कुन नेताको योग्यता कति ? क्याबिनेटमा पीएचडी डाक्टरदेखि एसएलसी पाससम्म



 

वनमन्त्री शक्ति बस्नेत मन्त्रालयको व्यस्त दैनिकीसँगै यतिबेला आफ्नै परीक्षाको तयारीमा छन्। राजनीतिशास्त्रको स्नातकोत्तर (एमए) का लागि मन्त्री बस्नेतले अहिले परीक्षा दिइरहेका छन्। बानेश्वरस्थित गोल्डेन गेट कलेजबाट उनले ‘तेस्रो पेपर’ को परीक्षा सकाए। अझै दुइटा विषयको परीक्षा बाँकी नै छ। राजनीतिशास्त्रमै स्नातक बस्नेत स्नातकोत्तर तहसम्मको अध्ययनले अझ बढी राजनीतिमा निखार ल्याउने उद्देश्यले अध्ययनमा लागेका हुन्।

 

उनी मात्रै होइन, कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि अहिले राजनीतिशास्त्रकै एमको परीक्षा दिइरहेका छन्। उनको सेन्टर भने प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा परेको छ। व्यवस्थापन संकायमा स्नातकोत्तर गरिसकेका घिमिरे ‘आफैं राजनीतिमा लागेको मान्छे जीवन व्यवहारमा सिद्धान्त कत्तिको प्रयोगमा आएको रहेछ दाँजेर हेर्न अध्ययनमा लागेको’ बताउँछन्।

 

‘राजनीतिशास्त्रसँग हाम्रा कति अभ्यास व्यवहारतः प्रयोग हुँदै आएका रहेछन् ? सिद्धान्त कहाँ छ, व्यवहारमा हामी काहाँ छौं ? भन्ने बुझ्नका लागि रुचि लाग्यो,’ घिमिरे भन्छन्,– ‘अहिले पार्टीमा धेरै जिम्मेवारी पनि छैन, आफूसँग बचेको समय उपयोग गर्न मैले पढ्ने सोचाइ बनाएँ र अध्ययन गर्न थालेको हुँ।’

 

नेकपा संसदीय दलका सचेतक छिन्, – शान्ता चौधरी। पूर्वकमलरी उनले यसै वर्ष माध्यमिक शिक्षा (एसईई) परीक्षा उत्तीर्ण गरिन्। छोरासँगै एसईई दिएकी उनले परीक्षामा २.६५ जीपीए ल्याएर उत्तीर्ण भएपछि अब कानुन विषय अध्ययन गर्ने बताएकी छन्। ऐन/कानुन बनाउने संसदीय भूमिकामा रहेकी उनले एउटा गरिब कमलरीको सन्तानका रूपमा जन्म लिनेले पढाइको सपना देख्न छोडे हुन्छ भनी गिज्याउने र सधैं दासी देख्न चाहनेलाई जवाफ दिन पनि अध्ययन गरेको बताइन्।

 

‘धेरै नम्बर ल्याउन सक्ने परिस्थिति थिएन। पूरै समय दिएर अध्ययन गर्ने वातावरण पनि नहुँदा पनि परिणामसँग पूर्णरूपमा सन्तुष्ट छु।’ परीक्षा उत्तीर्णपछि उनले सामाजिक सञ्जालमै लेखिन,– ‘सबै अवस्था बुझ्दाबुझ्दै पनि मेरो कमलरी हुँदाको विगतलाई सम्झाएर बारम्बार हेप्नेहरू र मेरो अध्ययनको विषयलाई लिएर उपहास गर्नेहरूप्रति पनि कुनै गुनासो छैन किनकि सम्भ्रान्त वर्गको वर्गीय शोषणको चरम रूप देखेको र भोगेको मान्छे हुँ म। आँखा उस्तै देखिए पनि, दृश्य उस्तै देखिए पनि दृष्टिकोण फरकफरक हुन्छ भन्ने राम्रोसँग थाहा छ मलाई।’

 

उनी मात्रै होइन, राजनीतिमा आएकी नायिका करिश्मा मानन्धरले पनि यसै वर्ष एसईईको परीक्षा उत्तीर्ण गरिन्। मानन्धरले ३ जीपीए ल्याएर उत्तीर्ण गरिन्। अब व्यवस्थापन संकायमा सरकारी कलेज पढ्ने उनले प्रतिक्रिया दिएकी छन्।

