राखेपको सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा रमेश सिलवाललाई नियुक्त गर्ने तयारी गरेको छ । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल असार ९ गते सकिएपछि सरकारले राखेपमा सिलवाललाई ल्याउन लागेको हो ।
सोमबार मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति हुने स्रोतले बताएको छ । सिलवाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भेटेर यस विषयमा छलफल गरेका थिए ।
हाम्रो इकोनोमीसंग कुराकानीमा सिलवालले राखेपको सदस्य सचिवबारे टुंगो लागिसनसकेको बताए । उनले भने ‘मैले मेरो सबै कुरा राखिसकेको छु । अब भोलि निर्णय हुदैछ । हेरौं को बन्छ ?’
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष रहिसकेका सिलवल गोल्डेन गेट कलेजका सञ्चालक र उच्च माध्यमिक विद्यालय एसोसिएसनका अध्यक्षसमेत हुन् ।
यसअघि सरकारले सिलवाललाई नेपाल क्रिकेट संघको तदर्थ समितिको संयोजक बनाएको थियो । सदस्यसचिवको दौडमा निर्वतमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र सिलवाल थिए ।