प्रधानमन्त्रीलाई यस्ता विवादास्पद काममा कसले लगाइरहेको छ ?



 

 

० तपाँइको पछिल्ला हरेक अभिव्यक्तिहरु सरकारको आलोचनामा मात्र केन्द्रीत देखिन्छन्, सत्तारुढ दलकै एक वरिष्ठ नेता भएर सदाबहार आलोचक हुन अलि नसुहाउने होइन र ?

 

यो सन्दर्भ सरकारको आलोचना हुँदै होइन । मैले जे जति विषयहरु उठाएको छु, ति विषय नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त, मान्यता, निर्णय, घोषणा र नेपाल सरकारको तर्फबाट गरिएका प्रतिवद्धताहरु कार्यान्वयनमा गर्न गरिएका जोड हो । यसलाई पार्टीको सैद्धान्तिक, नीतिगत अवधारण र मान्यताको प्रतिरक्षाको रुपमा बुझ्न सकिन्छ । जस्तो उदाहरणको लागि नागरिकता विदेशीहरुले पाउनुहुन्न, नेपालीहरुले मात्रै पाउनुपर्छ र नागरिकता जस्तो विषयमा खुकुलो बनाएर भारतले हाम्रा चेलीहरु बिहा गरेर गएपछि निवेदनका लागि सात वर्ष पर्खाउँछ । हामीले भने तुरुन्तै दिने र मन्त्री बनाउने जस्तो खुकुलो प्रणाली अपनाउनु हुन्न भन्ने कुरा त नेपाल कम्युनिष्ट पार्टीको उद्देश्य अनुरुप त्यसको प्रतिरक्षा गरिएको कुरा न हो ।

 

त्यस्तै बेलायती सेनामा नेपाली महिलाहरुको भर्ति हुनुहुँदैन भनेर मैले भनेको छु । किन सुरु गरियो ? भनेर मैले भनेको छु । यो नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि निरन्तर पार्टीले लिएको अडान हो । त्यसैले मैले बोलेका कुराहरु यो पार्टीको मान्यता, सिद्धान्त, हित र देशको हित र नेपालको संविधान अनुकुल छ । यो कुरा गर्दा कसैको आलोचना हुन्छ भने सम्वन्धितले अलिकति त्रुटी गरेछौं की भनेर सोच्नुप¥यो । हेर्नुप¥यो, फर्किएर समिक्षा गर्नुप¥यो ।

 

० विभिन्न मामलाका तपाँइले अभिव्यक्त गरेका विचारहरुका कारण आफुमात्र राष्ट्रवादी अनि अरु सबै दोषी भएजस्तो गरी चित्रित गरिदिनुहुन्छ भन्ने आरोप छ नी ?

देशको हितमा बोल्दा आफुमात्र राष्ट्रवादी देखाउन खोज्यो भनेर कसैलाई लाग्छ भने यो बडा विडम्वनापुर्ण कुरा हुन्छ । अरुलाई मैले देशको पक्षमा नबोल भनेको भए आफुले मात्र बोल्न खोज्यो भन्ने हुन्थ्यो । कुनै पनि नेपाली नागरिकले राष्ट्रिय हितमा बोल्दा त्यसले आफुमात्र देशभक्त बनाउन खोज्योे भनेर कोहीले तर्क दिन्छ भने यो त देशभक्तिपुर्ण आवाजलाई बन्द गराउन खोज्ने चालवाजी मात्र हो ।

 

० तपाइकै पार्टीका शीर्ष नेताहरु संलग्न भएर गरिएको एशिया प्रशान्त क्षेत्रीय सम्मेलन पछि पनि तपाँइको त्यस्तै भूमिका देखियो नी ?

 

त्यो मामिलामा म अझै पनि स्पष्ट छु । मेरो त्यसमा अहिले पनि अडान र दृष्टिकोण कायम छ । नेपाल जस्तो देशले जसले धामिर्क दृष्टिकोणले कुरा गर्ने हो भने धर्म निरपेक्षता घोषणा गरेको छ । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र, स्वाधिन देश हो भन्ने कुरा हामीले संविधानमा नै उल्लेख गरेका छौं । अनि अमेरिकामा १८ महिना कर छलेको आरोपमा जेलमा परेको, पाँच वषै जासुसी आरोपमा जेलमा परेको, धर्मको प्रचार गर्ने र होली वाइन खुवाँउदै मान्छेलाई आफ्नोमा शिष्य बनाउने खालका त्यस्ता संस्थालाई कुनै राज्यले ठुलो मान्यता दिएर आफ्नो जनप्रतिनिधीलाई समेत होली वाइन खुवाउन पत्र काट्न मिल्छ ? यो कुरा मैले गर्दा के बिराँए ? यो कुुरा त नेपाल कम्युनिष्ट पार्टीको रक्षा र राष्ट्रको आलोचनाको प्रतिरक्षा हो ।