 

क्याबिनेटमा पीएचडी डाक्टरदेखि एसएलसी पाससम्म

केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका छन्।

 

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणि खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पीएचडीकै मानार्थ उपाधि दिएका छन्।

 

प्रमाणपत्र तहमात्र अध्ययन गर्ने क्याबिनेट मन्त्रीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन्।

 

ओली सरकारको मन्त्रिमण्डलमा सबैभन्दा बढी स्नातक गरेका नेता छन्। ९ जना मन्त्रीले स्नातकसम्मको अध्ययन गरेका छन्। त्यसैमध्येका वनमन्त्री स्नातकोत्तरको पनि अहिले परीक्षा दिइरहेका छन्। अन्य स्नातक गरेका मन्त्रीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत छन्। पोखरेलले बीएड अध्ययन गरेका छन्। गृहमन्त्री थापाले रामपुर क्याम्पसबाट आईएस्सीएजी सकेर मस्कोको लुमुम्बा विश्वविद्यालयबाट बाली विज्ञानमा स्नातक गरेका छन्।

 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल ल क्याम्पसबाट बीएलसम्मको अध्ययन सकेका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्।

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र खानेपानीमन्त्री विना मगरले बीएसम्मको अध्ययन गरेका छन्। बाँस्कोटाले आरआर र मगरले सरस्वती क्याम्पसबाट स्नातक गरेका हुन्। त्यस्तै, भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले भक्तपुर बहुमुखी क्याम्पसबाट बीएड पास गरेकी छन्।

 

६ जना नेताले भने स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञान संकायमा स्नातकोत्तर र कानुन विषयमा स्नातक गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

 

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले क्रिश्चियन डिग्री कलेज लखनउबाट बीएस्सी र लर्ड बुद्ध कलेज भारतबाट स्नातकोत्तर गरेका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तह पूरा गरेका छन्। अर्थमन्त्री युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले पीएचडीसम्मको अध्ययन सकेका छन्। क्याबिनेटमा एक मन्त्री भने अहिले रिक्त छ।

 

राजनीतिक दलमा

नेकपा स्थायी समितिमै झन्डै २० प्रतिशत एसएलसीवाला मात्रै छन्। सत्तारूढ दल नेकपाको माथिल्लो निकाय सचिवालयमा ९ नेता छन्। पार्टीका दुवै अध्यक्ष र वरिष्ठ नेताहरू रहेको यो कमिटिमा सबैभन्दा बढी अध्ययन गर्ने नेतामा प्रवक्ता नारायणकाजी श्रेष्ठ देखिएका छन् भने सबैभन्दा कम प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली, नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल देखिएका छन्। श्रेष्ठले जनप्रशासनमा एमए (स्नातकोत्तर) गरेका छन् भने ओली, गौतम र पौडेलले माध्यमिक शिक्षाको (एसएलसी) अध्ययन गरेका छन्।

 

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि विज्ञानमा स्नातक गरेका छन्। उनले रामपुर कृषि क्याम्पसबाट आईएस्सी र बीएस्सीएजी गरेका छन्। वरिष्ठ नेता माधव नेपालले व्यवस्थापनमा स्नातक र झलनाथ खनालले राजनीतिशास्त्र र इतिहासमा स्नातक गरेका छन्। ईश्वर पोखरेलले बीएड, रामबहादुर थापाले बाली विज्ञानमा स्नातक गरेका छन्।

 

स्थायी समितिमा रहेका अन्य ३६ नेतामध्ये ५ जनाले एसएलसी, २ जनाले प्रवीणता प्रमाणपत्र तह, १८ जनाले स्नातक, ८ जनाले स्नातकोत्तर र २ जनाले पीएचडी र एकजनाले संस्कृतमा प्रथमासम्मको अध्ययन गरेका छन्। स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, चक्रपाणि खनाल, प्रदीप ज्ञवाली र सत्यनारायण मण्डल, रघुजी पन्तले एसएलसीसम्म मात्र अध्ययन गरेका छन्। सचिवालयमा रहेका अन्य तीन नेता प्रधानमन्त्री ओली, गौतम र पौडेलसहित ८ जना नेताले नेकपाको ४५ सदस्यीय स्थायी समितिमा एसएलसी मात्र गरेका छन्। एसएलसी पास मात्र गर्ने नेतामा कुल स्थायी समितिको १७ दशमलव ७७ प्रतिशत नेकपा स्थायी समितिमा छन्।

