र गौतम



हाम्रो इकोनोमि

 

नेकपा एकीकरण करिब–करिब सम्पन्न हुने क्रम चलिरहँदा शीर्ष नेतृत्वकै विवाद सतहमा आयो, यसको निरुपण कसरी हुन सक्छ ?

पहिलो कुराचाहिँ पार्टी एकताको प्रश्न यो प्राविधिक प्रश्न होइन । राजनीतिक कार्यदिशाको प्रश्न हो । बाटोको प्रश्न पनि हो । अब कसरी हिँड्ने भन्ने पनि हो । यी मुद्दामा नेतृत्व तहमा विमति छैन, सबैको एकता छ । यसमा कुनै विवाद पनि छैन । जहाँसम्म तपाईले भनेको विषयचाहिँ संगठनात्मक विषयको कुरा हुनसक्छ ।

धेरै कुराको टुंगो लागेको छ, केही आयोग र जनसंगठनको काम सक्न बाँकी छ । जसरी नेतृत्व तहमा त्यसको पक्ष विपक्षमा बहस भइरहेको छ, माथाहतका कमिटीमा पनि छलफल हुने गर्छ । त्यसमा नेतृत्वको सबल र दुर्बल पक्षका विषयमा पनि छलफल हुने गर्छ ।

सैद्धान्तिक विषयमा मत रहेन तर व्यवाहारिक विषयमा त गोलमाल भएको जस्तो देखिन्छ । विभागीय जिम्मेवारी, बरियताका विषयमा नेता माधवकुमार नेपालले असन्तुष्टि देखाउनुभयो, नोट अफ डिसेन्ट पनि लेख्नु भयो नि त ?

एकीकरणको प्रक्रियामा पार्टी नेतृत्वमा रहनुभएका शीर्षस्थ नेताको जिम्मेवारी र पोजिशनका विषयमा छलफल भएर केही असन्तुष्टि सार्वजनिक भएको देखियो । मूल सवाल के हो भने साविक नेकपा एमालेमा वैधानिक  व्यवस्थामा आउट गोइङ लिडरको पोजिशन इलेक्टेड लिडरपछिको हुन्छ । त्यसबेला निर्वाचित अध्यक्ष केपी शर्मा ओली पछिको पोजिशनचाहिँ बरिष्ठ नेताका रूपमा झलनाथ खनालको थियो । एकीकरणका क्रममा खनालजीलाई चौथो बरियतामा पार्टी सचिवालयले राखेको थियो । त्यसमा केही असहमति थिए उहाँका । यद्यपि सचिवालयको निर्णयलाई मानेर जानुभयो ।

आज फेरि आएर जुन हिसाबले हेरफेर भयो, सचिवालयको बैठकले निर्णय गर्दै हिजो उहाँ जे पोजिशनमा हुनुहुन्थ्यो, त्यहि ठाउँमा आउनुभयो । यसमा झलनाथ खनालको बढुवा भयो, माधव नेपालको घटुवा भयो भन्दा पनि वैधानिक व्यवस्थामा जे थियो, जे त्रुटी भएको थियो, सचिवालयले त्यो सच्यायो । सच्याउँदा खनालजीको पोजिशन यथावत रह्यो, बीचमा चाहिँ पहिलो बरिष्ठता रहेका नेपालजी खनालजीपछि मात्र हुनुभयो । कुरा यत्ति हो ।

 

यस विषयमा त ठूलै चर्काचर्की नै भएको विवरण बाहिर आयो । नोट अफ डिसेन्ट देखि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको व्यक्तिगत तहसम्मको भनाभनको विषय बाहिर आयो नि ? यो असन्तुष्टि र विवाद त देखियो । अझ सचिवालयमा संख्या थप्ने सर्त पनि राखियो नि ?

नेतृत्वको इतिहास, लगानी, आफ्ना योगदान र स्थान हुन्छन् । अहिले सचिवालयमा ल्याइएका नेताहरू यसअघि कहाँ थिए भन्दा पनि उनीहरूको समग्र योगदानको हिसाबले छनौट भएको छ । एउटा उपाध्यक्ष राख्ने कुरामा तर्क हुनसक्छ, तर कमिटीले मानेपछि कसले के भन्न सकिन्छ र ?