 

० कोरियन विश्वविद्यालयसंगको हाम्रो सम्वन्धका बारे पनि विवाद उठ्यो नी, यसमा के धारणा छ ?

हो, मैले पनि हिजो मात्रै सञ्चार माध्यममा दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयसंग सम्झौता गरेको ककुरा सुनें । यसभन्दा अगाडि त्यो विश्वविद्यालय धर्म प्रचारक विश्वविद्यालय हो भन्ने कुरा स्थापित भएको हुनाले त्रिभुवन विश्वविद्यालयले आफ्नो सम्झौता रद्द गरेको थियो । मैले यो कस्तो विश्वविद्यालय रहेछ भनेर आज विहान काङ्नाम विश्वविद्यालयका बारेमा अध्ययन गरे । यो विश्वविद्यालयले क्रिश्चीयन धर्म प्रचार गर्नका लागि एउटा पादरीले स्थापना गरेको विश्वविद्यालय हो भनेर भनेको छ ।

 

यो १९४६ मा स्थापना भएको रहेछ । यसको उद्देश्य नै यसले स्वर्गको पुजा गर्ने र क्रिश्चीयन धर्मको भावना अनुसार काम गर्ने भनेर लेखिएको छ । यस्तो विश्वविद्यालयलाई ल्याएर यहाँ सरकारको उच्च तहबाट संरक्षण दिने काम गरिएको छ , मैले यस्तो कुराको विरोधमा कुरा उठाँए भने आफुमात्र राष्ट्रवादी भयो भनेर कसैले तर्क दियो भने यो हास्यापद नभएर के हुन्छ ?

 

० तर त्यस्तै विवादास्पद संस्थाबाट प्रधानमन्त्रीको मानार्थ विद्यावारिधी प्राप्त भएको छ ?

हो, प्रधानमन्त्रीज्युले यही विवादास्पद विश्वविद्यालयबाट विद्यावारिधी प्राप्त गर्नुुभएको भन्ने समाचार मैले पनि सुनें । म त्यहाँ गएको थिइन, यसबारे अन्य धेरै कुरा मलाई थाहा पनि भएन । तर यस्तो खालको काम गर्नु किन प¥यो ? मेरो प्रश्न छ । जव कुनै विश्वविद्यालयले एउटा धामिर्क उद्देश्यबाट आफ्ना सम्पुर्ण गतिविधी सञ्चालन गर्छ भने त्यस्तो विश्वविद्यालयलाई सम्झौता गराउने, त्यसबाट सम्मानीत भएर के के न भयो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त र नेपालको संविधानसंग मेल खान्न । नेकपाको सिद्धान्त र नेपालको संविधान अनुसार मेल नखाएको कुरालाई मेल खाएन भन्न त पाउनुप¥यो नी ।

 

० यसरी विवादास्पद व्यक्ति र निकायहरुसंग सामिप्यता जनाउनुको कारण के होला त ?

कारण त जो जो ले यो काम गरे उहाँहरुलाई नै सोध्नुस् न । के कारणले उहाँहरुले यस्तो विवादास्पद काम गर्न प्रधानमन्त्रीज्युलाई वाध्य पार्नुभयो, यो कुरा उहाँहरुलाई नै थाहा होला । मलाई के थाहा ? मैले त नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त अनुसार मेल खायो की खाएन, नेपालको राष्ट्रिय हित अनुकुल छ की छैन, नेपालको संविधान अनुसार भयो की भएन ? भनेर मैले हेर्ने हो । मैले त्यो हेर्दा, यो कुरा मेल खाएको देखिँदैन ।

 

० पछिल्लोे पटक सिके राउत र सरकारबीच सहमति भएकोमा पनि तपाँइले आपत्ति जनाउनुभयो, एउटा फरक धारमा गएको शक्तिलाई राजनीतिको मुलधारमा राज्यले ल्याँउदा किन आपत्ति ?

