एक पत्नीपीडितको कथा : सम्पत्ति सिध्याएर श्रीमतीले पराई रोजेपछि बहु–विवाहको मुद्दा !



हाम्रो इकोनोमि

 

सिन्धुलीका प्रज्वल खत्री (नाम परिवर्तन) हङकङ बस्थे । हङकङस्थित अमेरिकी दुतावासमा जागिर भएका प्रज्वलका दुई सन्तान र श्रीमती नेपालमै थिए । हङकङबाट पठाएको पैसाले काठमाडौँको नैकापमा घर बनाएका थिए, छोरा–छोरीलाई राम्रो स्कूलमा पढाएका थिए ।

 

वर्षमा एक दुईपटक नेपाल आउँथे, केही दिनको छुट्टी सकेर उनी पुनः परदेश फर्कन्थे । हङकङमा पसिना बगाएर बनाएको नैकापको घर श्रीमतीको नाममा राखेका थिए ।

 

सव ठीकठाक चलिरहेको प्रज्वलको खुसी परिवारमा यसै वर्ष ठूलो भूकम्प आयो । नैकापको घर श्रीमतीले बेचिन्, अनि त्यो पैसा छिमेकी च्याम्बा तामाङ्गलाई दिइन् । च्याम्बाले त्यही पैसाले सितापाईलामा पेट्रोल पम्प सञ्चालन गरे, नाम राखे ‘नारायणी पेट्रोल पम्प’ ।

 

त्यतिमात्रै हो र ? प्रज्वलको श्रीमतीलाई च्याम्बाले आफ्नो बनाए । १६ वर्ष र १४ बर्षका छोरा–छोरी पनी च्याम्बासँगै बस्न थाले । सँधैजसो प्रज्वल हङकङबाट यसपटक छुट्टीमा आउँदा थाहा भयो, उनीसँग न सम्पत्ति थियो न श्रीमती न छोरा छोरी ! सवै कुरा च्याम्बाले आफ्नो बनाइसकेका थिए ।

 

त्यसपछि उनी श्रीमतीबिरुद्ध बहु–विवाहको जाहेरी बोकेर प्रहरी कार्यालय धाउन थाले । प्रहरीले पटक–पटक च्याम्बाको जेठी श्रीमतीको तर्फबाट जाहेरी आउनुपर्ने भन्दै उनलाई फर्काइरह्यो ।

 

एकदिन उनले महानगरीय प्रहरी परिसर टेकुमा गएर आफ्नो संसार कसरी उजाडियो भन्नेबारे कथा सुनाए । उनको कथा सुनेर प्रहरी कर्मचारी स्तब्ध भए, अनि प्रज्वलालाई न्याय दिनका लागि संभवत नेपालमै पहिलोपटक पत्नीपीडित श्रीमानको तर्फबाट श्रीमतीबिरुद्ध बहु–विवाहको उजुरी दर्ता भयो ।

 

‘श्रीमानले दिएको बहु–विवाहको उजुरीका आधारमा हामीले च्याम्बा र उसँग विवाह गर्ने महिलालाई नियन्त्रणमा लिएका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘बहु–विवाह मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

 

च्याम्बा नैकापका रैथाने हुन् । श्रीमान् विदेश गएको थाहा पाएपछि उनले प्रज्वलको श्रीमतीलाई मायाजालमा फँसाएका थिए । उनकै मायामा फस्दा प्रज्वलकी श्रीमतीले नैकापको साढे दुई तले घर समेत बेचेको सबै पैसा पेट्रोल पम्प खोल्न भन्दै च्याम्बालाई नै सुम्पेकी थिइन् । च्याम्बाको जेठी श्रीमती र दुई बच्चा छन् ।

 

फागुन ३० गते महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतको महिला तथा बालवालिका सेवा केन्द्रमा जाहेरी दर्ता भएपछि प्रहरीले च्याम्बा र प्रज्वलको श्रीमतीलाई स्वयम्भुबाट पक्राउ गरेको थियो ।

 

विवाह गरेर स्वयम्भुमा फ्ल्याट लिएर बसेको खुलेपछि प्रहरीले नव विवाहित जोडीलाई पक्राउ गरेको थियो । कालिमाटीस्थित महिला तथा बालवालिका सेवा केन्द्रले घट्नाबारे अनुसन्धान गरिरहेको छ । च्याम्बा तामाङ्गको तर्फबाट उनका आफन्तले सर्वोच्चमा ‘बन्दी प्रत्यक्षीकरण’ रिट हालेका थिए, तर उक्त रिट खारेज भएको छ ।

 

कानुन अनुसार पुरुषले पनि आफ्नो श्रीमती अर्कैसँग विवाह गरेर गएमा बहु–विवाहको जाहेरी दिन सक्ने व्यवस्था छ । तर, अहिलेसम्मको अभ्यासमा जेठी श्रीमतीले आफ्नो श्रीमान र कान्छीबिरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुग्ने गरेका थिए । कानुनले अपराध भएको देख्ने जान्ने जो सुकैले जाहेरी दिन सक्ने व्यवस्था गरेको छ ।

 

मुलुकी अपराध संहिता–२०७४ को दफा १७५ अनुसार कुनै पुरुष विवाहित छ भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन । बहु–विवाह गर्ने पुरुष र महिला दुवैलाई १ वर्षदेखि ५ बर्ष कैद र १० देखि ५० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...