मानसिक रोगी बाट सरकारी सेवा ?
समायोजनमा परेका कर्मचारी मानसिक समस्या देखाउँदै काठमाडौं आउन थालेका छन् । यस अघि मानसिक समस्याका बारे सरकारलाई सामान्य जानकारी पनि नदिएका कर्मचारीले गुनासोका समयमा गम्भीर प्रकृतिको मानसिक समस्याका कारण खटिएको ठाउँमा जान नसकिने बताएका हुन् । यसले मानसिक समस्यामा भएकै कर्मचारी बाट सरकारले सेवा दिईरहेको पुष्टि गरेको छ । र, पुनः उनीहरु बाट सेवा लिईरहन बाध्य पारिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समायोजन परिमार्जन गर्न मन्त्रालयमा गुनासो राखेका कर्मचारीमध्ये १ सय ५० कर्मचारीलाई सेवा सुविधा सञ्चालन गर्ने सम्बन्धित मन्त्रालयमा पुल दरबन्दीमा राख्ने निर्णय मन्त्रालयले गरेको छ । यी मध्ये आधा भन्दा धेरैले मानसिक रोगी भएको प्रमाण पेश गरेका छन् । कर्णाली प्रदेश तथा तराईका जिल्लाहरुमा समायोजनमा परेका धेरै कर्मचारीले मानसिक रोगका कारण देखाएका छन् ।
मानसिक स्वास्थ्य तथा कडा रोग लागेको भनी मेडिकल बोर्डले सिफारिश गरेका कर्मचारीलाई मात्र पुल दरबन्दीमा राख्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कतिपय कर्मचारीले कडा रोग लागेको कारण काठमाडौं बस्ने चाहना ब्यक्त गरेका छन् । उनीहरुलाई उपचारको साटो सिंहदरवारमा राखेको आकर्षक ठाउँमा सरुवा गर्ने योजना अघि सारिएको छ । आफूलाई मानसिक स्वास्थ्यको समस्या देखाउन सम्बन्धित कर्मचारी डिपे्रेशन भएको जनाउँदै डाक्टरसँग जान्छन् ।
डाक्टरले पनि डिप्रेशन भएको प्रेसक्राइप गर्ने गर्छन् । त्यसपछि उ मेडिकली डिप्रेशनको विरामी हुन्छ । समायोजन पछि पुल दरबन्दीमा आउँने कर्मचारीमध्ये अधिकांश पहुँचको भरमा आएका छन् । पुल दरबन्दीमा आएका कर्मचारी मध्ये स्वास्थ्य सेवाका ३३ जना र कम्प्युटर टाइपसुब्बा २२ जना कर्मचारी छन् । । निजामति तर्फ ६ हजार ९ सय ५ जना तथा स्वास्थ्य तर्फ १२ हजार ३सय ६ जना असन्तुष्ट कर्मचारीले समायोजन परिमार्जन गर्न माग राख्दै मन्त्रालयमा निबेदन दिएका थिए ।
समायोजन परिमार्जन गर्न दिइएका निबेदनमध्ये करिब १४ हजार कर्मचारीको गुनासो सम्बोधन गरिएको थियो । मानसिक समस्या भएका कर्मचारीलाई उपचारका लागि पठाउनु पर्नेमा सरकारले सिंहदरवारमा थुपारेको छ । समायोजनपछि गुनासो सुन्दै सरकारले उनीहरुको लागत संकलन गरेको थियो । उनीहरुले चिकित्सककै रिपोर्ट ल्याएर गुनासोमा निवेदन दिएका छन् । ‘सामान्यतया मानसिक समस्या भएको मानिस बाट सही निर्णय हुन सक्दैन ।
‘मेडिकल्ली’ रुपमा नै कडा खालको मानसिक रोगको प्रमाणित भएका कर्मचारीलाई काममा होईन उपचारमा लैजानु पर्छ’–पूर्वसहसचिव कैलाशनाथ खरेल बताउँछन् । सरकारले मानसिक विरामीको बाहना बनाएका १ सय ५० कर्मचारीलाई केन्द्रमै समयोजन गरेको छ । समायोजनमा प्रदेश र स्थानीय तहमा जानु पर्ने भए पछि मानसिक समस्याको कारण देखाउँदै १ सय ५० कर्मचारी केन्द्रमै आउन हुन सफल भएका छन् ।