सिके राउत सच्चिएर आउने कुराको मैले विरोध गरेको होइन ।मेरो त्यतिबेलाका अन्तरवार्ताहरु सुन्नुभयो भने मैले सिके राउतले यदी नेपालको संविधान मान्छु र मैले पृथकतावाद त्यागें, नेपालको राष्ट्रिय अखण्डता मान्छु भनेर भन्नुहुन्छ भने एकदमै स्वागत योग्य कुरा हो, उहाँलाई ल्याउनुपर्छ भनेको छु मैले ।

 

तर मैले माग के गरेको छु भने सिके राउतले आजसम्म नेपालको सार्वभौमसत्ता सम्पन्न स्वाधिनताको अधिकारलाई मानेर मैले पृथकतावाद छोडें भनेर उहाँले अहिलेसम्म भन्नुभएको छैन । सिके राउनको संगठन जुन अन्तराष्ट्रिय पृथकतावादी संगठनको सदस्य भएको थियो, त्यो सदस्यता अहिलेसम्म त्याग गरेको छैन, कतिपय मानिसहरुले उहाँले आफ्नो कार्यक्रममा राष्ट्रिय गान गाउनु भयो भन्नुभयो, तर त्यही कार्यक्रममा सहभागी सिके राउतका कार्यकर्ताहरुले ‘हामीले किन गाउने राष्ट्रिय गान ? यस्ता हावादारी कुरा गर्ने पत्रकार’ भनेर खण्डन गरेका छन् ।

 

अनि उसले राष्ट्रिय गान नगाएको गायो, भनेर किन भन्नुप¥यो । यस्ता कुराहरु मैले उठाएको हुँ । दास्रो, सिके राउतको दर्शन एकदम ठुलो दर्शन हो भनेर त्यो मिल्दैन । किनभने सिके राउतको दर्शन भनेको हामीले नेपाल आमा भनेको ठाँउमा उहाँले ‘नेपाल बोक्सी’ भन्नुभएको छ । उहाँका सम्पुर्ण दश्तावेजहरु केही वर्ष अघि स्थायी कमिटीमा ल्याएर सबैभन्दा पहिले पार्टीलाई जानकारी गराउने मान्छे म हुँ ।

 

त्यसैले उहाँले साँच्चिकै स्वच्छ ढंगले आउनुहुन्नछ, उहाँ नेपालको संविधान मानेर पृथकतावाद त्यागेर नेपालको अखण्डता, नेपालको स्वाधिनता, सार्वभौसत्तालाई पुर्ण रुपमा स्विकार गरेर म आँए भनेर उहाँ भन्नुहुन्छ भने म पाि अहिले नै स्वागत गर्छु । तर उहाँले यो कुरा काँही भन्नुभएको छैन । उहाँले त्यो प्रतिवद्धता किन नजनाउने ? उहाँले त्यसो नभन्ने अनि सरकारले चाँही भव्य कार्यक्रम गरेर देशको कुनै अभियन्ता, महान् व्यक्ति आए जसरी कार्यक्रम बनाउनुपर्ने किन ? यो मिल्दैन यस्तो । कुनै पनि देशले यस्तो गर्दैन भन्ने कुरा मैले भनेको हुँ । अहिले पनि मेरो दृष्टिकोणमा म कायमै छु ।

 

० प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकै दिन पार्टी एकताका बेला दुई अध्यक्षबीच भएको सहमति सार्वजनिक भएको छ र यसले राजनीतिक बजारमा तरंग पैदा गरेको छ, यसलाई तपाँइले कसरी हेर्नुभएको छ ?

 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणको बेला पारेर यस्तो कुरा बोलेजस्तो मलाई लाग्दैन । गणतन्त्र दिवशको सन्दर्भमा पत्रकारले लिएको अन्तरवार्ताका सन्दर्भमा उहाँले बोल्नुभएको हो । दोस्रो कुरा, उहाँले बोलेको यो कुरा कुनै नयाँ कुरा पनि होइन । किनभने जुन सम्झौता बाहिर आएको छ, जे कुराहरुको यो सन्दर्भमा चर्चा भएको छ, यि कुराहरु त पुराना हुन् । र, यो सहमति पत्र नै पहिले नै सार्वजनिक भइसकेको कुरा हो । त्यसकारण प्रधानमन्त्रीको भ्रमणसंग यसको सम्वन्ध छ जस्तो मलाई लाग्दैन ।

 

० पार्टी अध्यक्ष र प्रधानमन्त्री अलग अलग व्यक्ति हुनुपर्छ भन्ने धारणा केही व्यक्तिहरुबाट आइरहेका छन्, नि ?

