दीपाश्रीको होली सम्झना : ‘ज्वाइँको मुखमा गोबर दलेपछि १ वर्षसम्म बोलचालै बन्द’ [अन्तर्वार्ता]



हाम्रो इकोनोमि

 

होली कत्तिको लागिरहेको छ ?

– होली त मलाई हरेक वर्ष विशेष नै लागिरहेको हुन्छ । मलाई असाध्यै मन पर्ने पर्व पनि हो । अहिले होलीकै तयारीमा छु ।

 

यस वर्षको होली कहाँ, कसरी मनाउँदै हुनुहुन्छ ? 

– यस वर्ष म घर (विराटनगर) मा होली मनाउँदैछु । त्यसका लागि म मंगलवार बिहान काठमाडौंबाट हिँड्छु ।

म विराटनगर उपमहानगरपालिकाको सद्भावना दूत भएको हुनाले महानगरपालिकाकै निमन्त्रणमा त्यहाँ जाँदैछु । होली भनेकै सद्भाव बढाउन मनाइने चाड हो । तर उपमहानगरपालिकाको कार्यक्रम भने त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । कार्यक्रममा सहभागी हुनुका साथै परिवारका सदस्य, छरछिमेक, आफन्त, साथीहरूसँग घुलमिल भई होली मनाउँछु ।

अर्को कुरा विगत ५–६ वर्षदेखि विराटनगरमा होली मनाउन पाएकी थिइनँ । त्यसकारण पनि यस वर्षको होली मेरा लागि विशेष छ ।

 

होलीको कुन पक्ष तपाईलाई बढी मन पर्छ ?

– होली सद्भाव र आत्मियता बढाउने पर्व हो । सबै साथीभाईसँग भेट हुने अवसर मिल्छ । होलीमा रमाइलो लाग्ने भनेको रंग लगाएपछिको विचित्र हुने अनुहार पनि हो । एकले अर्कोको मुख हेरेर निकै हाँसो उठ्छ ।

 

मन नपर्ने पक्ष नि ?

– पहिला म अलि बढी नै ‘वाइल्ड’ तरिकाले होली खेल्थें । तर आजभोलि होलीमा कसैको इच्छाविपरीत रंग लगाइदिने, पानी छ्याप्ने गरेको मन पर्दैन । अविर लगाइदिउँ भनेर लगाइदिएको पो सद्भाव व्यक्त भयो त ! तर आजभोलि यस्ता विकृतिहरू पनि कमी हुँदै गएको छ ।

 

 

ठ्याक्कै होली खेल्न थाल्नुभएको अर्थात् पहिलोपटक होली खेलेको सम्झना छ ? 

– म त सानैदेखि होली खेल्थें । मेरो बुवाले नै कालो कराईमा तोरीको तेल हालेर मोसो बनाएर लगाइदिनुहुन्थ्यो । बिहान सुतिरहेको भएपनि बुवाले नै  होली खेल्न उठाउनुहुन्थ्यो ।

ठ्याक्कै पहिलोपटक होली खेलेको सम्झना त छैन तर सानै उमेरदेखि होली मनाउन थालेकी हुँ । घरमा होली निकै उल्लासमय तरिकाले मनाउँदै आएका छौं । म तराईमा जन्मेको भएर होला होली असाध्यै विशेष लाग्छ ।

 

त्यो बेलाको होली र अहिलेको होलीमा के फरक पाउनुहुन्छ ?

– त्यो बेला एउटा सर्वसाधारण नागरिक भएर खेलिन्थ्यो । अहिले कलाकार भएर खेलिन्छ । अर्को कुरा पहिला–पहिला विराटनगरमा हामीहरू अत्यन्त धेरै ज्यादति तरिकाले होली खेल्थ्यौं । जस्तो कि गोबर मुखमा लगाइदिने, मानिसलाई पानीमा डुबाउने, भाङको घोट्टा अलि धेरै नै खाने आदि ।

म पनि सानो उमेरमा लहलहैमा लागेर धेरै होलीहरू खेलें । तर अहिले धेरै संयमित भएर खेल्छु । अहिले जबर्जस्ती लोला हान्ने, पानी फ्याक्नेजस्ता क्रियाकलापमा प्रतिबन्ध लगाएपछि धेरै राम्रो भएको छ । तर विकृति कम भएपनि मौलिकता चाहिँ हराएको हो कि जस्तो लाग्छ ।

 

तराईको होली र काठमाडौंको होलीमा भिन्नता के देख्नुहुन्छ ?

– मलाई त तराईकै होली रमाईलो लाग्छ । तराईमा घरघरमा मटका राखेर होली उत्सवलाई एकदमै रंगीन बनाइन्छ । काठमाडौंमा खाली मिडियाहरूमा गएर मात्रै होली मनाइन्छ, इभेन्ट होली मनाइन्छ ।

विराटनगरमा घरघरमा गएर होली खेल्नुको मज्जा नै फरक लाग्छ । त्यसले माया, सद्भाव साटासाट गर्न पाइन्छ । उता मनाइने होलीमा छुट्टै मिठास र आफ्नोपन पाउँछु ।

 

होलीको त्यस्तो कुनै अविस्मरणीय घटना सम्झनुहुन्छ ?

– त्यस्तो घटनाहरू त धेरै छन् । पहिला–पहिला म ‘वाइल्ड’ होली खेल्ने भएको हुनाले पनि प्रायः होली अविस्मरणीय नै रहे । १०–१२ वर्षअगाडि होला, काठमाडौं आउने जाने भइरहन्थ्यो ।

 

होलीको दिन मैले भाङको घोट्टा खाइसकेको थिए । त्यो वर्ष घरमा बहिनी–ज्वाइँ होली खेल्न आउनुभएको थियो । मलाई भाङको नशा लागिसकेको थियो । अनि मैले ज्वाइँको मुखमा गोबर दल्न पुगिछु । ज्वाइँ एकदमै रिसाउनुभयो । उहाँ त्यसको १ वर्षसम्म मसँग बोल्नुभएन । अर्को वर्षको होलीमा मात्र उहाँ मसँग बोल्नुभयो । त्यो घटना म सधै सम्झिरहन्छु ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...