२० लाख दाइजोसहित बिबाह गरेकी श्रीमतिलाई निर्घात कुटपिट गर्ने डाक्टर यादव प्रहरी खोरमा
नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले अाफ्नी जेठी श्रीमती सुनीता यादवलाई मरणासन्न हुने गरि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी सुनितकाको अहिले काठमाडाैँको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको अधिकारकर्मी सावित्री सुवेदीले बताएकी छिन ।

यसअघि सुनिताको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भैइरहेको थियो तर चिकित्सकले थप उपचारका लागि काठमाडाैँ लैजान सुझाव दिएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको सुवेदीले बताइन । पीडित सुनिताको भाइ सन्तोष यादवका अनुसार कुटपिटमा संलग्न डा. यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी सुनिताको शरीरभरि निलो डाम छ । दुवै कुममा पोलेको दाग छ । सुनिताका भाइ सन्तोष यादवले यसअघि पनि दिदीलाई घरमा यातना दिने गरेको बताए । बाराको परवानीपुर ५ बहुअरी निवासी ४३ वर्षीय सुनिताको १५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका २० हरपतगन्ज निवासी डा. सचितानन्द यादवसँग विवाह भएको थियो ।
त्यस बेला २० लाख रुपैयाँ दाइजो दिएर दिदीको विवाह सम्पन्न भएको यादवले बताएका छन । प्रहरी हिरासतमा रहेका डा. सचितानन्दले श्रीमती घरमा आफैं लडेर घाइते भएको दाबी गरेका छन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।