पार्टी एकिकरणका बेला जे सहमति भएको थियो, जसरी अगाडि जानुपर्ने भनेर नेताहरुले भन्नुभएको थियो, त्यो कुरालाई हामीले अनुमोदन गरेका थियौं । त्यसलाई दृढतापुर्वक अनुसरण गरेर अगाडि बढ्नुपर्छ । यदी कुनै नयाँ कुराहरु गर्नुपर्ने अवस्था आयो भने तुरुन्तै स्थायी कमिटीको बैंठक आयोजना गरेर त्यहाँ सदस्यहरुले छलफल गर्न पाउनुप¥यो । केन्द्रीय कमिटीका सदस्यहरुले त्यसको जानकारी पाउनुपर्छ । उनीहरुले त्यसमा आफ्नो राय व्यक्ति गर्न पाउनुपर्छ । त्यस आधारमा पार्टीले एउटा निष्कर्ष निकाल्यो भने सो पार्टीबाट निर्णीत कुरालाई हामी सबैले मान्छौं ।

 

० तर त्यस्तो पर्याप्त छलफल भएर संस्थागत निर्णयहरु हुन छोडेको धेरै भयो भन्छन् त ?

त्यो त यर्थाथ हो । स्थायी कमिटीको बैठक पुसमा भएको थियो, छ महिना भयो अझै बैठक आयोजना भएको छैन । हामीले विगतमा सामुहिक वल, वुद्धि, विवेक, प्रणाली, विधीबाट अगाडि बढेर नै पार्टीलाई बलियो बनाएका हौं । हाम्रो त्यो शक्तिलाई अनि हाम्रो त्यो सकारात्मक पक्षलाई हामीले सदासर्वदा रक्षा गरिरहनुपर्छ । पार्टी एकिकरणमा अनावश्यक विलम्व गर्ने, पार्टीका बैठकहरु नियमित रुपमा आयोजना नहुने कुराहरुबाट हामी सबैले अलग हुनु धेरै राम्रो हुन्छ ।

 

० एकता प्रक्रिया पनि निक्कै लम्वियो, यसमा कसको कमजोरी देख्नुहुन्छ ?

यो पार्टी एकिकरणको प्रक्रिया लम्बीनु राम्रो कुरा होइन । यसले पार्टीलाई मात्र होइन देश र सरकार सबैलाई क्षति पु¥याउँछ । हाम्रा कुराहरु जनतामा लैजाने हाम्रो संयन्त्र हामीसंग छैन । त्यसैले छिटोभन्दा छिटो पार्टी एककरणको काम सम्पन्न गर्नुपर्छ , पार्टीका सबै तहका बैठकहरु नियमित रुपमा गर्ने, पार्टीका सिद्धान्त, नीति सरकारले गरेका राम्रा कामहरु जनतांग पु¥याउने, जनताका भनाईहरु, आवाजहरु पार्टी संयन्त्र र सरकारमा पु¥याउने लगायतका काम हामीले प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ । किन यसमा ढिलो भयो भन्ने कुरा जो यसमा अधिकार सम्पन्न व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुलाई सोध्नुभयो भने अझै प्रष्ट हुनुहुन्छ ।

 

० पार्टी एकता हुँदा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो, यो गति हेर्दा संभव छ त ?

त्यसैले त मैले विधान, पद्धती र विधीलाई हामीले जहिले पनि अनुसरण गरौं, सम्मान गरौं भन्ने कुरा भन्दै आएको । पार्टी विधानमा दुइ वर्षमा अधिवेशन गर्ने कुरा लेख्ने । अनि एक वषैमा पार्टी एकिकरणको काम सम्पन्न नहुने, पार्टी सदस्यताको नविकरण नहुने, पार्टी सदस्यता नयाँ लिन चाहने मान्छेलाई सदस्यता दिने स्थिति नहुने । यस्तो भयो भने भोली प्रतिनीधी कसरी छनोट गर्ने भन्ने समस्या हुनसक्छ । त्यसकारण पार्टी विधानलाई सबैले सम्मान गारैं । एकिकरणको काम छिटोभन्दा छिटो सम्पन्न गरौं र हाम्रो पार्टीको संगठनात्मक जीवनलाई नियमित गरौं । यो कुरामा हामी सबैले आ आफ्नो ठाँउबाट भुमिका खेलौं भनेर म भन्न चाहन्छु ।

 

० आगमी दिनमा पाटी जीवनमा कसरी कुन जिम्मेवारी बोकेर अघि बढ्ने सोच्नुभएको छ ?