विना मापदण्ड र परिक्षण विना नै कर्मचारीको निबेदनको आधारमा सरकारले ती कर्मचारीलाई संघमा समायोजन गरेको हो । मेडिकल बोर्डको सिफारिसमा १सय ५० कर्मचारीलाई सेवा सुविधा दिने सम्बन्धित मन्त्रालयमा पुल दरबन्दीमा राख्ने निर्णय भएको हो । त्यस्ता कर्मचारीले सम्बन्धित मन्त्रालयमा हाजिरी गर्ने गर्छन् । महिला विकास कार्यालयमा काम गर्नेदेखि लेखामा काम गर्ने कर्मचारीले पनि मानसकि समस्या देखाएका छन् ।
गाउँपालिकाकामा प्रदेश मन्त्रालयमा समायोजनमा परेका कर्मचारीले मानसिक समस्या देखाएका छन् । निजामति तर्फ आएका गुनासोमध्ये ५ हजार ७ सय ९ कर्मचारीको गुनासो सम्बोधन भएको छ भने स्वास्थ्यतर्फ ८ हजार ७सय ५४ जना कर्मचारीको गुनासो सम्बोधन भएको छ । प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई पुल दरबन्दीमा ल्याउँदा मन्त्रिपरिषद्को बैठक निर्णय गर्नु पर्ने हुन्छ । १सय ५०जना जना कर्मचारीलाई पुल दरबन्दीमा ल्याउने निर्णय संघीय मन्त्रालयले गरेको छ ।
यसपछि अन्य कर्मचारीलाई पनि यसैगरी पुल दरबन्दीमा ल्याइने तयारी भएको छ । यसकोलागि प्रक्रिया सुरु भएको पनि अर्का एक कर्मचारीले बताए । पुल दरबन्दीको व्यवस्था कर्मचारी समायोजन ऐन २०७५मा पनि गरिएको छ । समायोजन ऐनले पुल दरबन्दीलाई संघकै दरबन्दी मानेको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुँदा पुल दरबन्दीमा कर्मचारी भरिएका हुन्छन् ।
अस्वस्थ्य कर्मचारीलाई ७ वर्षको सुविधा दिइ विदाइ गरिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बताएपछि कडा खालको मानसिक रोगी भएको प्रमाण खोज्न कर्मचारीहरु लागेका छन् । सरकारले मानसिक तथा शारिरीक रूपमा अस्वथ्य कर्मचारीलाई १ वर्ष देखि ७ वर्षसम्मको सेवा सुविधा थप गरी अवकाश दिने तयारी गरेको उनले बताएका थिए । संसदको समितिमा प्रस्तुत संघीय निजामती सेवा ऐन २०७५को मस्यौदामा शारीरिक तथा मानसिक रूपमा अस्वस्थ्य कर्मचारीलाई सेवा अवधिको १ वर्ष देखि ७ वर्षसम्म काम गरेको समय थप गरी सेवा सुविधा थप गरी अवकास दिने व्यवस्था राखिएको जानकारी गराएका थिए ।
यो ब्यवस्थाले पेन्सनको अवधि पुगेका कर्मचारीलाई पनि १ वर्ष देखि ७ वर्षसम्म काम गरेको समय थप गरी सेवा सुविधा पाउने छन् । साथै, शारीरिक तथा मानसिक रुपमा अशक्त भएका कर्मचारीलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिने पनि मन्त्रीले बताएका थिए । मानसिक रोग कर्मचारीहरुले गम्भीर प्रकारको मानसिक रोग लागेको कारण समायोजनमा जान नचाहेको बताएका छन् । मानसिक रोगलाई बिभिन्न चरणमा ब्यख्या गरिएको छ । मेनियाः यो रोग लागेपछि बिरामीले टेर्दैन, भनेको नमान्ने हुन्छ ।