 

स्थायी समिति सदस्य अग्नि सापकोटाले अर्थशास्त्र र नेपालीमा स्नातकसम्मको अध्ययन गरेका छन्। छविलाल विश्वकर्मा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ र देवेन्द्र पौडेलले पनि स्नातक तहसम्मको अध्ययन गरेका छन्। रायमाझीले अमृत साइन्स क्याम्पसबाट बीएस्सी, गुरुङले शिक्षा शास्त्रमा स्नातक गरेका छन्। उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल ओभरसियर पनि गरेका छन्। पौडेलले आईकम र आईएपछि बीएडसम्मको अध्ययन गरेका छन्। मणि थापाले पनि स्नातक तहसम्मको अध्ययन गरेका छन्।

 

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले बीएससी र ऊर्जामन्त्री समेत रहेका वर्षमान पुनले बीएल, मुकुन्द न्यौपानेले प्रथमा (संस्कृत) र युवराज ज्ञवालीले बीएसम्मको अध्ययन गरेका छन्। किरण गुरुङले आईएस्सी, मातृका यादवले प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका छन्। गणेश साह, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, पम्फा भुसाल, योगेश भट्टराईले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

 

रघुवीर महासेठले बीई, लीलामणि पोखरेलले भूगोलमा स्नातक, लेखराज भट्टले राजनीतिशास्त्रमा स्नातक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका विष्णु रिमालले सिभिल इन्जिनियरिङमा स्नातकसम्मको अध्ययन गरेका छन्।

 

शक्ति बस्नेत स्नातक, प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल स्नातकोत्तर, सुरेन्द्र पाण्डे स्नातकोत्तर र पूर्वसभामुखसमेत रहेका सुवास नेम्बाङले कानुन र मानविकी संकायमा स्नातक गरेका छन्। हरिबोल गजुरेलले शंकरदेव क्याम्पसबाट बीकम गरेका छन्। नेकपा स्थायी समितिका दुई नेताले भने पीएचडी गरेका छन्। वेदुराम भुसाल र भीम रावलले पीएचडी सकाएका छन्।

 

कांग्रेसमा अधिकांश स्नातकोत्तर

प्रमुख प्रतिपक्षी कांग्रेसमा अधिकांश केन्द्रीय नेताले स्नातकोत्तर अध्ययन गरेका छन्। कांग्रेसमा पीएचडी तीनसहित पाँचजना डाक्टर छन्। रामशरण महत, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, शेखर कोइराला र शशांक कोइराला डाक्टर हुन्। सभापति देउवाले एमए, बीएल, वरिष्ठ नेता रामचन्द्र पौडेलले एमए, उपसभापति विमलेन्द्र निधिले एमए, अर्का उपसभापति विजय गच्छदारले इतिहासमा स्नातकोत्तर गरेका छन्। महामन्त्री डा. शशांक कोइराला एमए (चिकित्साशास्त्र) अर्का महामन्त्री पूर्णबहादुर खड्काले एमए गरेका छन्।

 

नेताहरू प्रकाशमान सिंहले एमएस्सी, अजुर्ननरसिंह केसीले एमए, बीएल, बलबहादुर केसीले एमए, दिलेन्द्रप्रसाद बडुले एमए, महेश आचार्यले एमए, नरहरि आचार्यले एमए गरेका छन्। त्यस्तै, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी साउद, मनमोहन भट्टराई, चित्रलेखा यादव, महालक्ष्मी उपाध्यायले एमए गरेका छन्। गोपालमान श्रेष्ठले बीए, कृष्णप्रसाद सिटौलाले बीएस्सी, बीएल, भीष्मराज आङ्दम्बे बीएल, सुजाता कोइरालाले आईए, गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

 

राष्ट्रपति– उपराष्ट्रपति आईए पास

राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुर क्याम्पसबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्। उपराष्ट्रपति नन्दबहादुर पुनले आईएसम्मको अध्ययन गरेका छन्। सभामुख कृष्णबहादुर महराले आईएस्सी÷ बीएड र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले आईकमसम्मको अध्ययन गरेका छन्।

 

अन्य नेता कसका कति ? 