सचिवालयको संख्या कति राख्ने भन्ने विषय अलग कुरा हो । साविक एमाले र माओवादीबाट जसरी ६–३ को संख्यामा राखियो यो नेताको योग्यताका हिसाबमा नै राखिएको थियो । अब, उपमहासचिवचाहिँ महासचिवमा आयो भन्ने कुरा उठ्यो, कार्यकारी पदमा बढुवा भयो नि त । भइरहेका उपाध्यक्षहरू महासचिवचाहिँ किन भएनन् भनेर बाहिरबाट छलफल होलान् ।

पार्टी महासचिवचाहिँ यति बर्ष जेलमा बसेको, लगानी गरेको भनेर दाबी गर्न पाइयो, सबै नेतृत्वले स्वीकार गरेन भनेचाहिँ त्यो जिम्मेवारी लिन पाइएन । महासचिव सोही हैसियतमा आउनुभयो अरु नेताचाहिँ उनका स्थान र योगदानका आधारमा आए ।

त्यसो भए पार्टीको विधानमै नरहेका नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय किन भयो त ?

बामदेव कमरेडलाई पार्टीको उपाध्यक्ष बनाउने सचिवालयले सर्वसम्मत निर्णय गरेको छ । यो स्थायी कमिटीमा जाला, त्यसपछि केन्द्रीय कमिटीमा जाला । त्यसले स्वीकार गर्यो भने त मान्नुपर्छ । फेरि, बामदेव कमरेडको पार्टीमा लगानी, इतिहास र योगदान पनि त कम छैन नि ।

अर्कोचाहिँ यहाँले जे जिम्मेवारी पाउनुभयो त्योचाहिँ राजेन्द्र गौतमलाई दिन हुँदैन, कारबाही गर्नुपर्छ भन्ने माधव नेपालको धारणा आयो भनिन्छ । फेरि तपाईले पनि कटाक्ष गर्नुभयो भनिन्छ । यस्तो किन ?

मैले माधव नेपालको व्यक्तित्व, पार्टी निर्माण गर्न खेलेको भूमिका र स्थानका आधारमा मेरा बारेमा किन प्रश्न उठाउनुभयो भन्ने औचित्य देख्दिन । कुनै पनि नेताले मलाई कारबाही गर्छु भनेको हो भने तथ्यसहित आउनुपर्छ । राजेन्द्र गौतमले यो पार्टीमा उकाली ओराली गर्दा, मेरो लगानी हेर्दा आजसम्म एउटा पनि स्पष्टिकरण पाएको छैन । मैले उठाएका राजनीति र वैचारिक विषयलाई उठाउँदा कसैको महत्वकांक्षामा ठेस पुग्यो भने त्यो त म भन्न सक्तिन ।

एक व्यक्ति एक पदको कुरा अहिले उठाएर पार्टी नेतृत्व (ओली–प्रचण्ड)लाई ठेस पुर्याएर पार्टीको आन्तरिक एकता सुदृढ बनाउन सकिँदैन । मैले यो भनेको हुँ । अहिले असाधारण परिस्थिति हो । एकतामा योगदान सबैको भए पनि ओली र प्रचण्डबीचमा धाँजा फटाएर, लविङ गरेर दुई अध्यक्षको अक्षुण एकतालाई भत्काउन कोशीश गरिन्छ भने त्यसको बिरोध गरेको हुँ ।

एक व्यक्ति एक पद ठिकै होइन र ? तपाईले यस विषयको विरोध कसरी गर्नुभयो ? त्यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

