पढाइ छाडेर निगुरो टिप्दै दलित बालबालिका
कोशी गाउँपालिका–७ हरिपुरका ९ वर्षीय राहुल मुखिया दैनिकजसो कोशी कटान क्षेत्रमा निगुरो बेचिरहेका देखिन्छन् । उनी वडानम्बर ७ स्थित हरिपुरमा रहेको कोशी जनता माविमा कक्षा–४ मा अध्ययनरत छन् । गाउँकै विद्यालय पढ्ने उमेरका साथीहरूसँग कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा निगुरो टिप्ने गर्छन् उनी । गाउँनजिकै रहेको विद्यालयमा अध्ययन–अध्यापन भइरहँदा राहुलजस्ता एकदर्जन बालबालिकाको दिनचर्या निगुरो टिपेरै बित्छ ।
८ वर्षीय रञ्जित मुखिया र ११ वर्षीय सुरेश मुखिया पनि राहुलसँगै आरक्ष क्षेत्रमा निगुरो टिप्न बिहानैदेखि घुमिरहेका हुन्छन् । दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरू निगुरो खोज्दै हिँड्छन् । साँझ परेपछि टिपेको निगुरो बिक्री गर्छन् । दिनभर टिपेको निगुरो उनीहरूले प्रतिमुठा ५ देखि १५ रुपैयाँका दरले बेच्ने गर्छन् ।
त्यसबाट एकजनाले ७० देखि १ सय २० रुपैयाँसम्म कमाउँछन् । उनीहरूले टिपेर राखेको निगुरो राजमार्गमा ओहोर–दोहोर गर्ने बटुवाले किन्ने गरेका छन् । बालबालिकाले गरिबीका कारण घर खर्च धान्न अभिभावकले नै निगुरो टिप्न पठाउने गरेको स्थानीय ललित सदा बताउँछन् । ‘घर छेउमै विद्यालय भए पनि उनीहरू जाँदैनन्, बरु निगुरो टिप्न पुग्छन्’–ललितले भने । यहाँका दलित समुदायको आर्थिकस्तर कमजोर भएका कारण पनि पढाइलाई निरन्तरता दिन नसकेको ललितको कथन छ ।
दलित समुदायका अधिकांश बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन् । हरिपुर सुकुम्बासी बस्तीका मोहन सदा र मनिष सदाले कक्षा ८ पढ्दापढ्दै छाडे । २ वर्षअघि नै पढाइ छाडेका उनीहरूले अहिले मजदुरी गर्ने गरेको कोशी गाउँपालिका–७ की महिला वडासदस्य पार्वती मुखियाले बताइन् ।
घरपरिवारमा कमाउने व्यक्ति नभएकाले आफूले चाहेर पनि पढाइलाई निरन्तरता दिन नसकेको पार्वती बताउँछिन् । ‘एक छाक खाएपछि अर्को छाक के खाने भन्ने अवस्था छ, त्यसैले घर खर्च जोड्न कोही बीचमै पढाइ छाड्छन् भने कोही पढ्दापढ्दै पैसा कमाउनतिर लाग्छन्’ –पार्वतीले भनिन् ।
पढाइ छाडेर दैनिक १ सय ५० देखि ५ सयसम्म कमाएर घर खर्च जोड्न केही सहज भए पनि उनीहरूको भविष्य भने खराब हुने प्रबल सम्भावना रहेको कोशी मावि हरिपुरका प्रधानाध्यापक मोहन यादव बताउँछन् । यादवका अनुसार दलित परिवारका ४० प्रतिशत बालबालिका माछा मार्न, निगुरो टिप्न, काठ दाउरा सङ्कलनका साथै अन्य काम गर्न बीचमै पढाइ छाड्ने गरेका छन् । बर्सेनी दलित समुदायका बालबालिकाले चेतना अभावमा पढाइ बीचमै छाड्नु चिन्ताको विषय भएको प्रअ यादवले बताए ।
यसैगरी कोशी ब्यारेज क्षेत्रका कविर, मण्डल समुदायका बालबालिकाहरूले कोशी नदीमा माछा तथा काठ, दाउरा सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएका छन् । पुख्र्यौली पेशा भएकाले उनीहरूले पनि जीविकोपार्जन गर्न त्यसलाई निरन्तरता दिएको स्थानीय उमेश यादवले बताए ।
कोशी ब्यारेज आसपासका कविर र मण्डल समुदायका बालबालिकाहरूले पढाइसँगै फुर्सदको समयमा माछा तथा दाउरा बिक्री गर्दा मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्दै आएको उनले बताए । यसरी कोशी क्षेत्रका पढ्ने उमेरका बालबालिकाहरू विद्यालय जानुको साटो जोखिमका बावजुद निगुरो टिप्ने, माछा मार्ने तथा काठ–दाउरा सङ्कलन गर्छन् । उनीहरूमा जनचेतना फैलाउनु आवश्यक रहेको स्थानीय बताउँछन् ।