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पीएचडी गरेका छन्। २०२६ मा एसएलसीमा बोर्डफस्ट भट्टराईले जवाहरलाल नेहरू विश्वविद्यालयबाट पीएचडी गरेका छन्।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले नेपाली साहित्यमा स्नातकोत्तर, राजपा नेता शरदसिंह भण्डारीले त्रिचन्द्र कलेजबाट बीएस्सी, महन्त ठाकुरले स्नातकसम्म पास गरेका छन्।

त्यस्तै विवेकशील साझाका नेता रवीन्द्र मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी, पञ्जाव विश्वविद्यालयबाट पत्रकारिता र लन्डन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। सरकारले प्रतिबन्ध लगाएका नेत्रविक्रम चन्द (विप्लव) ले बीएलसम्मको अध्ययन गरेका छन्।

 

यसकारण परीक्षा दिइरहेछु

-गुरुराज घिमिरे

म अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) को परीक्षा दिइरहेको छु। तीनवटा पेपरको परीक्षा दिइसकेँ, अब दुइटा बाँकी छ। २७ असारसम्म म परीक्षाकै तयारीमा छु। परीक्षा दिँदै गर्दा मलाई कर्मचारीले एमपीए (मास्टर अफ पब्लिक एडमिनिस्टेसन) गरेजस्तो लाग्यो।

हामी राजनीति गर्ने मान्छे, राजनीति के हो ? राजनीतिशास्त्र के हो ? यो विज्ञान हो कि, सामान्य अध्ययनको क्षेत्रमात्र हो ? राजनीतिशास्त्रसँग हाम्रा कति अभ्यास व्यवहारतः प्रयोग हुँदै आएका रहेछन् ?सिद्धान्त कहाँ छ, व्यवहार कहाँ छ ? भन्ने बुझ्नकै लागि पढ्न चासो लाग्यो।

 

अहिले पार्टीमा धेरै जिम्मेवारी पनि छैन, आफूसँग बचेको समय उपयोग गर्न पनि मैले पढ्ने सोचाइ बनाएँ र अध्ययन गर्न थालेको हुँ। मैले योभन्दा अगाडि नै व्यवस्थापनमा स्नातकोत्तर सकिसकेको हुँ। अहिले यो पढ्दै जाँदा मैले धेरै कुरा यसबाट प्राप्त गर्दै गइरहेको छु। प्लेटो, एरिस्टोटल हुँदै कौटिल्य, लाओसेदेखिका अहिलेसम्मका जति पनि विकासक्रम छन्, त्यसको अध्ययनले मान्छेलाई अलिक बढी नै खदिँलो बनाउँछ भन्ने लागेको छ।

 

राजनीतिका आयाम बुझ्ने, सैद्धान्तिक अध्ययन बढाउनेक्रममा राजनीतिमा लागेका राजनीतिज्ञको व्यवहार, बोलीचाली हेर्दा सिद्धान्तसँग गहिरो ज्ञान भएको मान्छे धेरै कम छ। सैद्धान्तिक ज्ञान एकदमै कम र चलनचल्तीको राजनीति असाध्यै बढी हाबी भएर गएको देखिन्छ। यसले राजनीतिलाई नै खोक्रो बनाएको लाग्यो। त्यसैले आफ्नो राजनीतिक जीवनलाई अलिकति भए पनि परिमार्जन र परिष्कृत गर्न र राजनीतिलाई अन्र्तयबाट, गहिराइबाट नै राम्रोसँग बुझियो भने समाजलाई प्रभाव पार्न सकिएला भन्ने सोच हो। पढाइबाट आउने सर्टिफिकेटको महत्त्व त छैन हाम्रा लागि, पढाइ यति नै हुनुपर्छ राजनीति गर्न कुनै मापदण्ड छैन। व्यवहारमा केही सिकौं, बुझौं भन्ने लागेर पढ्न थालेको हुँ।

 