म सबैभन्दा बढी जोड राष्ट्रिय हितमा दिन्छु । त्यो राष्ट्रिय हितको साधना गर्नको लागि यो देशलाई सत्तरी वर्षको लामो लडाँइ–संघर्ष पछि नेपाल कम्युनिष्ट पार्टीले केन्द्रमा पनि प्रदेशमा पनि नेतृत्व गर्ने अवसर प्राप्त ग¥यो । त्यसकारण स्थापना कालदेखि यो राष्ट्रको हितको लागि, जनताको जीवन स्तरलाई माथी उठाउनका लागि न्यायको लागि, समानताको लागि हाम्रो सार्वभौमसत्तालाई बलियो बनाउनका लागि जुन हामीले संकल्प गर्दै आयौं, त्यसलाई पुरा गर्नका लागि हामीले यो अवसरलाई राम्ररी उपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

 

यो मान्यतालाई आत्मसात गर्दै यसलाई कार्यान्वयनमा लैजानको लागि जे जे भूमिका पार्टीले खेल भन्छ, कार्यकर्ता र जनताले खेल भन्छन् । देशले तेरो भुमिका आवश्यक छ भन्छ, म त्यसको लागि तयार छु । त्यसमा मेरो व्यक्तिगत कुरा भन्दा राष्ट्रको स्वार्थ, जनताको हित र पार्टीको आवश्यकता प्रतिविम्वीत हुनुपर्छ भन्ने मलाई लाग्छ ।

 

० नेकपाभित्र अब वैचारिक वहश खुला गरिए जसरी जवजको पनि चर्चा चल्न थालेको छ, यसबारेमा के भनाई छ ?

नेपालको कम्युनिष्ट आन्दोलनमा बेला बेलामा अनेक प्रकारका विवादका कुराहरु आएर पार्टी कमजोर हुने गरेको र अझ फुट्ने गरेको हामीले देखोका छौं । त्यसकारण अहिलेको संवेदनशील अवस्थामा दुइवटा ठुला पार्टी एक हुँदाखेरी जे सहमति भएको थियो, हामी तदअनुकुल अगाडि बढ्नुपर्छ । र, हामीले विचारको कुरा गर्ने हो भने त्यतीबेला तत्कालिन नेकपा एमालेले अवलम्वन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्वन गरेको एक्काएसौं शताव्दीको जनवाद भन्ने जुन कुरा थियो, त्यसलाई हामीले महाधिवेशनको सन्दर्भमा सैद्धान्तिक वहशमा लैजाने तर अहिले त्तकाल हामीले उल्लेख गर्नुप¥यो भने जनताको वहुदलीय जनवाद भन्ने भन्ने कुरा सहमति गरेका थियौं र त्यसमा अहिले हाम्रा अध्यक्ष द्धोयले नै स्वयम् हस्ताक्षर गर्नुभएको छ ।

 

त्यसकारण मैले यसलाई अनावश्यक रुपमा हामीले विवादको विषय बनाएर अझ पार्टीमा थप मतभेद छ की भन्ने खालको सन्देश उत्पन्न हुने काम कसैले पनि गर्नुहुन्न । अहिले जे सहमति भएको छ, त्यसैमा अड्नुपर्छ र महाधिवेशनको प्रक्रिया आरम्भ भएपछि हामीले पुर्व सहमतिका आधारमा सैद्धान्तिक वहशको ऋङ्खला चलाएर कुन सैद्धान्तिक मान्यतामा जाने हो, कस्तो कार्यक्रम अपनाएर अगाडि जाने हो, भन्ने कुरालाई त्यतीबेला छलफलबाट टुङ्ग्याउनुपर्छ  ।  बुधबारबाट

प्रतिक्रिया दिनुहोस
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

      मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष

रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला