वायु प्रदूषणले निम्त्याएको जोखिम



 

 

सन् १९७२ मा जुन ५ देखि १६ सम्म चलेको संयुक्त राष्ट्रसङ्घको महासभाले जुन ५ को दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउने घोषणा गरेअनुरूप सन् १९७३ जुन ५ देखि मनाउन थालिएको हो– विश्व वातावरण दिवस । विश्वभर तापक्रम वृद्धिका कारणले उत्पन्न समस्या र चुनौती थपिरहेको तथा जलवायु परिवर्तनको मुद्दा थप पेचिलो बन्दै गइरहेको सन्दर्भमा यो दिवसको महत्व बढ्दो छ । यस वर्ष विश्व वातावरण दिवसका लागि नेपालमा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नारा तय भएको छ ।

 

राष्ट्रसङ्घले विश्वव्यापी वातावरण संरक्षणका लागि राजनीतिक र सामाजिक जागरण ल्याउने उद्देश्यले विश्व वातावरण दिवस मनाउने घोषणा गरेको हो । विश्वमा वायु प्रदूषणका कारणबाट बर्र्सेेनि ६५ लाख मानिसको ज्यान गइरहेको तथ्याङ्क विश्व स्वास्थ्य सङगठनसँग छ । नेपालमा पनि करिब ३३ हजार मानिसको मृत्यु वायु प्रदूषणबाट हुने गरेको बताइन्छ । यसमध्ये घरभित्रको वायु प्रदूषणबाट मृत्यु हुनेको सङ्ख्या अधिक रहे पनि पछिल्लो समय घरबाहिरको वायु प्रदूषण ज्यादै जोखिमपूर्ण बन्दै गएको छ ।

 

वातावरण प्रदूषणको मात्रा बढ्नुको मुख्य कारण औद्योगिकीकरण, वन विनाश र अव्यवस्थित सहरीकरणलाई मानिन्छ । साथै प्रकृतिको दोहन, इन्धनको प्रयोग पनि कारक तत्ववभित्र पर्छन् । नेपालका सन्दर्भमा खुला निर्माणकार्य, पुराना सवारीसाधनको प्रयोग, फोहोरमैलाजस्ता कारणले पनि वायु प्रदूषण बढिरहेको छ । यसको मुख्य जिम्मेवार मानिस नै हुन् र त्यसको नकारात्मक असर पनि सबैभन्दा धेरै मानिसले नै बेहोरेका छन् ।

 

स्वच्छ ऊर्जा नेपालले केही वर्षअघि गरेको एक अध्ययनले काठमाडौँका २५ लाखभन्दा बढी मानिस श्वासप्रश्वाससम्बन्धी समस्यामा छन् । वायु, जल र ध्वनि प्रदूषणबाट दीर्घकालीन असरबारे संवेदनशील नहुँदा प्रदूषणको मानव स्वास्थ्यमा गम्भीर असर देखिन थालेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको भनाइ छ । कोइरालाका अनुसार मुटुरोगको प्रमुख कारण नै वायु प्रदूषण हो ।

 

पुराना सवारीसाधनको धूँवा, धूमपान, खाना पकाउँदा निस्कने धूँवा, कलकारखानाबाट निस्कने धूँवा, खुला रूपमा राखिएका निर्माणसामग्री, खुला निर्माणकार्य र वन विनाशका कारण प्रदूषित वातावरणले बिरामी बढिरहेका छन् । धूँवामा मिसिएका नाइट्रोजन अक्साइड, कार्बनमोनोअक्साइड र सल्फरअक्साइडजस्ता विषाक्त रसायन श्वासनली हुँदै फोक्सो र मुटुमा पुग्छन् ।

 

