टाट पल्टियो देश, सरकारको ऋण १० खर्ब नाघ्यो, यी हुन् नेपालका विदेशी साहु (सूचीसहित)



हाम्रो इकोनोमि

 

देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो ।

यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको छ । आव २०७५/७६ मा मात्र सरकारको ऋण १३.६५ प्रतिशतले वृद्धि भएको छ ।

यस वर्ष सरकारले कूल १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब १६ करोड ७५ लाख रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा साँवा र ब्याज गरी ७५ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।

तथ्यांकअनुसार एकै वर्ष बाह्य दाताबाट लिएको ऋण ६३ अर्ब ९ करोड रुपैयाँले वृद्धि भयो भने आन्तरिक ऋण ६२ अर्ब ६ करोडले बढ्यो । आव २०७४/७५ मा सरकारको ऋण ९ खर्ब १६ अर्ब ५१ करोड रहेको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल सरकारी ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ३०.०६ प्रतिशत पुगेको छ । यसमा बाह्य ऋणको हिस्सा १६.९८ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १३.८० प्रतिशत रहेको छ । आव २०७४/७५ मा जीडीपीको ३०.३२ प्रतिशत सरकारको कूल ऋण थियो ।

अर्थ मन्त्रालयका अधिकारीहरु जीडीपीको ३० प्रतिशत हाराहारी सरकारी ऋण हुनुलाई सामान्य मान्छन् । तथ्यांक हेर्दा सरकारले क्रमशः बाह्य ऋण घटाउँदै आन्तरिक ऋणमा जोड गरेको देखिन्छ । आव २०७४/७५ मा जीडीपीमा बाह्य ऋणको हिस्सा १७.३३ र आन्तरिक ऋणको हिस्सा १२.९० प्रतिशत रहेको थियो ।

 

देशभन्दा संस्थाको ऋण बढी

आर्थिक वर्ष २०७५/७६ मा सरकारले लिएको कुल वैदेशिक ऋणमध्ये बुहपक्षीय संस्थाबाट बढी आपूर्ति भएको छ । तथ्यांकअनुसार यस अवधिमा बहुपक्षीय दाताबाट सरकारले ६७ अर्ब ८ करोड ऋण लिएको छ भने विभिन्न देशबाट १४ अर्ब ३८ करोड ७० लाख रुपैयाँ आएको छ । आन्तरिक ऋण भने ९६ अर्ब ३८ करोड २० लाख उठेको छ ।

 

एक वर्षमा कति चुक्ता भयो ऋण ?

एक वर्षको अवधिमा सरकारले ऋणको सावाँ-ब्याज फिर्तामा ७५ अर्ब रुपैयाँ खर्च गरेको छ । तथ्यांकअनुसार यस अवधिमा सरकारले वैदेशिक ऋणको साँवा-ब्याज गरी २४ अर्ब ५४ करोड रुपैयाँ फिर्ता गर्‍यो । यस्तै, आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड रुपैयाँ खर्च भएको तथ्यांक रहेको छ ।

 

यी हुन नेपालका विदेशी साहु

विश्व बैंक र एसियाली विकास बैंक नेपालको सबैभन्दा ठूला साहु हुन् । यी दुई बैंकका विभिन्न संस्थामार्फत नेपालमा ५ खर्बभन्दा माथिको ऋण लगानी भएको छ ।

त्यसैगरी, इन्टरनेशनल फण्ड फर एग्रीकल्चर डेभलपमेन्ट, यूरोपियन इन्भेष्टमेन्ट बैंकजस्ता निकायबाट पनि ऋण आएको छ । भारत, चीन, जापान, कोरिया, साउदी अरव, फ्रान्स, कुवेत, अष्ट्रिया, बेल्जियमजस्ता मुलुकबाट नेपालले ऋण लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...