तनाबमा विप्लव, वार्ता गर्न आफ्नै दलका नेताहरूको दवाव



हाम्रो इकोनोमि

 

नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ। पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्।

 

पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन्। महासचिव चन्द भने तत्काल वार्ता गर्ने पक्षमा छैनन्। यद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष÷अप्रत्यक्ष सम्पर्कमा छन्।

 

वार्ता पक्षधर नेताहरूले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव चन्दलाई दिएको पार्टी निकट स्रोतले बतायो।

 

सरकारले २८ फागुनमा चन्द नेतृत्वको पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुदर्शन), पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त), केन्द्रीय सदस्यहरू वसन्त श्रेष्ठ (प्रज्ज्वलन), बन्धु चन्दलगायत सयौं नेता–कार्यकर्ता पक्राउ परिसकेका छन्।

 

एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशासहित चन्दको पार्टी हिंसात्मक गतिविधिमा संग्लग्न छ। वैज्ञानिक समाजवाद उसको राजनीतिक नारा छ। उक्त पार्टीलाई वार्तामा बोलाउँदा नआई हिंसात्मक घटनामा सक्रिय भएको र राजनीतिक नेतासम्मको हत्या योजना बनाएको खुलेपछि प्रतिबन्ध लगाउनुपरेको सरकारले बताउँदै आएको छ।

 

पार्टीमा सरकारसँग वार्ता गर्ने विषयमा बहस सुरु भएको पोलिटब्युरो सदस्य पदम राईले बताए। ‘सरकारले लड्न खोजेको हो भने हामीले पनि लडेर देखाइदिनुपर्छ। आत्मसमर्पण गर्नुभन्दा लडेर खरानी हुँदा ठीक हुन्छ। कतिपय साथीहरू खरानीबाटै अर्काे विद्रोह जन्मन्छ भन्नेमा हुनुहुन्छ। मेरो भनाइ यसरी सोच्नु भएन भन्ने छ। यसैमा पार्टीभित्र बहस चलिरहेको छ,’ सदस्य राईले अन्नपूर्णसँग भने।

 

उनले निरन्तर संघर्षबाट जित्ने अवस्था नभएकाले वार्ताको विकल्पै नभएको बताए। ‘वार्ताको विकल्प छैन, हामी निरन्तर लडौंला, पार्टी राम्रो पनि बन्ला। तर जित्न सक्ने अवस्था छैन,’ राईले भने, ‘१० वर्षको युद्धबाट हामीले के पायौं, के गुमायौं ? त्यसको पनि समीक्षा गर्दै वार्ता गर्नुको विकल्प छैन।’ जनताबीच कम्युनिस्टहरू मिल्नै सक्दा रहेनछन् भन्ने सन्देश गएकाले वार्ताबाटै राजनीतिक सहमति खोज्नुपर्नेमा नेताहरुले महासचिव चन्दमाथि दबाब दिएका हुन्। पार्टीका कतिपय नेताहरुले सभामुख कृष्णबहादुर महरामार्फत पनि नेकपाका कतिपय नेताँग सम्पर्क बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...