को हुन् पर्यटनमन्त्री योगेश भट्टराई ?



हाम्रो इकोनोमि

 

बुधबार दिउँसो एक्कासी आएको एउटा खबरले नेकपा कार्यकर्ताहरुमा खुशी छायो । बधाई र शुभकामनाले सामाजिक सञ्जाल रंगियो । सत्तारुढ नेकपाका कार्यकर्तामात्र होइन विपक्षी दलका नेता/कार्यकर्ताले समेत बधाई र शुभकामना दिए ।

वास्तवमा भट्टराई प्रतिनिधिसभा निर्वाचनताका नै मन्त्रीका लागि चर्चामा रहेका उम्मेदवार दिए । चुनाव जिते उनी मन्त्री हुने धेरैको अपेक्षा थियो । त्यही किसिमले प्रचार—प्रसार पनि भइरहेको थियो । किनकी, तत्कालीन एमालेको पदाधिकारीभित्र लाभको पदमा नपुगेका एक मात्र पात्र भट्टराई थिए ।

तत्कालीन एमालेका सचिव एवं प्रचार विभाग प्रमुख समेत रहेका उनी आफ्नै गृहजिल्ला ताप्लेजुङबाट वाम गठबन्धनको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका थिए ।

भट्टराई काँग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार पाँच सय ९१ मतले हराउँदै विजयी भए । भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दाहालले १६ हजार ८ सय ८८ मत ल्याए ।

तर, चुनाव जितेर आएपनि भट्टराईले मन्त्री बन्न पाएनन् । आकांक्षी सबैजना एकैपटक मन्त्री बन्न सम्भव पनि थिएन, हुँदैन पनि । तर, जब योगेश मन्त्री बनाइएनन् तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना सुरु भयो । नहोस् पनि किन, उनै ओलीले भट्टराईको चुनावी सभालाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका बेला भनेका थिए–योेगेशलाई चुनाव जिताएर पठाउनुस्, म मन्त्री बनाएर पठाउँछु ।

जब, उनै ओली प्रधानमन्त्री भए, तीन/चार पटक मन्त्रीमण्डल विस्तार गरे तर, भट्टराई मन्त्रीमण्डलमा अटाएनन् । ओलीसँग आक्रोशित कार्यकर्ताले ताप्लेजुङको भाषणलाई ‘भाइरल’ बनाए । यद्यपी, योगेश मन्त्री बनेनन् ।

भट्टराई पार्टीभित्र अध्यक्ष ओलीइतर लाइनका रुपमा परिचित छन् । त्यसकारण फरक समूहकै भएका कारण ओलीले उनलाई मन्त्री बनाएनन् भन्नेखालका प्रचार पनि गरिए ।

संसदको सार्वजनिक सुनुवाई समितिमा रहेका भट्टराईले प्रभावकारी काम गरेका थिए । प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वाेच्चका विवादित न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्ने काममा भट्टराईले नेतृत्व गरेका थिए ।

साथै, चिकित्सा शिक्षा विधेयक पास गराउनमा पनि भट्टराईले महत्वपूर्ण भूमिका खेलेका थिए । मन्त्री नबनाइएपछि कतिपयले उनलाई सुनुवाई समितिको सभापति बनाउनुपर्ने माग राखेका थिए । तर, भागबण्डा गर्दा राजपाका लक्ष्मणलाल कर्णलाई समिति सभापति बनाइएको थियो ।

नेतृत्वले गरेका गलत कामको खुलेर विरोध गर्ने स्वभाव भट्टराईमा छ । संसदमा समेत सरकारले गरेका गलत कामको खबरदारी र राम्रो कामको प्रसंशा गर्ने भूमिका उनी प्रस्तुत हुन्छन् । भट्टराईको यही बानीका कारण उनी मन्त्री बन्न सकेनन् भन्ने टिप्पणी पनि नसुनिएका होइनन् ।

तर, नेकपाभित्र प्रष्ट वक्ताको परिचय बनाएका, अहिलेसम्म कुनैपनि लाभको पदमा नपुगेका र मन्त्रीका लागि जनस्तरबाट निकै रुचाइएका उनै भट्टराई अन्तत : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बनेका छन् ।

गएको फागुन १५ गते भट्टराईकै जिल्ला ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन मन्त्री रबीन्द्र अधिकारीको निधन भएपछि मन्त्रालयको नेतृत्व प्रधानमन्त्री ओलीले नै गरिरहेका थिए । संयोगले १५ गते (साउन) गते नै प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मा दिएका छन् ।

केही समय पहिले ओलीले भट्टराईलाई बालुवाटार बोलाएर मन्त्रीका लागि तयार रहन भनेका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूइतर समूहका नेताहरुलाई समेत बालुवाटार बोलाएर हार्दिकतापूर्वक भेटघाट गर्ने गरेको समाचारहरु बाहिर आएका छन् ।

कार्यकर्ता र जनस्तरमा निकै रुचाइएका भट्टराईले मन्त्री हुँदा त्यो साख जोगाउछन् या जोगाउँदैनन् त्यो उनको कार्यकालले बताउने नै छ । यदि, उनले आफ्नो पहिलो कार्यकालमा राम्रो ‘पर्फमेन्स’ दिन सके भने पक्कै पनि उनको आगामी राजनीति यात्रा थप उज्यालो हुनेछ ।

को हुन् योगेश भट्टराई ?

योगेश भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो ।

उनले अखिलमा विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा बसेर काग गरेका थिए । भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका हुन् ।

भट्टराईले स्कुल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कुल पढ्ने समयमै वामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमीकै थिए ।

उनी २०४० सालमा पञ्चायत विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परेका थिए । २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भएका भट्टराई २०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका थिए । त्यसपछि भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए ।

२०६२/६३ को जनआन्दोलनमा एमाले काठमाडौँ उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौँ महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भएका थिए ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँबाट पराजित भएका उनी गएको प्रतिनिधिसभमा निर्वाचनमा भने ताप्लेजुङबाट भारी मतका साथ विजयी भएका थिए । भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...