भिडण्तमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु



हाम्रो इकोनोमि

 

प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो । ३२ वर्षीय घिमिरे षडानन्द नगरपालिका–२, कुदाककाउलेका हुन् । घिमिरेको तिघ्रामा गोली लागेको थियो ।

 

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको  बताए ।

 

भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेकाे पहिरोले बाटाे अवरुद्ध भएपछि  समयमा अस्पताल पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ ।

 

तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताए । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेकाे  भन्दै उनले आक्रोस पोखे ।

 

‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेको छ । यो सरासर झूट कुरा हो’, नेकपा सगरमाथा व्युरोका नेता शैलेसले  भने, ‘मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हाे ।’

 

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेकाे बताएकाे छ ।

 

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...