आक्रोसमा आई पिट्ने गर्छ । झगडा गर्न तम्सिन्छ । कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलर डिसअर्डर भनिन्छ । सिजोफ्रेनियाः यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ, बिरामीले सरसफाइमा ध्यान नदिने, घरबाट भाग्ने, दैनिक काममा मन नलगाउने,संगत छोड्ने आदि हुन्छ । त्यस्तै अन्य मानसिक रोगहरुमा छारेरोग पनि हो । यसमा अचानक शरीर कडा हुने, काम्ने, बेहोस हुने,आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि हुन्छ । त्यसै गरी लागूऔषधको सेवन अनि रक्सीको कुलत पनि मानसिक रोग हो, जसमा रोगीले आफ्नो कुलत छोड्न नसक्ने स्थितिमा पुगेको हुन्छ । यस्तो कुलतले मुटु–कलेजोको रोग, डिमेन्सिया, डर लाग्ने, डिप्रेसन पनि हुन सक्छ ।
अर्को खाले भनेको सुस्त मनस्थिति भएकाहरु पनि छन् । जसमा उनीहरुको बौद्धिक क्षमतामा कमी हुन्छ । सिक्ने, पढ्ने कुरामा निकै पछि पर्छन् । यस्तोमा उनीहरुलाई सीप सिकाई उनीहरुको बुद्धिले भ्याएसम्मको काममा लगाउनुपर्छ । मानसिक रोग लागे के गर्ने ? सरकारीस्तरबाट सञ्चालन हुँदै आएको एकमात्र मानसिक अस्पताल, लगनखेलमामनोरोगका बिरामी उपचारका लागि जान सक्छन् । अन्य सरकारी अस्पताल र निजी अस्पतालमा पनि मानसिक रोगको उपचारका लागि छुट्टैविभाग सञ्चालन गरिएका छन् । केही गैरसरकारी संस्थाले पनि यसको उपचार गर्न सहयोग गर्दै आएका छन् ।
काठमाडौंबाहिर धरान, विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज, बुटवल, वीरगञ्ज, भैरहवाजस्ता मुख्य शहरका स्वास्थ्य संस्थामा पनि मानसिक रोग विशेषज्ञहरुले सेवा दिँदै आएको पाइन्छ । अधिकांश मानसिक बिरामीहरु सबैतिरबाट वाक्क भएर जटिल भएपछि मात्र उपचारका लागि अस्पताल धाउँछन् । मानसिक रोग खतरनाक हुन्छ, उनीहरुलाई अस्पताल जान सुझाउन धामीझाँक्रीहरुलाई पनि यो अभियानमा ल्याइनुपर्ने धारणा छ । मानसिक रोगी राम्रो विज्ञकहाँ जँचाएर उचित परामर्श लिई उपचार गराएमा ठीक हुन्छन् । तर उपचार शुरु गरिसकेपछि डाक्टरको सल्लाहविना बीचमै औषधि छाड्नुहुन्न ।
मानसिक रोग उपचारका विभिन्न विधि छन् । कग्निटिभ बिहेवियर थेरापी (सीबीटी),हिप्नोसिस थेरापीदेखि चाइनिज विधि अकुपञ्चर पनि छन् । तर मानसिक सन्तुलन गुमाएका बिरामीलाई यी विधि त्यति काम लाग्दैनन् । सामान्य खालका मानसिक रोगी, लागूऔषध–अल्कोहलबाट सृजित समस्यामा यी विधि काम लाग्न सक्छन् । तर अरुलाई औषधि नै चलाउनुपर्छ । महत्वपूर्ण कुरा दिनमा कम्तीमा आधा घण्टा पसिना निकाली व्यायाम गर्नाले, राम्रो भोजनले पनि स्वस्थ हुन मद्दत गर्छ ।
एन्जाइटी डिसअर्डर हुनेले कडा खालको कफी, चिया नपिउनु नै बेस हो । धूमपान तथा मद्यपान नगर्नु भनेरसल्लाह दिने चिकित्सकहरु बताउँछन् मानसिक रोगीसँग गर्ने व्यवहार सही हुुनुपर्छ । जहिल्यै पनि प्रोत्साहनपूर्वक व्यवहार गर्नुपर्छ । मानसिक रोग लाग्दैमा मान्छे अयोग्य हुँदैन । उपचारपछि पुनः दक्षतापूर्वक काम गर्न सक्छ । बिरामीका लागि मिल्दो व्यवहार नै उसको पहिलो औषधि हो । मानसिक रोगीलाई घर–परिवारको एकदम खाँचो हुन्छ । तर रोग लागेको थाहा पाएपछि उपचारको साटो लुकाउने चलन छ । यस्ता बिरामीलाई साङ्लोमा बाँध्ने, थुनेर राख्ने, हेला गर्ने, यातना दिने गरेको पाइन्छ । यो अबुझपन हो । -जनप्रशासन पाक्षिकबाट