आङछिरिङ बिनाको यति एयर
१५ फागुन, ०७५ को दिन यति एयरलाइन्सका लागि ठूलो क्षतिको दिन थियो । ताप्लेजुङको सिस्नेखोलामा एयरलाइन्ससँगै देशले पनि ठूलै शोक मनायो ।
समाचारहरू आउन थाले– पाथीभराबाट उडेको एयर डाइनेष्टिको होलिकोप्टर दुर्घटना, चालक प्रभाकर केसीसहित ७ को निधन ! ताप्लेजुङको घटनाले तिलगंगामा रहेको यति एयरलाइन्सको कार्यालयमा सन्नाटा छायो । कारण थियो– सोही हेलिकोप्टरमा सवार थिए एयरलाइन्सका पिल्लर तथा प्रबन्ध निर्देशक– आङछिरिङ शेर्पा पनि ।
उनीमात्र थिएनन् पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर भ्रुव भोची भया, उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवारज दाहाल र एक सैनिक अर्जुन घिमिरे ।
यति एयरलाइन्सले आफ्ना अभिभावक गुमाएकोमा शोक मनायो । भावुकतामा डुब्यो । र, उनको अनुपस्थितिको कम्पनी अहिले पनि कुशलताका साथ अघि बढाइरहेको छ ।
कम्पनीमा उनले तल्ला तहदेखि उपल्ला तहसम्मका कर्मचारीको नाम सम्झन्थे । कसैलाई केही पर्यो भने त्यसको मर्का सहज हिसाबले सुन्थे । यो कारणचाहिँ, उनी आफैं पनि ‘लेम्यान’बाट उठेका व्यक्ति थिए । हिमाल आरोहण गर्दै पर्यटन व्यावसायमा छिरेका आङछिरिङ परिवारका अन्य सदस्यसँगको सहकार्यमा नेपालको आन्तरिक उडानको ठूलो विमान कम्पनी र पर्यटन व्यावसायको सञ्जाल विस्तारमा सफल भए ।
‘स्थापना कालदेखि उहाँले कामको गति कसरी अगाडि बढाउने भन्ने लय बसाइदिनु भयो, कार्यकौशलता र कर्मचारी व्यवस्थापनमा उहाँको तिक्ष्णतालाई कसैले पनि भेट्न सक्तैन जस्तो लाग्छ’, राई जोड्छन्,‘धेरैले अभिभावक गुमाएको महसुस गरेका छौं । तर, उहाँको अभिभावकत्व र व्यवस्थापनका कारण यति एयरलाइन्सको कार्य व्यवस्थापन कमजोरचाहिँ नहुने भयो ।’
नेपालमा नीजि क्षेत्रका धेरै विमान कम्पनी आए । व्यवस्थापनका किचलोका कारणले बन्द पनि भए । चुनौतिसँग जुध्दै भए पनि आङछिरिङले कम्पनी धराशायी बन्न दिएनन् । बरु, जोडे । सिस्टर एयरलाइन्स तारासहित १५ जहाजले दिनको ६५ उडान नियमति भरिरहेका छन् । यति धेरै उडान अन्य कम्पनीले अहिले पनि गर्दैनन् ।
उनकै पालामा खरिद सम्झौता भएको ७२ सिटे एटीआर– ७२ एउटा विमान आइपुगेको छ, अर्को महिना थप आउने चरणमा छ ।
राई भन्छन्,‘यो काम पनि उहाँले नै गर्नु भएको थियो । भर्खरै उहाँको ३९ दिनको काम सकियो भावनात्मक क्षति, मानवीय क्षती र दुर्घटनाको मर्का कायम छ । तर, व्यवस्थापकीय पक्षमा उहाँको कौशलतामा भने कम्पनीमा कुनै क्षति छैन, उहाँकै लयमा अघि बढ्नेछ ।’
एकल नेतृत्व र कार्यकौशलता नै महत्वपूर्ण रहेको बताउँछन्, राई । बरिष्ठ प्रबन्धक तथा कम्पनीका प्रवक्तासमेत रहेका राई जोड्छन्,‘२१ बर्षदेखि म पनि यो कम्पनीमा सहजताका साथ, आङछिरिङ सरको कार्यकौशलतासँग जोडिएको छु ।’
उनी बिनाको यति एयरलाइन्समा कामको गति रोकिएको छैन, बस उनको शून्यताचाहिँ देखिएको छ । राई जोड्छन्,‘यहि शून्यता कर्मचारीले महशुस गरेका छन्, बाँकी काम उहाँको परिवारले राम्रोसँग सम्हालिरहनुभएको छ ।’
हवाई व्यावसायमा प्रवेश
ट्रेकिङमा सक्रिय शेर्पा परिवार ३० वर्षअघि व्यवसायमा प्रवेश गरेका थिए । पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका साइँला देवर थिए, आङछिरिङ ।
ट्रान्स हिमालयन ट्रेकिङमा साधारण जागिर खाएका आङछिरिङले पछि पर्यटन व्यावसायमा हात हालेपछि कहिले पछाडी फर्कन परेन । स्थापना कालदेखि नै यति एयरमा काम गरेका राई भन्छन्,‘नेपालका दूर दराजमा भाडामा हेलिकोप्टर र विमानमा पर्यटक लैजाने काम हुन्थ्यो तर सँधैभरी त्यो सम्भव नभएपछि उहाँले विमान कम्पनी चलाउने निधो गर्नुभयो र यति एयरको स्थापना भयो ।’
१९९८ मा कम्पनी खुलेको थियो । ‘एयरलाइन्सले मात्र एक हजार कर्मचारीलाई रोजगारी दिएको छ । यो प्रत्यक्ष रोजगारीको सवाल भयो, परोक्ष धेरै छन्’, उनी भन्छन्,‘सय जना त पाइलट मात्र हुनुहुन्छ ।’
पहाडी क्षेत्रमा उडान गराउने निजी क्षेत्रको अग्रणी भूमिका उनैले निर्वाह गरेका थिए । सार्वजनिक क्षेत्रमा खासै खुल्न नचाहने शेर्पालाई नेपालमा प्रभावशाली व्यक्तिका रुपमा पर्यटन व्यवसायी चिन्दछन् ।
हवाई दुर्घटनामा शेर्पा परिवारले आङछिरिङ मात्रै नभई अन्य परिवार पनि गुमाउनुपरेको छ । आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पाको २०५५ सालमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । आङ टेण्डी परेको हेलिकोप्टर फिसटेल एयरका सञ्चालक विकास राणाका भाइ पाइलट सुरज राणाले उडाएका थिए ।