बालुवाटारमा पुच्छर, सल्लाहकारले नै प्रधानमन्त्रीलाई सिसाको सोकेसमा बन्द गरेर राखेका छन्



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली एघार दिन सिंगापुर बसे । स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुर पुगेका देशको प्रधानमन्त्रीको स्वास्थ्य उपचार कस्तो हुँदैछ, अहिले कस्तो छ भन्ने कुरा सार्वजनिक जिज्ञासाको विषय हो । तर, सिंगो नेपाल सरकारले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे गत साताभरि कुनै सूचना सार्वजनिक गर्न आवश्यक ठानेन । अन्य मुलुकमा भएको भए हरेक दिन स्वास्थ्यसम्बन्धी विज्ञप्ति आउने थियो । एक सातासम्म पूरै देश सरकारविहीनजस्तो देखियो ।

 

प्रधानमन्त्री ओली देश बाहिर रहँदा मिडियाले पनि ‘हेडलाइन’ पाएनन् । प्रधानमन्त्री ओली काठमाडौँ रहँदा केही न केही ठट्टा गरेर भए पनि मिडियामा छाइरहन्थे । त्यसमाथि राजनीतिक सल्लाहकार पनि सिंगापुरमै थिए । सामाजिक सञ्जालमा ‘छौडा’ शब्द प्रयोग गरेर चर्चामा आएका ती राजनीतिक सल्लाहकारको प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिएन । एक प्रकारले भन्ने हो भने, प्रधानमन्त्री ओली देश बाहिर रहँदा जनताले ‘शून्य’ महसुस गर्दोरहेछ । जे होस् प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरेर स्वदेश फर्किएका छन् । सबै ढुक्क छन् ।

 

दोस्रो पटक प्रधानमन्त्रीको रुपमा ओलीले शपथ खाएको करिब १७ महिना बित्दैछ । यो १७ महिनाको समीक्षा पनि प्रधानमन्त्री ओलीले गरेका छन् । ओलीले जुन रफ्तारमा काम गर्न खोजेका थिए, त्यसअनुरुप काम नभएको पक्कै हो । अब पनि काम गर्न सकिएन भने सरकार नै निकम्मा हुनेछ त्यो पनि पक्का हो । यो १७ महिनामा काम नगर्ने मन्त्रीहरु, मुख्यसचिव, सचिव र विभागीय प्रमुखहरुमाथि कारवाही हुनुपर्ने हो । तर, त्यस्तो भएन । ‘असक्षम’ मन्त्रीहरुसँग प्रधानमन्त्रीले करार गरेर गल्ती गरेका छन् । सरकार चलाउने ओलीको यो करारनामालाई कतिपयले ‘राजाले काजीलाई, काजीले पाजीलाई….’ भनेर आलोचना गरेका छन् । हुन पनि प्रधानमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सचिवसँग, सचिवले विभागीय प्रमुखहरुसँग करार गरेको खबर बाहिर आएको छ ।

 

दुईतिहाइको सरकार यस्तो लुते नहोस् भनेरै सरकार गठन भएदेखि हरेक मन्त्रीलाई ल्यापटप वितरण गरिएको थियो । सिंगो मन्त्रिपरिषद्लाई पेपरलेस बनाइएको थियो । हरेक मन्त्रालयको कामको गति जाँच्न ‘इन्फोग्राफ’सहितको डाटा जडान गरिएको थियो । भाषण गर्दा चिप्लिएला कि भनेर सार्वजनिक सभाहरुमा ‘टेलिप्रोमटर’को व्यवस्था मिलाइएको थियो । सात प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष कुरा गर्न र राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न बालुवाटारमा ‘वाररुम’ स्थापना गरिएको थियो । यति धेरै प्रविधिद्वारा सुसज्जित हुँदा पनि देश विकासले गति लिन नसक्नु, राष्ट्रिय गौरवका आयोजना अलपत्र पर्नु र सुशासनमाथि भ्रष्टाचारले तातोपानी खन्याउनुको कारण के हो भन्ने कुरा प्रधानमन्त्री ओलीले खोज्नुपर्ने बेला आएको छ ।

 

प्रधानमन्त्री ओलीलाई उनका वरपर बस्नेहरुले कतिसम्म भ्रममा राखेका रहेछन् भन्ने कुरा काठमाडौंका सडकमा हिँड्ने बटुवाहरु ‘माक्स’बिना हिँडेको प्रधानमन्त्रीको कुराले पनि स्पष्ट पार्छ । काठमाडौँको सडकको धुँवा, धुलो ‘ब्रुमर’ले सफा गरेकाले काठमाडौँका जनता ‘माक्स’बिना हिँडेका होइनन् । ‘माक्स’ किन्ने पनि पैसा नभएर ‘माक्स’ बिना हिँड्न बाध्य भएका हुन् भनेर सत्य कुरा कसले बोलिदिने ?

 

जनताले दुईतिहाइ मत दिएर पनि सरकार असफल हुनुको पछाडि प्रधानमन्त्री, मन्त्री र सचिवहरु मात्र जिम्मेवार छैनन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार र विकासविज्ञहरु पनि उत्तिकै जिम्मेवार छन् । दिनहुँ प्रधानमन्त्रीलाई घेरेर बस्ने सल्लाहकारहरुले नै प्रधानमन्त्रीलाई सिसाको सोकेसमा बन्द गरेर राखेका छन् ।

 

त्यो भन्दा बढी जिम्मेवार चौविसै घण्टा ओलीलाई बालुवाटारमा घेरेर बस्ने दुई÷चार जना मन्त्रीहरु पनि उत्तिकै जिम्मेवार छन् । तिनीहरुले तथ्यांक देखाएर प्रधानमन्त्रीलाई अल्मल्याइरहेका छन् । प्रधानमन्त्री तिनीहरुको कुरा सुनेर दंग छन् । प्रधानमन्त्रीलाई साँघुरो घेरामा राखेर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । सर्वोच्च नेता गणेशमान सिंहले भनेझै बालुवाटारमा ‘पुच्छरले कुकर हल्लाइरहेको अवस्था छ अहिले ।’

लेखक शम्भु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...