ओलीले नेपाललाई भने-तपाईको शुभकामना चाहिएन



हाम्रो इकोनोमि

 

स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपूर्व सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ ।

बालुवाटारमा बिहीबार विहान सचिवालय बैठक शुरु भएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एजेण्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई स्वाथ्यलाभको शुभकामना दिएर पठाउन आग्रह गरे । उनले आफू नभए पनि बैठक बसेर सहमतिका आधारमा निर्णय गर्न अर्का अध्यक्ष प्रचण्डलाई अधिकार दिएको जानकारी गराए ।

ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘आज बैठक एजेण्डामा छलफल हुने अवस्था रहेन । मलाई बैठकले स्वास्थ्य लाभको कामना गरोस्, म तपाईंहरुको शुभकामना लिएर उपचारका लागि जान्छु । यसबीचमा म नभए पनि बैठक राखेर सहमतिका आधारमा निर्णय गर्नुस् । आवश्यक परेमा मसँग फोनमा कुरा पनि गर्न सकिन्छ । पार्टी सर्वसम्मत ढंगले चलाउनुस् ।’

ओलीले त्यसो भन्नासाथ बरिष्ठ नेता नेपालले ‘हुँदैन, अब कुनै हालतमा सर्वसम्मती हुँदैन’ भन्दै प्रतिवाद गरे । आफूले असहमति राख्दाराख्दै थुप्रै निर्णय भएको भन्दै नेपालले अहिलेचाहिँ किन सहमतिमा मात्र निर्णय गर्ने ? भनेर प्रश्न गरेका थिए । केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमले सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध लेखेको भन्दै नेता नेपालले कारवाहीकोे माग गरे ।

नेपाल आक्रोशित रुपमा प्रस्तुत भएपछि अध्यक्ष प्रचण्ड रोक्न खोजे । उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्री एवं अध्यक्ष ओली सिंगापुरमा रहेका बेला महत्वपूर्ण निर्णय गर्नुपरे फोनमा कुरा गर्ने र सहमतिकै आधारमा पार्टी सञ्चालन गर्ने बताए । सहमति हुन नसकेका विषयमा पनि प्रचण्डले नेताहरुसँग सल्लाह गरेर जाने बताएको एक नेताले जानकारी दिए ।

प्रचण्ड बोलेपछि महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग समय लिएर ‘आजको बैठकले अध्यक्ष तथा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना र हाम्रो शुभकामना दिएर पठाऔं’ भन्ने प्रस्ताव राखे । उनले ‘बैठक सञ्चालनका विधिहरुबारे छलफल गर्दै जाउँला । आज किन यस्तो नमिठो कुरा गर्ने’ भन्नासाथ नेता नेपाल पुनः आक्रोशित भएको बैठकमा सहभागी एक नेताले बताए ।

उनले व्यंग्यात्मक शैलीमा ‘वाह ! कति राम्रो कुरा…!’ भन्दै असहमति राखेपछि ओली र नेपालबीच भनाभन भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले ओलीले नेपाललाई ‘ल, तपाईंको शुभकामना मलाई चाहिएन न नि त’ भन्दै बैठक टुंग्याउन खोजेका थिए । तर, नेता नेपालले ओलीलाई ‘तपाईं …. हो’ भन्दै ओलीमाथि अशिष्ट शब्द प्रयोग गरेको एक सचिवालय सदस्यले बताए ।

 

ओलीले नेपाललाई भने-तपाईको शुभकामना चाहिएन

नेपालले पुनः राजेन्द्र गौतममाथि कारबाहीको माग गरेपछि ओलीले बुधबार साप्ताहिकको प्रसंग ल्याएका थिए । पत्रिकाको समाचार देखाउँदै ओलीले ‘तपाईँले फरक मत नलेखी मिडियामा बाँड्नुहुन्छ भने तपाईँको कदम गलत भयो भनेर अर्कोले फेसबुकमा लेख्न पाउँदैन ?’ भन्ने प्रश्न गरेका थिए ।

ओलीले ‘तपाईँको शुभकामना मलाई चाहिँदैन र तपाईंको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईंले शुभकामना नदिँदैमा केही हुन्न’ भनेको एक नेताले बताए ।

दुई नेता व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएपछि अर्का अध्यक्ष प्रचण्डले पटकपटक आज अरु विषयमा कुरा नगरौं भन्दै माधव नेपाललाई रोक्न खोजेका थिए ।

पछिल्लो समय आफ्नो तेस्रो बरियता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । उनले सचिवालय बैठकको पछिल्लो निर्णयमा असहमति जनाउँदै सातबुँदे नोट अफ डिसेन्ट दर्ता गरेका छन् ।

यद्यपी बिहीबारको बैठकले अध्यक्ष तथा प्रधानमन्त्रीको ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव पारित गर्दै अरु एजेण्डा अर्को बैठकमा छलफल गर्ने गरी पन्छाएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...