मैले सात बुँदामा यस विषयको विश्लेषण गरेको छु । यस्तो परिवेशमा केपी ओलीले किन अध्यक्ष पद छाड्ने भनेर प्रश्न गरेको थिएँ । राष्ट्रिय एकता र राष्ट्रियता जोगाएकाले छाड्ने ? तेस्रो स्थानमा रहेको पार्टीलाई पहिलो बनाएकाले छाड्ने ? राष्ट्रिय राजनीतिमा स्थिरता ल्याएको र भूमिका देखाएकाले छाड्ने ? ००६ साल यताकै ऐतिहासिक कम्युनिस्ट एकता गरेकाले छाड्ने ? जनताका मूर्छित सपना व्यँुजाएको हुनाले छाड्ने ? जनताले ओलीलाई ५ बर्षको म्यान्डेड दिएको हो, जसलाई हामीले प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा गयौं । उनको नाममा भोट मागेर हिडेका थियौं । १० प्रतिशत भोट उनका नाममा पाएका हौं । महाधिवेशनबाट अध्यक्ष पद जितेका हुन् । मैले यहि विषय राखेको हुँ ।

यो विषयले कुनै नेतालाई मान मर्दन गरेको छ ? यस विषयले कसैको चरित्र हत्या गरेको छ ? हामी ०६४ सालको चुनावमा तेस्रो भएको होइन ? ३३ सिटमा झरेका थिएनौं ? हामी त्यहिँबाट उठेर आएको होइन ? यो यथार्थलाई आत्मसाथ गर्नु होइन ? यतिबेला ओलीलाई अध्यक्ष छाड भन्नु अस्थिरता निम्त्याउनु हो, राष्ट्रियता लोकतन्त्रमाथि धावा बोल्नु हो । त्यसो भएको हुनाले मैले विशेषगरी जोड दिएर भनिरहेको छ पार्टीमा सुदृढ एकताको खाँचो छ । अध्यक्षहरूबीचमा सुदृढ एकता बलियो हुनुपर्छ । कहिले प्रचण्डको फेरो समातेर केपी ओलीको र कहिले ओलीको फेरो समातेर प्रचण्डको पक्षमा लागेर दुई अध्यक्षबीचमा खेल्ने, धाँजा फटाउने कुराको बिरोध गरेको हुँ । जसरी पार्टीमा अभ्यासहरू हुने गरेका छन् । यी सर्वथा अनुचित छन् ।

एक व्यक्ति एक पद भन्ने अहिलेको होइन नि, धेरै पहिला बामदेव गौतमले खुलेर राख्या हैन ? प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुपर्छ भनेर सचिवालयमा भनेको होइन ?

विधानमा व्यवस्था थिएन । कहाँ राख्नु भएको छ । यस्ता विषयहरू जसलाई पार्टीले निर्णय गरेको छैन भने व्यक्तिगत धारण हुन् । ति अलग–अलग हुन सक्छन् । त्यो आफूले उठाएको एजेन्डा बनाएर छलफल गरेर निर्णय गराएन भने पार्टीको निर्णय हुँदैन । पार्टी विधानको ४६ नम्बरको धाराले प्रमूख नेतालाई एउटा प्रमूख जिम्मेवारी र अर्को सहायक जिम्मेवारी दिने भन्ने छ । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ भन्ने बैधानिक व्यवस्था छ । मैले व्यक्तिगत रुपमा आएका कुरालाई वैधानिक मान्दिन । यतिबेला कसैलाई केही भ्रम पर्नुहुन्न ।

एकीकरण भएको धेरै समयपछि प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयले ‘नेताको मानमर्दन हुने’ विषयमा कसैले सामाजिक सञ्जालमा नलेख्ने भन्ने निर्णय गरेको छ नि ?

सचिवालयले नेताको मात्रै होइन, पार्टीको निर्णयका खिलाफमा बोल्नेमाथि कारबाही गर्ने भनेको छ । यसको मैले स्वागत गरेको छ । यो नियम मलाई मात्र लागु हुने होइन । हामीजस्ता कार्यकर्तालाई कारबाही गर्छु भन्नेलाई पनि लाग्छ ।  यो निर्णय सिरोधार्य गर्छु । खुसी के गर्छु भने नेताले पनि अब जथाभावी बोल्ने छैनन् । पार्टीमा एउटा अनुशासनको अवस्था बन्छ । दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...