डेट जाँदा भएको खर्चको बिल केटीले तिर्दा के हुन्छ ? [कामना न्यौपाने]



 

 

हामीले समाज बदल्ने चर्का भाषण सुनेका छौं । महिला अधिकारीका लागि सायद नेपालमा मात्र नभई विश्वमा धेरै भाषण भएको हुनुपर्छ । मजदुरका पक्षमा पनि चर्का नारा नभएका भने होईनन् । हाम्रो भनाई र गराई धेरै फरक छ । समाजमा केही फरक सोचका साथ कोही आउँछ भने समाज त्यसलाई स्विकार गर्न सक्दैन त्यो फरक पाटो हो तर चुपचाप हेर्न सम्म सक्दैन बहिस्कार गर्न थाल्छ ।

 

पछिल्ला दिनहरुमा नेपालमा सबैभन्दा धेरै महिलाहरुको आवाज उठ्ने गर्दछ । महिलाहरुले अधिकार पाउँन सकेनन् भन्ने कुरा ठुलो मुद्धा भएको छ । हो, महिलाहरुले अधिकार पाउँन सकेका छैनन, तर अधिकारका लागि महिलाहरुले के कुरामा पहल गरेका छन् । आफुलाई पुरुष बराबर वा त्यो भन्दा माथिल्लो हैसियतको भएको कुरालाई पुष्टि गर्न महिलाहरु कत्तिसम्म व्यवहारिक छन् ? यो पनि एक प्रमुख प्रश्न हो । यसैं विषयमा लामो समय देखि सामाजिक क्षेत्रमा लाग्नु भएकी कामना न्यौपानेले अत्यन्तै सुन्दर विचार लेख्नु भएको छ ।

 

‘टिकट लिन जाने होइन ?’, ‘उज्यालो भएको नै हुन्न, फेरि गएर पनि लाइनमा बस्न कति दुःख हुन्छ, केटी मान्छे । गाउँको एउटा दाइलाई भनेको छु, ल्याइदिन्छु भन्नु भाको छ ।’ वर्षेनी दशैंको लागि गाडी टिकट खुल्ला भएपछि हुने संवाद हो यो । टिकट लिने दिन टिकट काउन्टरमा बिहानै लाइन लागिसकेको हुन्छ, जहाँ छिटफुट मात्रामा मात्र महिलाहरु देखिन्छन् । यस्तो उपस्थिति विश्वविद्यालय, क्याम्पस, प्रशासनिक कार्यालय जहाँतहीँ देख्न सकिन्छ ।

 

लाइनमा उपस्थित रहेका अधिकांश महिलाहरुको काम पुरुष साथीहरुले गरिदिईरहेका हुन्छन् । यहाँनिर एउटा प्रश्न उठ्छ, आफ्नो लागि टिकट लिन, एउटा फारम भर्न आफै आँट गर्दैनौं भने कसरी जिन्दगीमा शिर उठाएर बाँच्ने आश गर्न सक्छौं ? मानिसले जन्मिदैमा सबै ज्ञान लिएर आएको हुँदैन । हुर्किदै जाँदा उसले वातावरण अनुसार विभिन्न क्रियाकलापहरुलाई आफ्नो रुचीको रुपमा विकास गर्दै प्राथमिकता दिंदै जान्छ ।

 

रुची राखेका र प्राथमिकतामा पारेका कुराहरुको बढी भन्दा बढी ज्ञान हासिल गर्न थाल्छ । नेपाली संस्कारमा महिलाहरुलाई घरभित्रको काम र पुरुषहरुलाई घर बाहिरको काम छुट्याईयो । सोहि अनुरुप प्राथमिकताहरु छुट्टिए र उनीहरुको ज्ञानको दायरा फरकफरक भयो । यसले गर्दा महिलाहरुले बाहिरी दुनियाँको ज्ञान हासिल गर्न पाएनन् ।

 

अघिल्ला पुस्ताहरुको विद्रोहले अहिले हामी एक पाईला बाहिर निस्किसकेका छौं । हामीसँग शिक्षा, सूचना र बाहिरी दुनियाँसँगको पहुँच छ । तर, के हामीले यो अवसरको सदुपयोग गरिरहेका छौं ? अघिल्लो पुस्ताले हामीलाई घरदेखि बाहिर निस्कने वातावरण त दियो तर हिंड्नको लागि हामीले पाईला चालिरहेका छौं त ? कि अझै कोहि डोहोर्याएर हिंडाउने मान्छेकै खोजीमा अलमल्लिरहेका छौं ?

