मतदाताका बच्चाको होमवर्क हेर्ने समेत घरै पुग्छन् सञ्चारमन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

 

सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डोर्‍याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

 

पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुगेका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गरे । ‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले । सुजनलाई बधाई भन्दै ‘स्कूलले के–के दियो त बाबु तिमीलाई रु’ मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, ‘किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के ।’

 

मन्त्री बाँस्कोटाले करीब २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेरे र भने, ‘राम्रो छ, अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु नि !’, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए ।

 

सुजनलाई मन्त्री बाँस्कोटाले आउँदो असारताका स्कूलको ‘वर्षे बिदा’ मा काठमाडौँ आउन भने । सुजनले मधुर बोलीमा ‘हुन्छ’ मात्रै भने । उनका बाबुआमा भने कोठाको ढोकामा उभिएर मन्त्री बाँस्कोटा र सुजनबीचका कुराकानी सुनिरहे ।

 

मन्त्री बाँस्कोटाले सुजनलाई किताब–कापी झोलामा राख्न आग्रह गर्दै आफू भ्याएसम्म महीना दिनमा भेट्न आउने आश्वासन दिए । उनले भने, ‘यदि भ्याइनँ भने दुई महीनामा एकचोटी पक्का ।’

 

मन्त्री बाँस्कोटाले कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका सिमान्तकृत दनुवार समुदायका सुजन हाल स्थानीय आजाद माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दैछन् । सुजनसँगको भेटघाटपछि मन्त्री बाँस्कोटाले भने, ‘सुजनले प्रगति गर्दैछ, यसमा म खुसी छु, अन्य दुई बालबालिकाको अवस्था बुझ्न केही दिनपछि उनीहरुको घरमा जान्छु ।’ उनले सुजनको अभिभावकत्व ग्रहण गरेपछि काभ्रेपलाञ्चोकमा २०७५ सालको भर्ना अभियान शुरु गरिएको थियो ।

 

मन्त्री बाँस्कोटाले यस वर्ष पनि जिल्लाका थप दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरे । उनले भर्ना अभियानअन्तर्गत गत वैशाखमा पाँचखाल नपा–१ का आमाबाबु नभएका प्रितम तामाङलाई स्थानीय ज्ञानेश्वरी मावि र पाँचखाल नपा–५ का बाबु नभएका निष्मा सुनारलाई स्थानीय जनउद्धार प्राविमा कक्षा १ मा भर्ना गरी अभिभाकत्व ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...