उत्तरी रसुवाका किसानले कोदो रोप्न थाले



हाम्रो इकोनोमि

 

 

तीन दिनदेखि लगातार परेको वर्षाले बारीको गरामा पर्याप्त चिसोपन बढाएपछि उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् ।

वर्षाको ‘सिजन’अन्तर्गत उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख बाली कोदो भएको र उच्च भू–भागमा कोदो पाक्न बढी समय लाग्ने र अर्काेतर्फ असोजबाटै चिसोपन बढ्ने भएका कारण उत्पादनमा सन्तुलन ल्याउन असार महीनामै कोदो रोपण शुरू गरिएको स्थानीय किसान याकबहादुर लिम्बूले बताउनुभयो ।

समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइ क्षेत्रमा शनिबारबाट कोदोरोपण शुरू भएको किसानले बताएका छन् ।

उत्तरी रसुवाको गोल्जुङ, चिलिमे तथा थुमनको बेँसी क्षेत्रमा छोमरूङ जातको धान न्यून रूपले उत्पादन हुने गरेको र चिसोपानीमा उत्पादन भएको रातो धानको चामलबाट पकाएको भात स्वादिलो हुने भएबाट स्थानीयवासीले आफ्नो खेतको उब्जाएको धानलाई चाडपर्वमा मात्र अधिकतम उपयोग गर्ने गरेको गोल्जुङका मिलन तामाङले जानकारी दिनुभयो ।

यसैगरी दक्षिणी रसुवाको धैवुङ, भोर्ले लहरेपौवा, डाँडागाँउ, ठूलोगाउँ, सरमथली र यार्साको प्राय स्थानमा धान उत्पादन हुने गरेको छ । निरन्तर वर्षा भर्खरै मात्र शुरू भएकाले अब धान रोपाइँका लागि पानीको मूल कतिखेर फुट्छ भन्ने पर्खाइमा रहेको किसानको भनाइ छ ।

पहिरेबेँसी, कैदलटार, वेत्रावती, कुडुले, सत्तरी, जलजले, लामासोती, कप्तलीटारका ठाउँमा समथर भू–भाग भए पनि अन्य स्थानका अधिकांश खेत भिरालो धरातलमा भएकाले पर्याप्त पानीको मात्रा नपुग्ने र उत्पादनसमेत कम हुने भएकाले रसुवा जिल्लाले झण्डै आधाजसो खाद्यान्नमा परनिर्भर हुुनुपर्ने बाध्यता रहेको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार रसुवा जिल्लामा अक्सर बसोबास गर्नेको सङ्ख्या ४३ हजार रहेको छ ।

दक्षिणी रसुवाको पहिरेबेँसीमा भुन्टे, कुडुलेफाँटको खुमलचार धानको चामल स्वादिष्ट मानिने भए पनि खेती गर्ने किसानको मेहनत अत्यन्तै कमी हुँदै गएको स्थानीयवासीको भनाइ छ । रसुवा जिल्ला राजधानी काठमाडौँबाट नजिक नेपाल–चीन जोड्ने रसुवागढी नाका भएको र व्यापारी व्यवसायीको चहलपहलले खाद्यान्न बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । रसुवाको खेतीयोग्य जमीन भने १२ हजार हेक्टर रहेको कृषि तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...