 

मलाई अचम्म लाग्छ, केटी साथीहरुको समूहमा गफ हुँदा, एउटी साथीले भन्छे, ‘मेरो ब्वेफ्रेन्डले भनेको,त्यो राजनीतिक पार्टी त यस्तो हो रे नि ।’ अर्की साथीले भन्छे, ‘मेरो बूढोले भन्नु भएको, त्यो विषय पढ्न राम्रो हुन्न रे ।’ त्यस्तै अर्की साथीले भन्छे, ‘मेरो बुवाले भन्नुभएको, एनजीओमा काम गर्ने केटीहरु त खत्तम हुन्छन् रे ।’ हामी कहिलेसम्म यो ‘रे’ मा बाँच्ने हो ? कहिलेसम्म पुरुष पात्रलाई सर्वज्ञानी र आफैलाई अज्ञानी सावित गरिरहने हो ?

 

हामी टेलिभिजन र इन्टरनेटमा व्यस्त हुन्छौं, तर उही अनुत्पादनशील श्रृगार सम्बन्धि र टेलि सिरियलहरूमा । समाचार, राजनीति, खेल, अर्थ जस्ता विषयहरुलाई हामीले पुरुष कार्यक्रमहरुको ट्याग भिराइदिएका छौं । त्यसैले त सानो भन्दा सानो जानकारीको लागि पनि हामी पुरुषमाथि निर्भर रहन्छौं । महिला सम्बन्धि मुद्दा, नियमसँग नै हामी अनभिज्ञ रहन्छौं र उही पुरुष पात्रको सहायता लिन्छौं ।

 

‘घरमा धारा बिग्रेको छ, बनाउनलाई कोही केटा मान्छे छैन ।’ अनि घरमा कोहि केटा मान्छे छ तर त्यो काम उसलाई आउँदैन भने पनि उसलाई पुरुष हुनुको इज्जत जोगाउनकै लागि भएपनि त्यो काम गर्न लगाउँछौं । कामलाई पनि हामीले लैंगिक परिचय भिराईदिएका छौं । मेकानिकल काम पुरुषहरुले गर्भमै सिकेर त आउंदैनन होला । हामीलाई आवश्यक हुने यी सानातीना काममा परनिर्भर हुनुभन्दा आफै सिक्न कसो नसकिएला ?

 

‘डेटमा जाने भनेको, गर्लफ्रेन्डलाई खाजा ख्वाउने पैसा छैन ।’ सामाजिक सञ्जालमा पुरुष मित्रहरुले धेरै पोस्ट गर्ने मध्येको वाक्य हो यो । डेटमा गएका जोडी हुन् वा साथी साथीबीचको भेटघाटमा आउने बिल, पुरुष साथीले तिर्ने गर्छन् । धेरैजसो महिलाहरुले बिल तिर्नु पुरुष साथीको कर्तव्य ठान्छन् । त्यसैले यो कुरालाई पुरुषहरुले आफ्नो ईज्जतसँग जोडेर लिन्छन् ।

 

यो परनिर्भरताको पाटो हो । हामीले जागिर वा व्यवसायबाट आर्थिक आम्दानि गरिरहेका छौं भने पनि यो संस्कारले हामीलाई परनिर्भर बनाईरहेको छ । यो संस्कारले पुरुषको लागि महिला जिम्मेवारी वा बोझ हो भन्ने आभास गराउँछ । यसले गर्दा पुरुषले महिलामाथि आफ्नो हक जमाउँछन् । र,सँगै खाजा खाएका हामीले खाजाको बिल ‘म तिर्छु’ भन्ने हिम्मत जब निकाल्छौं, तब मात्र त्यहाँ आर्थिक आत्मनिर्भरता हुन्छ ।

 

वैवाहिक सम्बन्ध गाँसिसकेपछि पनि प्रत्येक सानादेखि ठूला आर्थिक कारोबारमा आफ्नो आर्थिक क्षमता अनुसारको साझेदारी निभाउन सक्नुपर्छ । त्यो हाम्रो स्वाभिमान र स्वतन्त्रताको तत्व हो । उच्च शिक्षा हासिल गर्नु, जागिर गर्नु र आरक्षण कोटा पाउनु महिला सशक्तिकरण होइन । त्यो त महिलालाई घरबाहिर निकाल्ने आधार खुड्किलो मात्र हो । अहिलेको पुस्ताका हामीले त्यो खुड्किलो टेकेर बाहिर निस्किसकेका छौं ।

 

अब हामीले आत्मनिर्भरतामा जोड दिनुपर्छ । कसैको औंला र मार्गनिर्देशनको ईशारा बिना आफ्नो चेतना, स्वेच्छा र स्वनिर्णयले अगाडिको बाटो हिंड्ने कसरत गर्नुपर्छ । हामी जिन्दगी जिउनको लागि पुरुषको हात र साथ अपरिहार्य हुने महिला होइन कि पुरुषको जीवनमा आवश्यक सहयात्री बनौं । हामीले निकालेको हिम्मतले हामीपछिको पुस्ताले रुपान्तरित सामाजिक संरचना पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने