गाउँमा हतियारधारी छिरेको सूचना पाएलगत्तै भाग्यो प्रहरी



हाम्रो इकोनोमि

 

आइतबार दिउँसो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामका स्थानीयले गाउँमा हतियारधारी समूह छिरेको सूचना जिल्लाका सुरक्षा अधिकारीलाई दिए । सूचना पाएलगत्तै प्रहरीको आशंका विप्लव समूहतिर तेर्सियो ।

 

प्रहरीले विप्लवतिरै शंका गर्नु पछाडि दुई कारण थिए, पहिलो–गाउँमा हतियारधारीको चहलपहल बढेको जानकारी आइरहेको थियो । त्यही आधारमा गस्ती पनि बढाइएको थियो ।

 

दोस्रो–काठमाडौंको सुकेधारा र घट्टेकुलोमा १२ जेठमा भएको विष्फोटमा विप्लवकै ४ कार्यकर्ताको मृत्यु र ६ जना घाइते भएपछि पहाडी क्षेत्रमा गतिविधि बढेको भन्दै प्रहरी प्रधान कार्यालयले सतर्क रहन निर्देशन दिएको थियो ।

 

यो स्थितिमा छेस्काममा हतियारधारी छिरेको सूचना आएपछि ८ जनाको संख्यामा रहेको प्रहरी चौकीको टोली झस्किएको थियो । जिल्लाबाट मद्दतका लागि थप फौज आउनसमेत समय लाग्ने भएकाले प्रहरी टोलीले हतियारधारीलाई नियन्त्रणमा लिनुको सट्टा कुलेलाम ठोक्यो ।

 

आइतबार राति चौकी छाडेर हिँडेका प्रहरी अधिकारीहरु विहान पुनः चौकीमा पुगे । त्यहाँ आक्रमणको कुनै निशाना थिएन । कागज पत्र र अन्य दस्तावेज पनि सकुशल थिए ।

 

जिल्लाका एक सुरक्षा अधिकारीका अनुसार त्यसरी गाउँ प्रवेश गरेका भनिएका हतियारधारी विप्लव समूहका कार्यकर्ता थिए/थिएनन् भन्ने पुष्टि समेत भएको छैन । अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख डीएसपी सालिकराम शर्मा आफैं घटनास्थल पुगेका छन् ।

 

प्रहरी मुख्यालयले भने जिल्लाबाट आएको सूचनाको गम्भिरतालाई मध्यनजर गर्दैै थप मद्दतका लागि हेलिकोप्टरमार्फत टोली पठाएको छ । सशस्त्र प्रहरीले पनि विराटनगर र काठमाडौंबाट विपदको फौज सोलुखुम्बुमा उतारेको छ ।

 

प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने बाहिर आए जस्तो घटना नभएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘जिल्लामा विप्लवको गतिविधि बढेको भने हो ।’

 

मनोवैज्ञानिक त्रासमा प्रहरी

सरकारले विप्लव समूहलाई २८ फागुनमा प्रतिबन्ध लगाएको छ । १२ जेठमा काठमाडौंमा भएको श्रृङ्खलाबद्ध विस्फोटका घटना भयो । तर अहिलेसम्म विप्लव समूहले प्रहरी चौकीमा आक्रमण जस्ता घटना केही गरेको छैन ।

 

विप्लव समूहलाई लिएर गाउँमा खटिएका प्रहरीहरुमा भने त्रास छ । सशस्त्र द्वन्द्वकालमा सदरमुकाम केन्द्रित भएका प्रहरी चौकीहरु विस्तारै गाउँगाउँमा जान थालेका छन् तर, ५/७ जना मात्र खटिएका छन् । त्यसैले सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाए लगतै प्रहरीहरुमा कुनै पनि बेला आक्रमण गर्नसक्छ, ज्यान र हतियारको सुरक्षा कसरी गर्ने भन्ने डर बढी देखिन्छ ।

 

छेस्काम त्यसको प्रमाण हो । छेस्काममा गाउँलेले दिएको सूचना भेरिफाई गरेर हतियारसहित विप्लव समूका कार्यकर्ता भएको पुष्टि भए उनीहरुलाई नियन्त्रण लिनु पर्नुपर्ने थियो । यसका लागि थप बल मगाउन सक्थ्यो । प्रहरी हतियार सुरक्षा गर्न भन्दै भाग्यो ।

 

एक पहाडी जिल्लाको कमाण्ड गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ले अहिले प्रहरीमा द्वन्द्वकालमा झैँ त्रास र भय रहको स्वीकारे । ‘अहिले कानुनी राज्य कायम गर्ने र पुलिसिङमा मात्र खटिएका हामीलाई आक्रमण होला कि भन्ने त्रासले सताउन थालेको छ’, उनले भने ।

 

यस्तो अवस्थामा सोलुखुम्बुमा हतियारसहित छिरेको समूह कुन हो ? उसको क्षमता कति थियो ? यसको विश्लेषण नभइ सुरक्षा अधिकारी किन भागे ? भन्ने प्रश्नको जवाफ प्रहरी मुख्यालयले खोज्नु आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...