यी रसायन रक्तनली हुँदै शरीरका विभिन्न भागमा पुगे स्नायु, मानसिक रोग, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका साथै आँखा र छालाको एलर्जीका रोग बढ्छ । वायु प्रदूषणको वृद्धिसँगै नयाँ रोग चिकेनगुनिया, स्क्रब टाइफस, डेङ्गु र बर्डफ्लुजस्ता प्रकोप देखापरेका छन् भने सुगर, फोक्सोको समस्या, मिर्गौला, दम, उच्च रक्तचाप, रुघाखोकी, ज्वरो र झाडापखालाजस्ता रोग काठमाडौँ उपत्यकामा वृद्धि भइरहेको पाइन्छ ।

 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा ६० प्रतिशत मृत्युका कारण नसर्ने रोग हो । नसर्ने रोगबाट मृत्यु हुनेमा २२ प्रतिशत मुटुरोग, १३ प्रतिशत श्वासप्रश्वासको सङ्क्रमण, आठ प्रतिशत क्यान्सर र २२ प्रतिशत समयअगावै जन्मिने शिशु र १४ प्रतिशत अन्य नसर्ने रोग भएको सङ्गठनको तथ्याङ्कले देखाएको छ । विश्व बैङ्कले सन् २०१८ मा नेपालमा गरेको एक अध्ययनले नेपालमा मृत्यु हुने कारणमध्ये वायु प्रदूषण चौथो कारण बताएको छ ।

 

विश्व स्वास्थ्य सङ्गठनले जलवायु परिवर्तनसम्बन्धी समस्याका कारण सन् २०३० र २०५० को अवधिमा प्रतिवर्ष साढे दुई लाख मानिसको मृत्यु हुने प्रक्षेपण गरेको छ भने ल्यान्सेट मेडिकल जर्लनमा प्रकाशित जलवायु र स्वास्थ्यसम्बन्धी अनुसन्धानले बढ्दो तापक्रमले डढेलो फैलने, उत्पादनमा ह्रास आउने, सङ्क्रमित रोग बढ्ने गर्दा मानव स्वास्थ्यमा ठूलो मूल्य चुकाउनुपर्ने जनाइएको छ । तसर्थ, पृथ्वी र हाम्रो स्वास्थ्य सम्भावित विनाशकारी अवसरबाट जोगाउन अहिलेदेखि नै महत्वपूर्ण कदम चाल्न जरुरी छ ।

 

नेपालमा विशेषगरी वायु प्रदूषणका कारण कलकारखानाका मजदुर, सडक र सडकछेउछाउ व्यापार व्यवसाय गर्ने सडक, इँटाभट्टाका मजदुर, दीर्घरोगी, गर्भवती महिला, बालबालिका बढी जोखिममा परेका छन् । प्रदूषित हावामा फेरिने प्रत्येक श्वास जोखिमपूर्ण रहेको वरिष्ठ छातीरोग विशेषज्ञ डाक्टर दीर्घसिंह बमका अनुसार प्रदूषित वायु हाम्रो शरीरले लिँदा तत्काल असर देखिँदैन । जसले गर्दा मानिसले संवेदनशील बन्दैनन् तर यसले बिस्तारै असर पु¥याउँछ र विभिन्न रोगहरू निम्त्याउँछ ।

 

राजधानी उपत्यका दक्षिण एसियाकै बढी प्रदूषण भएको सहरमा ठहरिएको छ । विश्व स्वास्थ्य सङ्गठन तोकेको मापदण्डभन्दा बीस गुणाभन्दा बढी प्रदूषण काठमाडौँमा रहेको दक्षिण एसियामा वायु प्रदूषणसम्बन्धी काम गरिरहेको सेन्टर फर साइन्स एन्ड इन्भारोमेन्ट (सीएसई) ले केही समयअघि सार्वजनिक गरेको अध्ययनले देखाएको छ । यो प्रदूषण पछिल्ला दिनमा झन् बढेको छ ।

 

