तातोपानी नाकामा गृहमन्त्री थापा



हाम्रो इकोनोमि

 

चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने बताएपछि गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेको छ ।

 

आगामी साता नाका खुलाउने भएपछि त्यहाँको तयारीका विषयमा अवलोकन गर्न दुवै टोली शनिबार तातोपानी नाका पुगेको हो । अवलोकनपछि गृहमन्त्री थापाले नाका छिटो खुलाउन नेपाल सरकार तयार रहेको बताए ।

 

लामो समयदेखि बन्द रहेको नाका खुला भए दुवै देशलाई राम्रो हुने भन्दै यसका लागि नेपाल सरकारबाट गर्नुपर्ने काम भइरहेको समेत बताए । नाका सञ्चालनमा आएपछि हुने सुरक्षा लगायतका कामहरु गर्न सरकार प्रतिवद्ध रहेको उनले जानकारी दिए । नाका सञ्चालनमा आएपछि सामानहरुको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीहरुले माग गरेका थिए ।

 

‘सडक पूर्वाधार कमजोर’

अवलोकनका लागि राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरु तातोपानी नाका पुगेका थिए । महासंघका अध्यक्ष नरेश कटुवालले नाका सञ्चालनमा आएपछि भन्सार र व्यवसायीहरुको सीधा पहुँच हुनुपर्ने बताए ।

 

भन्सारमा विचौलियाहरुको विगविगी हुने गरेको भन्दै अध्यक्ष कटुवालले विचौलियालाई बाहिर खेदाएर व्यवसायीहरु आफैंले भन्सार छुटाउन सक्ने वातावरण बनाउनु पर्ने बताए । आगामी १७ गते नाका सञ्चालनमा आउने अनौपचारिक जानकारी आफूले पाएको भए पनि आवश्यक पूर्वाधार भने अझै अपुग भएको बताए । ‘नाका त सञ्चालनमा आउँदैछ, तर बाटो अझै दुरावस्था छ,’ अध्यक्ष कटुवालले भने, ‘सरकार सडक पूर्वाधार र व्यवसायको सुरक्षामा गम्भीर हुनुपर्छ ।’

 

नाका खुल्ने भएपछि व्यवसायीहरु उत्साहित भएको समेत उनले बताए । सरकारीतर्फबाट सुरक्षाको प्रत्याभूति आफूले पाएको भन्दै यसलाई व्यवहारमा पनि उतार्न आवश्यक रहेको उनले बताए ।

 

‘गृहमन्त्रीज्यू आफैं अवलोकनमा आउनु भएको छ, सीडीओ सापले पनि सुरक्षामा सम्झौता हुँदैन भन्नु भएको छ,’ उनले भने, ‘अब यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।’

 

सञ्चालनमा आए ‘नम्बर वान’ बन्छ : भन्सार अधिकृत

तातोपानी नाका सञ्चालनमा आए चिनियाँ नाकाहरु मध्येकै नम्बर वान बन्ने प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए । उनले सुविधा सम्पन्न डाइपोर्ट बनेको भन्दै नाका सञ्चालनका लागि अब सहज हुने समेत बताए ।

 

सडक पूर्वाधारको भने केही समस्या अझै रहेको उनले बताए । उनले भने, ‘अब सडकको थोरै समस्या छ, तर त्यो पनि चिनियाँ पक्षले नै मर्मत गर्ने कुरा भएको छ ।’ भौगोलिक बाहेकका अन्य समस्याहरु नाकामा आब नदेखिने समेत उनले दाबी गरे ।

 

चीन सरकारले आफ्नै लगानीमा नेपालमा सुख्खा बन्दरगाह निर्माण गरिदिएको छ । बन्दरगाह निर्माण सपन्न भइसकेको भए पनि हस्तान्तरण भने गरिएको छैन । कहिले हस्तान्तरण गरिन्छ भन्ने मिति तय नभएको भए पनि धेरै समय नलाग्ने बस्नेतले बताए ।

 

भन्सार अधिकृत बस्नेतका अनुसार कार्यालय सञ्चालनका लागि फर्निचर अझै खरिद गरिएको छैन । उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासमा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर खरिद गरिदिन आग्रह गरिएको छ ।

 

०७० पुस ५ गते सुख्खा बन्दरगाहको निर्माण सुरु गरिएको थियो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने तयारी भए पनि भूकम्प र भोटेकोशी नदीको बाढीले निर्माण कार्य रोकिएको थियो । चीन सरकारले तातोपानी नाका खोल्न चासो दिएपछि रोकिएको बन्दरगाह निर्माण पुनः सुरु भएको थियो । चीन सरकारले केही दिनमा नै सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गरेपछि भन्सारसम्बन्धी सबै काम यहीँबाट हुने तातोपानी भन्सार प्रमुख बस्नेतले जानकारी दिए ।

 

नेपाल-चीन सीमा क्षेत्र र हालको भन्सार कार्यालय रहेकोभन्दा ६ किलोमिटर तल निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह अन्तर्राष्ट्रिय स्तरको छ । ४.२ हेक्टर क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवं उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 

सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । बन्दरगाहमा भण्डारण क्षेत्र कार्गो र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको ढकालले जानकारी दिए । ‘भन्सार यार्डमै ६० देखि एक सय मेटि्रक टनसम्म तौल गर्न सक्ने मेसिन समेत जडान गरिएको छ ।

 

बन्दरगाहमा भन्सार कार्यालय, जाँचपाँस यार्ड, चेक पोष्ट, बैंक, क्वारेन्टाइन, लगायतका संरचनाहरु निर्माण भएका छन् । कर्मचारीहरुका लागि आवास समेत बन्दरगाहभित्रै निर्माण गरिएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...