मन्त्री अर्यालको यस्तो धन्दा, सरुवा गर्ने भन्दै तर्साउँदै असुल्दै



हाम्रो इकोनोमि

 

 

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले केही दिनअघि काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका प्रमुखहरू सबै परिवर्तन गर्ने भनी हल्लाखल्ला मच्चाइन् । त्यो हल्लाखल्लापछि उपत्यकामा कित्ताकाटदेखि हरेक लिखतमा लेखापढी व्यवसायीसँग दैनिक लाखौंलाख घुस खाएर बसेका अधिकृतदेखि कार्यालय प्रमुखसम्म सरुवा रोक्न मन्त्रीसँग सेटिङ मिलाउन तल्लीन भएर लागेका छन् । त्यसमध्येका हुन्, भक्तपुर नापी कार्यालयका प्रमुख ज्ञानेन्द्र बिष्ट ।

 

उपत्यका बाहिर सरुवा हुने भएपछि उनले मन्त्री विष्टको सचिवालयका कर्मचारीलाई घुस बुझाएर आफ्नो थमौती गराएको विश्वस्त स्रोतले बतायो । यसबारेमा मन्त्रीको सचिवालयका एक सदस्य राजेश शर्मालाई सोध्दा आफूलाई यसबारे केहि थाहा नभएको पहिले बताए । फेरि पछि उनले भने, ‘मसँग केही दिनअघि उनले थमौतीबारे कुरा गरेका थिए, तर त्यसको भोलिपल्ट म देशबाहिर गएँ, हिजो फर्केको हुँ, सचिवालयका अरू साथीसँग बुझ्दा यसबारे अनभिज्ञरहेको बताएका छन् ।’ भ्रष्टाचार न्यूनीकरणतिर ध्यान नदिने तर मन्त्रीलाई खुसी पार्नकै लागि उनले गत हप्ता कार्यालयमा मातृ शिशु कक्षको उद्घाटन गर्न लगेका थिए ।

 

ललितपुर नापी कार्यालयका प्रमुख सुरेश जोशी पनि विष्टकै पथ अँगाल्दै मन्त्रीलाई प्रभावित पारी सरुवा थमौती गराउन सफल भएको भन्न थालेका छन् । उनले नेपाल मेडिसिटी अस्पतालले नख्खुखोलाको पाँच रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको स्पष्ट हुँदाहुँदै त्यसको हालसाबिक गरी करोडौं घुस असुली गर्ने तयारीमा छन् । सरुवा रोक्ने खर्च पनि उनले त्यही जग्गाको हालसाबिकबाट निकाल्ने भएका छन् । नापी कार्यालयका प्रमुखले सरुवा रोक्ने सर्तमा १० लाख रुपैयाँ बुझाएको स्रोतले बताएको छ । त्यो रकम मन्त्रीका नाममा असुली भएको बताइन्छ ।

 

नेपाल कम्युनिस्ट पार्टीका समर्थक नापी अधिकृत र प्रमुख नापी अधिकृतहरूलाई नेकपाका वरिष्ठ नेताहरूकै सिफारिस भए पनि सरुवा नगरेको र नेपाली कांग्रेस हुन् भनेर चिनिएकाहरूबाट लाभ लिएर सरुवा थमौती गरेको आरोप भूमिव्यवस्था मन्त्रीमाथि छ । त्यस्तै नापी कार्यालयमा मात्र होइन, मालपोत कार्यालयको दसा पनि उस्तै छ ।

 

भक्तपुर मालपोत कार्यालयका प्रमुख धु्रव कोइरालाले सेवाग्राहीलाई दिनुसम्म सास्ती दिने गरेका छन् । भूमिसुधार कार्यालयको समेत जिम्मेवारी पाएका उनले मोहीको हदबन्दी छ भनेर साना किसानलाई दुःख दिने काम गरेको आरोप कोइरालामाथि छ । भूमिसुधार कार्यालयबाट हुने काम नगर्ने, कानुनविपरीतका आर्थिक लाभ हुने काममा मात्र उनी लिप्त हुने गरेका छन् । उनले मोही हदबन्दी छ भनेर मोहीलाई दुःख दिने गरेका छन् ।

 

भक्तपुरका मालपोत अधिकृत शंकर कार्कीले नियमअनुसारका काम पनि बिनापैसा गर्दै नगरेका कारण सेवाग्राही मारमा पर्ने गरेका छन् । प्रत्येक लिखत तथा मिसिलमा कार्कीले लेखापढी व्यवसायीसँग कति आउँछ भन्दै बार्गेनिङ गरेर मात्र काम गर्ने गरेका छन् । भक्तपुर मालपोत कार्यालयमा जग्गा खरिदका लागि पुगेका एक सेवाग्राहीसँग लेखापढी व्यवसायी मालपोत अधिकृत कार्कीले १० हजार रुपैयाँ घुस नदिएसम्म सही नै नगर्ने गरेकाले उक्त रकम मागिरहेका थिए ।

 

‘नियमअनुसारको काममा किन घुस दिने ? यस्ता हाकिमलाई अख्तियारको पैसा ल्याएर समात्नुपर्छ,’ सेवाग्राहीले लेखापढी व्यवसायीसँग आक्रोशित भावमा भने । तर लेखापढी व्यवसायीले आफ्नो बाध्यता यसरी भन्दै थिए, ‘हजुर हाम्रो जिवीकोपार्जन नै टुट्छ, अख्तियारको पैसाले एक जना कर्मचारी समातिएपछि भोलिदेखि हामीसँग कर्मचारीले कामै गर्दैनन् । हाम्रो व्यवसाय चौपट हुन्छ ।’

 

त्यसैगरी चावहिल मालपोत कार्यालयमा पनि त्यस्तै अवस्था छ । चावहिल मालपोत कार्यालयका कामु प्रमुख कलक खड्का हुन् । उनी मनमैजु मालपोत कार्यालयको प्रमुख, कलंकीको मालपोत अधिकृत हुँदै चावहिलमा सरुवा भएका हुन् । मालपोतका करोडपति अधिकृतका रूपमा चिनिएका उनले पनि खरिदार लक्ष्मण बस्नेतसँग मिलेर विवादित जग्गा दर्ता गर्दै लाभ लिने गरेका छन् ।

 

खरिदार बस्नेत मालपोतका अरबपति भनेर चिनिन्छन् । कर्मचारी समायोजनमा कामु प्रमुख खड्काको बझाङको स्थानीय निकायमा दरबन्दी कायम भएको छ । तर उनलाई त्यहाँ पदस्थापन नगरी मन्त्री अर्यालले नै मालपोत कार्यालय चावहिलमा कामु प्रमुखमा राखेर घुस खान छुट दिएकी छन् । मालपोत कार्यालय चावहिलमा उपसचिवको दरबन्दी छ ।

 

तर मालपोत अधिकृत खड्काले नै खुसी पारेकाले उनैलाई कामु कार्यालय प्रमुख दिइएको छ । यसअघि चावहिल मालपोत अधिकृत पद्मप्रसाद अर्याल कामु प्रमुख थिए । उनलाई वीरगन्जको सामान्य जग्गाको खरिदबिक्रीमा त्रुटि गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् । र, कलक खड्का कार्यालय प्रमुख छन् । बुधबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...