डिजेलबाट चल्ने कारखाना, २० वर्ष पुराना सवारीको प्रयोग, सिमेन्ट उद्योग खुला रूपमा सञ्चालनमा रहेका क्रसर र सिमेन्ट उद्योग, खुला रूपमा भइरहेको निर्माण, फोहोरमैला, धुलो, धूँवा, वन विनाश र डढेलोले प्रदूषण बढाउनुका साथै चुरे चारकोसे झाडी, डढेलो नियन्त्रण र न्यूनीकरणजस्ता विषय पनि सम्बोधन हुनु आवश्यक छ । यसका लागि सरकारले नीति बनाउने र बनाएको ऐन नियम र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुको विकल्प छैन ।

 

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । विश्वव्यापी रूपमा विभिन्न घोषणापत्र, महासन्धिहरूमा नेपालले जनाएको सहमति र गरेको प्रतिबद्धताहरूमा स्वस्थ जीवनको अधिकारको प्रत्याभूत गराउनु र वातावरण संरक्षणप्रति राज्यको दायित्व भएको प्रस्ट्याइएको छ । वर्तमान संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकसम्बन्धी व्यवस्थालाई मौलिक हकका रूपमा उल्लेख गरिएको छ ।
स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको आवश्यकता पर्छ ।

 

वातावरणले मानिसको जन्मने, हुर्कने व्यक्तित्व विकासमा समेत प्रभाव पार्छ । हाम्रा प्रकृतिले दिएका अनुपम उपहार, प्राकृतिक स्रोतहरू नदीनाला, हिमाल, पहाड, वायुमण्डल, वनस्पति, जीवजन्तुलगायत मानवीय क्रियाकलाप तथा मानवद्वारा सिर्जित र निर्मित विभिन्न प्रणालीको समष्टिगत रूप नै वातावरण हुँदा यसको संरक्षणका लागि प्रत्येक नागरिकको पनि दायित्व हुन आउँछ । स्वच्छ वातावरणविना मानिसको आर्थिक, साँस्कृतिक र सामाजिक जीवनले निरन्तरता पाउन सक्दैन ।

 

राज्यले वातावरण संरक्षणका लागि विभिन्न ऐन, कानुन र नीति नियम बनाएको छ । यसको प्रभावकारी कार्यान्वयन एवम् यससम्बन्धी चेतना फैलाउने कार्यमा सरकारले सरोकारवालासँग सहकार्य गर्नुपर्छ । त्यसैगरी, प्रभावकारी कार्यान्वयनका लागि नागरिक तहबाट दबाब दिन र समुदायलाई यससम्बन्धी जागृत बनाउन जरुरी देखिन्छ ।

 

वातावरणीय र पर्यावरणीय मुद्दा र यसका असरका विषयमा समाजमा जनचेतना फैलाउन, बहस गर्न र चासो जागृत गर्न सामूहिक प्रयास हुनु जरुरी छ । स्थानीय प्रदेशसहित तीनै तहका सरकार यससम्बन्धी नीतिगत र योजनाबद्ध तयारीका साथ अघि बढ्नुपर्छ ।
नेपाल अहिले दुई अङ्कीय आर्थिक वृद्धिको लक्ष्यका साथ अगाडि बढिरहेको छ । “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय सङ्कल्प पूरा गर्न र आर्थिक वृद्धिका लागि यो लक्ष्य प्राप्ति गर्न वातावरण प्रदूषण एउटा साझा चुनौतीका रूपमा देखापर्दै छ ।

 

तसर्थ, समयमै वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल कदम चाल्न जरुरी छ । विश्व वातावरण दिवसका सन्दर्भमा सामाजिक, साँस्कृतिक र आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणकार्य अघि बढाउनु अहिलेको आवश्यकता हो । विश्व वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नराखी वर्षभरि परिणाममुखी र प्रभावकारी ढङ्गले सामाजिक जागरणका साथ काम गर्न सके सार्थक र अर्थपूर्ण रहनेछ ।

राजेन्द्र अर्याल (लेखक पत्रकार हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्