औपचारिक शिक्षा अध्ययन गर्ने वानी पहिल्यै छुटिसकेको बेला अहिले फेरि परीक्षा दिन खोज्नु, अध्ययन गर्न खोज्नु आफैंमा अनौठो अनुभव हुँदो रहेछ। २५÷२६ वर्ष अगाडि जसरी पढिन्थ्यो, त्यो बेला पनि सैद्धान्तिकभन्दा व्यवहारिक विषय कमर्श पढेको मान्छेलाई अहिले आएर फेरि सैद्धान्तिक कुरामा घोत्लिनुपर्दा अलिक गाह्रो हुँदो रहेछ। बजारमा जे राम्रो पुस्तक आउँछ, त्यही पढ्न थालेको मान्छेलाई प्लानिङका विषय र कोर्स पढ्न र दैनान्दिनका कामलाई पनि साथ लिएर जान गाह्रै पर्ने रहेछ। अनुभवको लागि मात्रै अध्ययन गर्दैछु। तर नियमित औपचारिक पढ्ने बानी भने छुटेछ।

 

राजनीति गर्नेहरूका लागि अध्ययन अति नै आवश्यक छ। हाम्रो नेपाली राजनीतिमा जति पनि हामीले देखे भोगेका नेतृत्व र नेता छन्, त्यसमध्येका कतिपयले औपचारिक शिक्षा प्राप्त गरेका छन्, कतिपयले गरेका छैनन् पनि। शिक्षाले मानिसलाई परिस्कृत बनाउँछ, समृद्ध बनाउँछ र तदनुसारका व्यवहार उसले आफ्ना जीवनमा प्रदर्शन गर्न सक्छ, तबमात्र शिक्षाको सार्थकता, औचित्यता पुष्टि हुन्छ। औपचारिक शिक्षा प्राप्त गरेका भनिएका नेताहरूबाट पनि त्यो देखिएको छैन। रह्यो, औपचारिक शिक्षा नै नलिएका नेताले पनि स्वअध्ययन त गर्नुभएको छ। तर पनि स्वअध्ययन गरेअनुसारको व्यवहार छैन।

 

हाम्रा नेताहरूका व्यवहार बोलीमा अहंकार झल्किन्छ। युरोपको पुनर्जागरण कालदेखि यताका सबै हेर्दा अज्ञानीको एउटा सानो झुन्डले शासन व्यवस्थालाई नियन्त्रण गरिरहेको छ। अझ नेपालको सन्दर्भमा भन्दा नेपालले सही बाटो किन पक्डिन सकेनभन्दा अपवादमा बीपी कोइराला जस्ता पात्र पैदा भए। तर यति धेरै अज्ञानीको झुन्ड देखियो कि उहाँलाई पनि काम गर्न दिइएन। पछिल्लो ७०/८० वर्षको इतिहास हेर्दा बीपी जत्तिको उचाइ, ज्ञानको सगरमाथा तथा सिम्बोलका रूपमा रहेको राजनीतिज्ञ मैले अरू देखेको छैन। उहाँलाई अज्ञानीले काम गर्न नदिएका रहेछन्। अहिले पनि मैले त्यस्तै देखिरहेको छु।

 

राजनीतिशास्त्रको अध्ययनले त्यही देखाइरहेको छ। गीता, महाभारत, पुराणलगायतदेखि अरू किताब पढियो तर राजनीतिशास्त्र वास्तवमै के हो ?  पहिलो भाग नीतिशास्त्रको रहेछ। यो आफैंमा एउटा विज्ञान रहेछ। यसलाई जसरी मानवीय जीवन र व्यवहारमा लागु गर्नुपर्ने हो देखिएन, राजनीतिशास्त्रको अध्ययनको कमीले पनि यस्तो देखिएको हुन सक्छ। त्यही भएर पनि सिद्धान्त र जीवन व्यवहारमा हामी कहाँ छौं र हामीले अब कस्तो राजनीति गर्ने भन्ने बुझ्नकै लागि राजनीतिशास्त्र पढ्न थालेको हुँ।

 घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

 

(अन्नपुर्णपोष्टबाट रामकृष्ण अधिकारी)

प्रतिक्रिया दिनुहोस
मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजात तयार गरीयो : महासचिव पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको यस्तो आग्रह

  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप