ओली सरकारको अर्को सफलता, दुई खर्ब ८२ अर्बका उद्योग खुल्दै



हाम्रो इकोनोमि

 

आर्थिक वर्ष ०७५/७६ मा ४३६ वटा नयाँ उद्योग दर्ता गरिएका छन् । ती उद्योगमा दुई खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरै लगानीको योजना छ । उद्योग विभागका अनुसार, कृषि तथा वनजन्य, निर्माण, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, खनिज, पर्यटनलगायतका क्षेत्रमा नयाँ उद्योग सञ्चालन हुन लागेका छन् । आर्थिक वर्ष ७५/७६ मा नयाँ उद्योगमा आएको लगानी, उद्योग दर्ता संख्या र रोजगारी सृर्जना दर अघिल्लो वर्षभन्दा न्यून हो ।

 

आर्थिक वर्ष ०७४/७५ मा कुल ४ सय ९८ उद्योगका लागि ३ खर्ब ५० अर्ब ७३ करोड २१ लाखभन्दा धेरै लगानी आएको थियो । त्यस वर्ष ४९८ उद्योग दर्ता भएका थिए जसबाट २७ हजार ३ सय ८२ वटा नयाँ रोजगारी सिर्जना भए । यो संख्या गत वर्ष ५ हजारभन्दा धेरैले घटेको छ ।

 

आव ०७५/७६ मा ४३६ उद्योगले २२ हजार ९६१ जनालाई नयाँ रोजगारी सृर्जना गरेको विभागको १२ महिनाको तथ्यांङ्कमा उल्लेख छ । लगानीकर्ताको मनोबल खस्किँदा नयाँ रोजगारी सिर्जना पनि निराशाजनक देखिएको छ ।

 

आर्थिक वर्ष ०७५/७६ मा स्वदेशी तथा विदेशी लगानीका गरी २७ वटा उद्योग कृषि तथा वनजन्य क्षेत्रमा थपिएका छन् । कुल ९ सय ९२ जनालाई रोजगारी सिर्जना गर्ने यी उद्योगमा ४ अर्ब १० करोड ६० लाख लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा आएको लगानी, उद्योग संख्या तथा रोजगारी सिर्जना अघिल्लो वर्षभन्दा बढी हो । अघिल्लो वर्ष ६५३ जनालाई रोजगारी सिर्जना गर्नेगरी २२ उद्योगमा २ अर्ब ५१ करोड हाराहारी लगानी भएको थियो ।

 

निर्माण क्षेत्रमा यस वर्ष नयाँ उद्योग आउने क्रम घटेको छ । अघिल्लो वर्ष निर्माण क्षेत्रका ४ उद्योगमा ४ अर्ब ७३ करोडभन्दा धेरै लगानी आएको थियो । ती उद्योगबाट २५३ जनालाई प्रत्यक्ष रोजगारी मिल्ने भनिएको थियो । तर यस वर्ष यस क्षेत्रमा जम्मा ३ उद्योग मात्र दर्ता भएका छन् । यी उद्योगका लागि एक अर्ब लगानी हुने र १५३ जनालाई रोजगारी सिर्जना हुने बताइएको छ ।

 

ऊर्जा क्षेत्रमा आर्थिक वर्ष ०७४/७५ मा २ खर्ब ३३ अर्ब ९१ करोड ५६ लाख ५० हजार बराबरको ३९ उद्योग दर्ता भएका थिए । यी उद्योगले दुई हजार ५९६ जनालाई रोजगारी सिर्जना गर्ने क्षमता थियो । यो वर्ष ४७ यस्ता उद्योगमा २ खर्ब १० अर्ब ४० करोड २६ लाख २० हजार कुल पुँजी भित्रिएको छ । अघिल्लो वर्षभन्दा झण्डै २३ अर्बले लगानी कम भित्रिए पनि उद्योग संख्या र नयाँ रोजगारी सिर्जना दर भने बढेको छ ।

 

सूचना प्रविधि क्षेत्रमा यस वर्ष ५७ करोड ७२ लाख ८० हजार लगानीको २१ उद्योग दर्ता भएका छन् । यी उद्योगले ९१८ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । अघिल्लो आर्थिक वर्ष एक हजार ८८ जनालाई रोजगारी सिर्जना गर्नेगरी ७५ करोड लगानी भित्रिएको थियो ।

 

उत्पादनमूलक क्षेत्रमा १० हजार ६६७ जनालाई रोजगारी सिर्जना गर्नेगरी ११८ उद्योग स्थापना भएका छन् । यसका लागि कुल पुँजी ५० अर्ब ६ करोड ४९ लाख ४० हजार लगानी भएको छ । गत वर्ष यस क्षेत्रमा ७७ अर्ब बढी लगानीमा १३२ उद्योग दर्ता प्रक्रिया अघि बढेको थियो । अघिल्लो वर्ष १२ हजार ३२२ जनालाई रोजगारी सिर्जना हुने भनिएको थियो ।

 

खनिजजन्य उद्योगमा एउटा मात्रै उद्योग दर्ता भएको छ । कुल पुँजी १२ करोड ८० लाख रहेको उक्त उद्योगले ८५ जनालाई रोजगारी दिन सक्छ । अघिल्लो आर्थिक वर्ष यस क्षेत्रमा कुल पुँजी २ अर्बभन्दा धेरै रहेका ४ उद्योग दर्ता भएका थिए ।

 

यसैगरी, सेवामूलक क्षेत्रमा यस वर्ष ३ हजार ६६७ जनालाई रोजगारी सिर्जना गर्ने गरी १०१ उद्योग दर्ता भएका छन् । कुल पुँजी ५ अर्ब ४५ करोड ६५ लाख ५० हजार बराबरको लगानीको प्रतिवद्धता भएको छ । अघिल्लो वर्ष सेवामूलक क्षेत्रमा ११४ उद्योग दर्ता भएका थिए । ती उद्योगमा ५ अर्ब १२ करोडभन्दा धेरै लगानी हुने भनिएको थियो ।

 

पर्यटन क्षेत्रमा आर्थिक वर्ष ०७५/७६ को १२ महिनामा ११७ उद्योग दर्ता भएका छन् । कुल चुक्ता पुँजी ११ अर्ब ४ करोड ४ लाख ४० हजार रहने यस्ता उद्योगले ३ हजार ७ सय ६ जनामा रोजगारी सिर्जना गर्ने छ । अघिल्लो वर्ष यस क्षेत्रमा १५९ उद्योगका लागि २३ अर्बभन्दा बढी लगानी प्रतिवद्धता आएको थियो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...